बिन्दास झुमा, गम्भीर झुमा

बिन्दास झुमा, गम्भीर झुमा

संगीत

साउनको साँझ । झमझम पानी परिरहेको छ । सुनिरहेको छु- झुमा लिम्बूले गाएको पछिल्लो गीत- ‘पानी पर्ला, असिना झर्ला, तिम्रो रुमालले मुख पुछ्नु पर्ला ।' गीतले नजाँनिदो गरी तानिरहेको छ । सरला गौतमले लेखेका शब्दमा ग्रामीण प्रेमको जीवन्त सुवास छ । गीतमा गाउँ छ, पानी पर्दा छाता ओढ्ने क्षमता र चलनभन्दा परको गाउँ । जहाँ झरीमा ‘पलास्टी' ओढिन्छ, त्यही पलास्टीको सर्या कसुरुकमा प्रेम पन्पिन्छ ।

गीतमा नेपालको पश्चिमदेखि पूर्वका गाउँसम्मका संगीतलाई संयोजन गरेकी छन् झुमाले । पहिलोचोटि सुन्दा साधारण लाग्ने, सुन्दै जाँदा विशेष लाग्दै जाने, मीठो लाग्दै जाने गीतले गाउँको ‘नोस्टाल्जिया' बल्झाइदिन्छ ।

अर्कातिर, यस्तो गीतले अम्बर गुरुङ सम्झाइदिन्छ । अम्बरका संगीत यसैगरी बिस्तारै प्रभाव विस्तार गर्ने खालका छन् । अम्बरकै चेली हुन् झुमा । झन्डै डेढ दशक अम्बरको सान्निध्यतामा रहेर उनले संगीत साधना गरिन् । अम्बरकै रचना र संगीतमा झुमाको पछिल्लो संगीत एल्बम सार्वजनिक छ, ‘अम्बर संगीत' । ‘अम्बर संगीत 'को दोस्रो भागको तयारी चल्दै थियो, अम्बर बिते, योजना अधुरै छ ।

ताप्लेजुङको ढुगेसाँघुबाट षोड्षी लिम्बुनी झुमा धरान झर्दासम्म उनको गायिका बन्ने सपना जन्मिसकेको थियो । लिम्बू संस्कृतिको नसामै हुन्छ गायन । पुर्खाहरूले गाउँदै आएको पालाम गाउँदै हुर्किएकी हुन् उनी पनि । उता, दार्जिलिङको खर्साङ रेडियो स्टेसन टिपेर घरमा बज्ने ‘अल इन्डिया रेडियो'मा घन्किने ‘सिसा हो यो दिल हो आखिर, टुट्जाता है ' मार्काका ‘मेलेडी 'ले पनि उनलाई तानिरहेकै हुन्छ ।

एसएलसी पास गरेर धरान झर्दासम्म उनी गजल लेख्ने भइसकेकी हुन्छिन् । बुद्धिसागर, कृष्ण शाह यात्री, दीपेन्द्र दीनदुखीलगायतसँग पत्रमित्रता गर्दा गजल खुप काम लाग्छ । साहित्यिक सर्कलसँग संगत बढ्दै जाँदा कविता र साहित्यका अन्य विधासँग पनि राम्रै मित्रता भइसक्छ उनको । त्यसले गम्भीर गीत सुन्ने, बुझ्ने र गाउने बानी बस्छ ।

धरान बसाइमा उनको गायिका बन्ने सपना अझ हुर्किन्छ र हुर्रिन्छिन् काठमाडौं । काठमाडौं आएर दुई वर्ष संगीतका आधारभूत ज्ञान लिइसकेपछि उनको पहिलो एल्बम आउँछ, ‘ए साइँला !' । पूर्वको ‘सिग्नेचर मेलोडी'सहितको शीर्ष गीत ‘ए साइँला'ले नै बढी चर्चा पाउँछ । अरू गीतले पनि उनलाई साथ दिन्छन् ।

