विनायकको गुनासो
![विनायकको गुनासो](https://annapurnapost.prixacdn.net/media/albums/57947795bc9a15.14964284_sjdaqm2Jc5.jpg)
विनायक केही समयदेखि आमासँग रिसाउन र झर्कन लागेका थिए । उनी एकोहोरो भएर बस्थे । होमवर्क पनि जाँगर लगाएर गर्दैनथे । बाबासँग पनि त्यति बोल्दैनथे । घरमा भन्दा घरबाहिरै बढी रमाउन थालेका थिए ।
किताब, कापी र झोला जताहुँदी फालिदिन्थे । स्कुल जाने बेलामा किताब, कापी र झोला धुइँधुइँती खोज्नुपथ्र्यो । उनकी एक वर्षकी बहिनी थिइन् । बहिनीलाई भने उनी असाध्यै माया गर्थे ।
विनायकमा देखिएको यस्तो फरक व्यवहारले बाबाआमा झस्कनुभयो । आमाले दिनभरि केरकार गर्दा पनि उनी खास कुरा भन्दैनथे । आमालाई यतिमात्र भन्थे, ‘तपाईं मेरो माया गर्नु नै हुन्न ।
सानी बैनीलाई पनि तपाईंले माया गर्नुभएकै छैन ।’ विनायकको यस्तो कुरा सुनेर आमाले आँसु झार्नुभयो । बाबाले सोच्नुभयो, ‘विनायकलाई के भयो होला! अनौठो स्वभाव देखाउन थालेको छ ।’
एक दिन बाबाआमाले विनायकलाई फकाउनुभयो । आमाले भन्नुभयो, ‘बाबु, तिमीलाई के मन पर्छ ? म किनेर ल्याइदिन्छु ।’ विनायकले झर्केर भने, ‘केही ल्याउनु पर्दैन ।’ विनायकको कुरा सुनेर बाबा चकित पर्नुभयो । तैपनि बाबाले फकाउनुभयो, ‘विनायक, तिमी बाबाले भनेको त मान्छौ नि !’
उनले भने, ‘तपाईंले भनेको मान्छु तर आमाले भनेको मान्दिनँ ।’ आमाले सोध्नुभयो, ‘मैले भनेको किन मान्दैनौ ? म तिम्रो आमा होइन ? ’ विनायकले तीतो जवाफ फर्काए, ‘जन्माएर मात्रै आमा हुन्छ र !’ आमाले सोच्नुभयो, ‘मैले मेरो छोरालाई केही कमी हुन दिएकी छैन । किन यसको चित्त दुख्यो होला !’
विनायक आमासँग बोल्न छाडे । आमाको छेउमा आउन पनि छाडे । छोराको यस्तो चाला देखेर आमाको मन नराम्ररी काटियो । विनायकको बारेमा आमाले छिमेकीसँग कुरा गर्नुभयो । केहीले ‘मानसिक रोग हुनसक्छ । तुरुन्त मनोचिकित्सककहाँ लैजानुपर्छ’ भने । केहीले ‘देउता वा भूतले दुःख दिएको हुनसक्छ । जान्ने झाँक्रीलाई देखाउनुपर्छ’ भने ।
छिमेकीको कुराले बाबाआमा झनै अन्योलमा पर्नुभयो । बाबालाई धाँमीझाँक्रीमा पटक्कै विश्वास थिएन । आमाको मनमा भने ‘तै भइहाल्छ कि’ भन्ने थियो। बाबाले डाक्टरकहाँ लैजाने कुरा गर्नुभयो । आमाले भन्नुभयो, ‘एकचोटि झाँक्रीलाई देखाऊँ, भएन भने डाक्टरलाई देखाऊँला ।’ विनायकले यो कुरा चाल पाए । उनले भने, ‘मलाई केही भएकै छैन । किन झाँक्री र डाक्टरकहाँ जाने ? ’ विनायकको यस्तो व्यवहारले बाबाआमालाई साह्रै चिन्तित बनायो ।
विनायकलाई मनोचिकित्सककहाँ लैजाने सल्लाह भयो । तर, उनी मान्दै मानेनन् । घोसेमुन्टो लगाएर बसे । आठ वर्षको छोराको यस्तो चाला देखेर आमा रुनुभयो । तर विनायक बोल्दै बोलेनन् । आपूmलाई केही रोग नलागेको विनायकलाई थाह थियो ।
सानी बैनीलाई छिमेकीको जिम्मा लगाएर तीनैजना डाक्टरकहाँ गए । क्लिनिकमा पुगेर बाबाले टिकट लिनुभयो । खोजेकै डाक्टर हुनुहुँदो रहेछ । छोरालाई छेउमा राखेर पालो पर्खनुभयो । पालो कुर्दा पनि उनी बाबाकै काखमा ढल्केका थिए । आमातिर फर्कंदै फर्केनन् ।
एकछिनमा पालो आइहाल्यो । बाबाआमा उनलाई लिएर भित्र पस्नुभयो । डाक्टरले विनायकलाई नमस्कार गर्नुभयो । उनलाई नमस्कार फर्काउन पनि अप्ठेरो लाग्यो । सोचे, ‘स्कुलमा सरमिसलाई म नमस्कार गर्थें, यहाँ त डाक्टर मलाई पो नमस्कार गर्छन् !’
