फुटबलप्रति बालबालिकाको बढ्दो उत्साह

फुटबलप्रति बालबालिकाको बढ्दो उत्साह

धनकुटाः धनकुटा–१ हिले स्थित डनबस्को स्कुलमा कक्षा ७ मा अध्ययरत ११ वर्षीय गरिमा कार्की हिजोआज बिहान सबेरै उठ्छिन् । लगत्तै फुटबलको जर्सी र बुट लगाएर नजिकैको टुँडिखेलतर्फ दौडिन्छिन् । सोही स्कुलको कक्षा ५ मा अध्ययरत युनिक राई पनि उज्यालो नहुँदै टुँडिखेल पुगिसक्छिन् । पछिल्लो एक महिनायता कार्की र राई जस्ता धेरै ससाना बालबालिका फुटबल सिक्न हरेक बिहान हिलेस्थित स्थानीय टुँडिखेल पुग्ने गर्छन् ।

युरोकप, कोपा अमेरिकाजस्ता ठूला प्रतियोगिता सञ्चालन भएपछि ससाना बालबालिकामा फुटबलप्रतिको क्रेज बढ्दो छ । अहिले उक्त टुँडिखेलमा फुटबल सिक्नेको मेला नै लाग्ने गर्छ । गरिमालाई मनपर्ने खेलाडी स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी हुन् ।

यसैगरी युनिकको रोजाइमा पर्छन्, अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुुगिज स्टार क्रिस्टियानो रोनाल्डो । उनी मैदानमा रोनाल्डोले लगाउनले जस्तै सात नम्बरको जर्सी लगाएर फुटबल खेल्छन् । भविष्यमा रोनाल्डोजस्तै खेलाडी बन्ने सपना पालेका छन्, युनिकले ।

हिलेका स्थानीय गौरव कार्कीले व्यक्तिगत प्रयासमा ससाना बालबालिकालाई फुटबलको प्रशिक्षण गराइरहेका छन् । उनले असार पहिलो साताबाट प्रशिक्षण सुरु गरेका हुन् । प्रशिक्षणमा बालबालिकाको सहभागिता उत्साहपूर्ण रहेको उनले बताए । ‘फुटबल सिक्ने सुरुका दिनमा २० जना थिए, अहिले बढेर ५३ जना पुगेका छन्’, अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा उनले भने ।

खेलमैदान हिलाम्ये भए पनि फुटबल सिक्नेको भीड लाग्ने गरेको छ । नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा हात पारेको सफलताले पनि फुटबलप्रति सबैको ध्यान बढेको उनको भनाइ छ ।

‘हाम्रो पालामा हात खुट्टा भाँच्चिने डरले बाबुआमाले खेल्न दिनुहुन्नथ्यो, अहिले अभिभावक आफैं प्रशिक्षणमा छोराछोरीलाई लिएर आउने गर्छन् । नेपालले अन्तर्राष्ट्रिय जगत्मा पछिल्लो समय हासिल गरेको सफलताले पनि ससाना बालबालिका फुटबलप्रतिको रुचि बढेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडी पनि कमजोर छैनन् भन्ने सन्देश गएको छ’, गौरव भन्छन् ।

गौरव फुटबल सिक्न आउने ससाना बालबालिकालाई प्रशिक्षण दिनुअघि सुरुमा मैदानमा दौडाउँछन् । त्यसपछि खेलको आधारभूत नियमबारे अवगत गराउँछन् । फुटबल सामूहिक रूपमा खेलिने खेल भएकाले गर्दा उनले विशेषगरी पासिङ, ड्रिबलिङ, गोलकिपिङबारे सिकाउने गरेका छन् ।

 प्रशिक्षणको व्यवस्थापन खर्च धान्न उनले मासिक प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरेका छन् । प्रशिक्षणका लागि आठ देखि १८ वर्षसम्मका बालबालिका आउने गरेका छन् । गौरव फुटबल खेललाई कुनै भूभागले नछेक्ने तर्क गर्छन् । अवसर पाए सबैले राम्रो गर्न सक्ने उनको विश्वास छ ।

धनकुटालाई खेलाडी उत्पादनका लागि उब्जाउ भूमि मानिन्छ, गौरव । धनकुटा जन्मथालो भएका राजारानीका किरण चेम्जोङ राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षक हुन् । यसैगरी धनकुटा बजार घर भएका सुजल श्रेष्ठ पछिल्लो राष्ट्रिय टोलीका नियमित सदस्य छन् । यीबाहेक बुद्ध चेम्जोङ र गोलरक्षक राजु नगरकोटी पनि ‘ए’ डिभिजन क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

एन्फाको उमेरसमूह टोलीमा पनि बर्सेनि एकदुईजना खेलाडी धनकुटाबाट छनोटमा पर्दै आएका छन् । गौरवको यो प्रयासलाई एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पाले पनि सहयोग गरेका छन् । शेर्पाले ५० थान फुटबल निःशुल्क रूपमा उपलब्ध गराएको जानकारी गौरवले दिए ।

कतैबाट भरपर्दो स्रोत जुटे चाँडै उमेरसमूहको फुटबल प्रतियोगिता आयोजना गर्ने सोच रहेको उनले बताए । उनले प्रशिक्षणमा आवश्यक सामग्री व्यक्तिगत खर्चबाटै धानिरहेका छन् । उनले साताको एक दिन शनिबार एन्फाका जिल्लास्तरीय प्रशिक्षक सुमन श्रेष्ठलाई ल्याएर प्रशिक्षण दिने गरेका छन् । प्रशिक्षक श्रेष्ठलाई मासिक पाँच हजार रुपैयाँ पारि श्रमिक दिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.