बीस वर्षकै उमेरमा गायिका हुने आफ्नो सपनाले आकार लिएको देख्दा उनी खुसी हुन्छिन् । तर, त्यसपछि यहाँको वातावरणले उनलाई दुखी बनाउन थाल्छ । उनलाई अस्ट्रेलिया, मलेसिया, सिंगापुर, ब्रुनाई आदि देशमा गाउन बोलाइन्छ । तर भिसा लाग्दै गर्दा आयोजक प्रतिनिधि भन्छ, ‘तिमी र म एक साताअघि जानुपर्छ । अरू पछि आउँछन् ।' उनी ‘एक हप्ता'को अर्थ बुझ्छिन् । स्थितिको नमीठो बोध हुन्छ । हठात पासपोर्ट फिर्ता माग्छिन् र कार्यक्रम रद्द गरिदिन्छिन् । उनी भन्छिन्, ‘कतै पढ्छु- यहाँका पुरुषहरू चौबिसै घन्टा यौन सोचेर बसिरहेका हुन्छन् । मैले त्यो मानसिकता बीस वर्षकै उमेरमा पढेकी हु, बोध गरेकी हु ।'

त्यसपछि उनलाई विदेशको कार्यक्रमले आकर्षण गर्दैन । यतै पनि स्टेजका कार्यक्रममा उस्तो रुचि लाग्दैन । बरु आफ्नो पहिलो एल्बम विमोचनमा आएका संगीत मर्मज्ञ अम्बर गुरुङको सान्निध्यताको मोह पलाउँछ । उनी त्यतातिर लाग्छिन् ।

नेपाली संगीतका ‘लिजेन्ड' बनिसकेका अम्बरको अस्वस्थता सुरु भइसकेको हुन्छ । उनले नियमित सिकाउने काम लगभग छोडिसकेका हुन्छन् । तर, विमोचन कार्यक्रममा संगीतबारे उनले गरेको टिप्पणीबाट प्रभावित झुमालाई लाग्छ- मैले यिनैसँग नसिकी हुदैन ।

उनीसँग संगीत सिकेरै छाड्ने झुमाको जिद्दीअगाडि अम्बरको अस्वस्थता हार खान्छ । अस्वस्थतासँग लड्दै-भिड्दै गरेका गुरुसँग झुमाले एक दशक निरन्तर संगीत सिक्छिन् ।

त्यसैले अम्बर गुरुङ बितिसकेपछि सबैभन्दा बढी क्षति आफैंलाई भएको झुमाको अनुभूति छ । ‘अम्बर सरका लागि संगीतका कुनै पनि जिज्ञासा नयाँ थिएनन् । मुखैमा हुन्थ्यो जवाफ । मैले गर्ने हरेक संगीत कार्यको मेन्टर हुनुहुन्थ्यो उहाँ । उहाँ बितेपछि मैले कसलाई सोध्ने ? हुनुहोला अरू पनि राम्रो ज्ञान भएको, तर मैले चिनेको छैन ।' एउटा सुस्केरा निस्कन्छ झुमाको हृदयबाट ।

१० वर्षसम्म निरन्तर संगीत सिकिरहन र काठमाडौंमा टिकिरहन झुमालाई सजिलो थिएन । कति रहरलाई मारेर उनले संगीतप्रतिको आफ्नो रहरलाई उनले हुर्काइरहेकी थिइन् । ‘गाउँबाट आएकी, मलाई चाउमिन खाने खुब रहर थियो । तर मनपर्ने कुरा पेटभरि खान पनि सकिनँ । सरको घरमा पुग्नका लागि गाडीभाडासम्म पनि हुदैनथ्यो कहिलेकाहीँ । हिँडेरै गएँ कयौंपटक', सम्झँदा अझै पनि दुख्ने दुख उनले झेलेकी छिन् ।

झुमा न स्टेज तताउँछिन्, न त उनलाई देशविदेशका कार्यक्रम ‘मेनेज' गर्नुको चटारो नै हुन्छ । अहिले अमेरिका पुगेकी छन्, तर त्यहाँ पनि उनी स्टेजमा भन्दा बढी बहस र अन्तरक्रियामा व्यस्त छिन् । कतै लिम्बू संगीतबारे प्रवचन दिनु छ, कतै पालामको मूच्र्छनाको सौन्दर्यबारे बताउनु छ ।