डाक्टरसाबले विनायकको हात समातेर भन्नुभयो, ‘ल, यहाँ बस त बाबु ! अँ, तिम्रो नाम के रे ? ’ विनायकले आफ्नो नाम बताए । त्यति बेला विनायक एकदमै हँसिला देखिएका थिए ।
डाक्टरले आमालाई सोध्नुभयो, ‘विनायकलाई के भयो ? यस्तो हँसिलो मान्छेलाई केही भएको छैन ।’ आमाले भन्नुभयो, ‘तपाईंको अगाडि हँसिलो मुख लगाउँछ नि डाक्टरसाब । घरमा एकोहोरो भएर बस्छ । स्कुल नगएको पनि निकै दिन भइसक्यो । होमवर्क पनि गर्दैन ।’
आमाको कुरा सुनेर डाक्टरसाबलाई पनि अचम्म लाग्यो । डाक्टरले सोच्नुभयो, ‘हैन, यो केटाको के चाला हो !’ विनायकले भने, ‘डाक्टरसाब, मलाई केही पनि भएको छैन । म तपाईंसँग सुटुक्क भन्छु नि !’ विनायक डाक्टरसँग कोठामा गए । विनायकलाई एक्लै राखेर डाक्टरले सोध्नुभयो, ‘तिमीले के भन्न खोजेका बाबु ? ’ उनले भने, ‘मेरो आमाले मलाई आफ्नो पोसिलो दूध चुसाउनु नै भएको छैन । सानी बैनीलाई पनि बट्टाकै दूध ख्वाउनुहुन्छ । त्यसैले मलाई आमासँग बोल्नै मन लाग्दैन ।’
विनायकका कुरा सुनेर डाक्टरसाबलाई पनि अचम्म लाग्यो । बाहिर आएर डाक्टरसाबले भन्नुभयो, ‘हेर्नुस्, विनायकलाई केही पनि भएको छैन । उनले त आमाको दूध खान नपाएको गुनासो गरे । सानी बैनीलाई पनि बट्टाको दूध ख्वाउनुहुन्छ रे ।’ आमाले अँध्यारो मुख पारेर भन्नुभयो, ‘माफ गर्नुस् डाक्टरसाब। अफिसको टाइम नमिलेर मैले विनायकलाई राम्ररी आफ्नो दूध चुसाउन पाइनँ । छोरीलाई अब त्यस्तो गर्दिनँ ।’
डाक्टरसाब बोल्नुभयो, ‘यो कुरा आफ्नै छोरालाई भन्नुस् । तपाईंहरूजस्ता पढेलेखेका मानिसलाई थाहा हुनुपर्ने हो । आमाको दूध खान पाउनु बालकको अधिकार हो । तपाईंले खेलाँची गर्नुभएछ । बच्चा जन्मेको दुई वर्षसम्म लगातार आमाको दूध चुसाउनुपर्छ ।
आमाको दूधमा बालकलाई चाहिने सबै प्रकारका पौष्टिक तत्व हुन्छन् । आमाको दूध चुसाए ६ महिनासम्म बालकलाई अरू खानेकुरा केही दिनु पर्दैन । सबै काम आमाको दूधले गर्छ । आमाको दूधले बालकको शारीरिक र मानसिक विकास राम्रोसँग गराउँछ । बट्टाको दूधले यी कुनै पनि काम गर्दैन ।’
आमाले भन्नुभयो, ‘डाक्टरसाब, सबै कुरा थाहा हुँदा पनि मैले गल्ती गरेको छु । अब म छोरीमाथि अन्याय गर्दिनँ ।’
सुनेर डाक्टरसाब मज्जाले हाँस्नुभयो । बाबाआमाको अनुहार उज्यालो देखियो । विनायकले भने, ‘आमा, अब घर जाऊँ । बैनी भोकाई होली ।’ आमाले विनायकलाई च्याप्प छातीमा टाँस्नुभयो । डाक्टरसाब मुसुक्क हाँस्नुभयो । विनायक पनि खुसी देखिए ।
डाक्टरसँग बिदा भएर तीनैजना घरतिर लागे । बाटोमा विनायकले भने, ‘आमा, बैनी हामीलाई नदेखेर रोइहोली ।’ विनायकका कुरा सुनेर आमाको अनुहार उज्यालो भयो । बाबा पनि हाँस्नुभयो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)