घटाइएको ब्रोकर कमिशन सफ्टवेयरमा नभएपछि दिनभर सेयर बजार बन्द
काठमाडौं : ब्रोकर कमिशन घटाउने निर्णय भए पनि कारोबार सफ्टवेयरमा यसको समायोजन नभएपछि आइतबार सेयर कारोबार नै स्थगित भएको छ ।
ब्रोकर कमिशनको नयाँ दर सिस्टममा नदेखिएपछि ब्रोकरहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छलफलका लागि पुगेका थिए । सिस्टममा नयाँ कमिशन दर समावेश नगर्दासम्म कारोबार सुचारु गर्न नमिल्ने भएपछि आइतबार दिनभरका लागि कारोबार स्थगित गरिएको छ । नयाँ ट्रेडिङ सफ्टवेयरमा नयाँ कमिशन दर समावेश गरिएपछि सोमबार मात्र कारोबार सुचारु हुने भएको छ ।
धितोपत्र बोर्डले बुधबार चालिस प्रतिशतसम्म ब्रोकर कमिशन घटाउने निर्णय गरेको थियो । आइतबारदेखि लागु गर्ने निर्णय गरे पनि आइतबार बिहानसम्म पनि ट्रेडिङ सफ्टवेयरमा पुरानै कमिशन दर देखिएपछि ब्रोकरहरु धितोपत्र बोर्ड र नेप्से पुगेका थिए। कमिशन घटाउने निर्णयबाट सेयर ब्रोकरहरु असन्तुष्ट छन् ।