उनी भन्थिन्, ‘मलाई त आजकाल सांगीतिक कार्यक्रमभन्दा बढी संगीतबारे लेखिदिन अनुरोध आउँछन् । हुन त म गायिका भनेरै चिनिएँ, तर आजकाल गायिका कम भएको छु । बरु, नेपाली संगीतलाई चिन्ने र बुझ्ने कार्यमा बढी संलग्न छु । त्यसैले न त गाउन भ्याएको छु, न लेख्न नै ।'

तामझामबाट टाढा रहेर उनी कहिले लिम्बू संगीतमा ‘मेलोडी'को विकास खोज्न पूर्वतिर भौंतारिइरहेकी हुन्छिन्, कहिले खस् नेपाली भाषाको मौलिक संगीत खोज्न सुदूरपश्चिमको गाउँतिर उकालो लागिरहेकी हुन्छिन् । उनको संगीतप्रतिको गम्भीरताको चिह्न हुन् ती ।

अम्बर गुरुङकै सान्निध्यताले हो उनलाई संगीतप्रति गम्भीर हुन सिकाएको । संगीतको उद्देश्य स्टेज तताउनुमात्र होइन, जीवनलाई प्रभाव पार्नु हो भन्ने उनले सिकेकी छन् । संगीतप्रति गम्भीर हुँदा गर्दा उनले उनले जिन्दगीप्रति नै गम्भीर हुन पनि सिकिन् । जीवन भनेको जुनी काट्नुमात्रै होइन, सपनाको उकालो चढ्नु पनि हो भन्ने जानिन् ।

झुमाको घुमघाम, हाँसोठट्टा र बेपर्वाह जिन्दगी देखेर उनलाई ‘बिन्दास लेडी' मान्नेहरू पनि छन् । तर त्यसको पृष्ठभूमिमा उनले भोगेको जिन्दगीका अनेकन अक्करहरू छन् । अनेकन पटक ठोकिएर च्याब्रुङले दिने उत्साही तालजस्तै छ उनको जिन्दगीको लय । आफैंले गाएको गीतझैं ‘जिन्दगी जिन्दावाद' भन्दै हिँडिरहेकी हुन्छिन् उनी ।

यसैबीचमा संगीतसँगै नाता भएको मान्छेसँग जोडिएको उनको घरबार लामो समयसम्म टिकेन । ‘जीवनमा यस्तो छनोटको समय आयो, मैले कि त सपनालाई पिठ्यूँ फर्काउनुपथ्र्यो कि त घरबारलाई । त्यस बेला मैले सपनालाई रोजेँ, घरबारलाई चाहिँ पिठ्यूँ फर्काइदिएँ', उनको कथन छ । घरबार नटुट्ने गरी मात्रै महिला मुक्तिको लडाइँ लड्न खोज्नेहरूलाई उनले व्यवहारबाटै दिएको चुनौती हो यो ।

उनको घरबार टुट्दाको कथाप्रति मानिसहरूको चाख बढ्दो छ । पत्रकारहरू उनको ‘डिभोर्स कथा' लेख्न पछ्याइरहेकै छन् । उनलाई भने आफ्नो सपनाको बाटो हिँड्नुकै भ्याइनभ्याइ छ । उनी भन्छिन्, ‘मलाई अहिले व्यक्तिगत मिलन–बिछोडको कथा भनिहिँड्ने बेला भएको छ भन्ने लाग्दैन । एउटा समय आउला, त्यस्ता स्मृति खोतल्नुको पनि महत्त्व होला । अहिले त नेपाली संगीतकै बारे चर्चा गर्नु बढी महत्त्वपूर्ण लाग्छ ।'

उनलाई थाहा छ, सपना भएको मान्छे कहिल्यै एक्लो हुँदैन । तर पनि वैवाहिक जीवन टुटेपछि उनलाई एक्लो भएको ठान्नेहरू पनि छँदैछन् । त्यही सोचमा उनलाई पछ्याउनेको लाइन पनि छँदैछ । आफूले बेवास्ता गर्दागर्दै पनि पछ्याउनेहरूदेखि उनी दिक्क हुन्छिन् । समाजमा प्रतिष्ठा कमाइरहेका व्यक्ति अर्थात् बुझ्ने व्यक्ति नै आफ्नो बेवास्तालाई नै बेवास्ता गरेर पछ्याइरहेपछि उनी कहिलेकाहीँ कठोर रूपमा प्रस्तुत हुन्छिन् । त्यसो त उनको कठोर जवाफलाई नै सौन्दर्य मान्नेहरू पनि उनलाई पछ्याइरहेकै छन् ।

संगीतप्रति गम्भीर भएपछि नै हो उनले आफ्नो समुदायको संगीतबारे बढी चासो दिन थालेको । लिम्बू सभ्यतामा ‘मेलोडी'को विकासक्रम खोज्दै पूर्वका गाउँहरू चहार्दा उनले धेरैले सोधे, ‘पीएचडी गर्दैछौ कि कसो ? '
उनको औपचारिक अध्ययनले पीएचडीको अनुमति दिँदैन । तर, आफूले गरेको शोधको मूल्य पीएचडी बराबरकै रहेछ भनेर विद्वान्हरूले नै भनिदिँदाचाहिँ उनी थप गम्भीर हुन्छिन् ।

आधा दशकभन्दा बढी समय खर्चिएर उनले लिम्बू सभ्यताका धुनहरू खोजेकी छन्, जो ‘खासाम' एल्बममा समेटिएको छ । ‘खासाम'मा लिम्बू संस्कृतिमा संगीतको विकासक्रम बोध गर्न सकिन्छ जसमा सृष्टि, सभ्यता, जीवन, प्रेम र मृत्युको सांगीतिक अभिलेख मुन्धुम संगीत मौलिक बाजाको धुनमा समेटिएको सृष्टि मुन्धुम, सामसोघा मुन्धुम, हाक्पारा, पालाम र ख्यालीमार्फत उजागर हुन्छ ।

 

संगीत बुझ्दै जाँदा झुमाले नेपाली संगीतमा पहिचानको संकट बोध गरिन् । राजनीतिक रूपमा पहिचानको मुद्दा बलियो भइरहँदा संगीतमा पहिचान नभेटिनु दुःखद हुँदै हो । त्यही दुःखद पाटोलाई उधिन्दै जाँदा उनले मौलिक संगीतको खोज गर्ने बाटो पत्ता लगाएकी हुन् । उनी भन्छिन्, ‘अहिले नेपालमा अभ्यास भइरहेको संगीत पूर्णतः भारतीय संगीतबाट प्रभावित छ । यसले नेपालको मौलिक संगीतको पहिचान दिन सक्दैन ।' त्यसैले उनले आफ्नो समुदायबाट नेपाली संगीतको खोजी सुरु गरेकी हुन् । नेपालका विभिन्न समुदायका भएका मौलिक संगीतको आधारभूत ‘मेलोडी' खोज गर्न सकिए नेपाली मौलिक संगीत निर्माण गर्न ठूलो आधार तयार हुने उनको बुझाइ छ ।

तर त्यसो हुन सकिरहेको छैन । ‘अहिले दोहोरीको लयमात्रै बढी खोजिएको छ । त्यसमा नोटेसन भने भारतीय संगीतकै छ । नेपाली लोकसंगीतको नोटेसन न भारतीयसँग मिल्छ, न त पश्चिमासँग । त्यही कसैसँग नमिल्ने नोटेसन खोजेर नै नेपाली मौलिक संगीतको नोटेसन बनाउन सकिन्छ', झुमाको निष्कर्ष छ ।

उनी अहिले त्यही काममा लागेकी छन् । केही समयअघि सुदूरपश्चिमको भ्रमण गर्नुको उद्देश्य पनि त्यही हो । संगीतको खोजका लागि पहिले त्यहाँको जीवनलाई नजिकबाट बुझ्नुपर्छ । उनी उदाहरण दिन्छिन्, ‘तराईतिरको गीत सीधा हुन्छ, पश्चिमतिरको निकै घुमेको । तराई समथर हुन्छ, पहाडमा नागबेली घुम्ती । भूगोलले पनि संगीतलाई प्रभाव पारिरहेको हुन्छ ।'

अमेरिकाबाट फर्केपछि नेपालका सुदूरपश्चिम र तराई घुम्ने योजना बनाइरहेकी छन् । घुमघाम र अनुसन्धान गर्दा खर्चको पनि कुरा आउँछ, त्यो खर्च अहिलेसम्म परिवारकै सहयोग र आफ्नै कामबाट जुटाइरहेकी छन् झुमा । ‘मलाई करोडपति हुनु छैन । त्यसैले पैसा भएको बेला अनुसन्धान र घुमघाममा खर्च गर्छु । नहुँदा त्यत्तिकै पनि बसिरहेको हुन्छु । खर्चको दुःख त कसलाई पो सुनाउनु ? ', उनले सुनाइन् ।

त्यसो त झुमा पछिल्लो समय केही गीतमा संगीत पनि गरिरहेकी छन् । अमेरिका जानुअघि उनले कवि स्वप्निल स्मृतिले लेखेको गीतमा संगीत गरिन्, रेकर्ड हुन भने बाँकी नै छ । त्यसअघि संगीत गरेको गीत हो– ‘पलास्टी', जुन युट्युबमार्फत सार्वजनिक पनि भइसकेको छ । यो गीत झुमाले सरला गौतमबाट बनिबनाउ रूपमा लिएकी होइनन् । सरलाको फेसबुक स्ट्याटसलाई बढाएर गीत बनाउन लगाएकी हुन् ।

तामझामबाट टाढा रहेर उनी कहिले लिम्बू संगीतमा ‘मेलोडी'को विकास खोज्न पूर्वतिर भौंतारिइरहेकी हुन्छिन्, कहिले खस नेपाली भाषाको मौलिक संगीत खोज्न सुदूरपश्चिमको गाउँतिर उकालो लागिरहेकी हुन्छिन् ।

उनले गीत लेख्न लगाउँदाको कथा सम्झिन्, ‘सरलासँग मेरो राम्रो चिनजान थिएन । उनको लेखहरूचाहिँ पढिरहन्थेँ । त्यसैबीच एक दिन उनको फेसबुकमा स्ट्याटसमा देखेँ– पानी पर्ला, असिना झर्ला, तिम्रो रुमालले मुख पुछ्नुपर्ला । मलाई त्यो टुक्का मन पर्‍यो । मनका संगीत सल्बलायो ।'
उनले आफूभित्र सल्बलाएको संगीत सरलाको शब्दमा पोख्न चाहिन् । उनले सरलासँग ‘इनबक्स'मा भनिन्, ‘यो त राम्रो गीत बन्छ, यसमा अन्तराहरू थपौं त ।'
तर, सरलाले स्ट्याटसको मामलालाई खासै गम्भीरतापूर्वक लिइनन् । झुमाले भने पछ्याइरहिन् । फेसबुकमा निकै लामो कुराकानी भयो । त्यसले चित्त नबुझेपछि नम्बर मागेर ‘कल' गरिन् । आधा घन्टाभन्दा बढी लामो कुराकानीमा अन्तरा थपियो । गीत पूरा भयो । झुमाले आफूभित्र सल्बलाएको संगीत त्यसैमा पोखिदिइन् ।

अझै झरी परिरहेको छ । झुमाको स्वरमा अम्बर गुरुङको शब्द र संगीत रहेको एल्बम ‘अम्बर संगीत'का गीतहरू सुनिरहेछु । बिस्तारै प्रभाव विस्तार गर्ने गीतहरू छन् यहाँ पनि । सुनिसक्दा पनि अझै सुन्न बाँकीजस्तो लाग्ने । झुमाबारे पनि अझै लेख्न बाँकी छ । त्यसो त, उनकै यात्रा पनि त अझ धेरै बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.