‘चीरहरण’मा सिँगारिएको नीलमको प्रतिभा

‘चीरहरण’मा सिँगारिएको नीलमको प्रतिभा

                                                   
‘महाभारत’ विश्वकै अद्भुत र अद्वितीय काव्यग्रन्थ हो भने मानव चेतनाको अत्यन्त गहन एवम् व्यापक विस्तृत उपलब्धि हो । करिब एक लाख श्लोकमा सङ्गठित तथा विश्वकै बृहत्तम साहित्यिक ग्रन्थ महाभारत एक मिथक त हो नै, साथै दक्षिण एसियाली समाजको नीतिशास्त्र, समाजशास्त्र, धर्मशास्त्र र दर्शनशास्त्र पनि हो ।

विषयको व्यापकता तथा बृहत्तरताका कारणले यसका अनेक पक्षहरूमध्ये एक–एक पक्ष केलाएर सयौँ काव्यकृतिहरू रचिएका छन् । एउटा बृहत्तर संसार जसलाई जसले जहाँबाट हेरोस् त्यहाँ प्रचुर बौद्धिक सामग्री फेला पार्छ । नीलम कार्की ‘निहारिका’ले कविता, कथा र उपन्यासमा कलमको राम्रो कसरत गरिसके पछि महाभारतमा प्रवेश गर्ने हिम्मत गरिन् र धेरै उपलब्धि लिएर त्यसको चक्रव्यूहबाट बाहिर निस्केकी छन्— हातमा ‘चीरहरण’ उपन्यास लिएर ।

चीरहरण भन्नासाथ पूर्वीय पुराणको सामान्य ज्ञान राख्ने जसलाई पनि ‘महाभारत’का कथा शृङ्खलामध्येको अत्यन्त कुरूप, मर्मान्तक र अमानवीय कडीका रूपमा रहेको द्रौपदी चीरहरणको घटनाको स्मरण हुन्छ तर नीलमले चीरहरणलाई मानव समाजको अनवरत प्रक्रियाका रूपमा हेरेकी छन् ।

समाजका शक्ति सङ्घर्षका रक्तमुछेल घटनाहरूमा बारम्बार नारी बिम्बलाई नै कारक तत्त्वका रूपमा समाजले पेस गर्दै आएको छ । यसैको केन्द्रीय बिम्बका रूपमा महाभारत युद्धको कारणका रूपमा चीरहरण र द्रौपदीको प्रतिशोधी भावनालाई उभ्याउने गरिन्छ । नीलमले उपन्यासको निष्कर्षतिर प्रश्न राखेकी छन्— के आइमाईकै कारणले भएको थियो त त्यो महायुद्ध ? प्रस्तुत उपन्यास यसैको छिनोफानो पनि हो ।

महाभारतको पुनर्कथनमात्र होइन, यो त नवकथन पनि हो । मूल महाभारत व्यासजीका दृष्टिविन्दुबाट लेखिएको छ र प्रस्तुतिका क्रममा अनेक पात्रहरू अघि सारिएका छन् जहाँ नारीहरू आमाका रूपमा र पतिव्रता पत्नीका रूपमा मात्र सम्मान्य छन् । तर त्यहाँ नारीको जीवनसँग गाँसिएका अनेकौं प्रिय अप्रिय घटनाहरू रहे पनि नारीमनका धुकधुकीहरू के थिए भन्ने कुरा सोचिएको छैन ।

महाभारतका सम्पूर्ण कथावाचकहरू पुरुष छन् तर ‘चीरहरण’मा उपसंहारतिर आफ्नो अतीतप्रति पश्चात्ताप गर्नेबाहेक अरु सबै नारीहरू नै छन् । यसो भनौं— नारीपरक दृष्टिबाट प्रक्षेप गरिएको यो अर्को महाभारत हो ।

पुराण र लोकसाहित्यका कथाहरूलाई आधार बनाएर आफ्ना अभिमत र भावानुभूतिहरू व्यक्त गर्ने र त्यस क्रममा कथाका कतिपय तन्तुहरूलाई आफ्नो अनुकूल ढाल्ने कार्य प्राचीन कालदेखि भएको हो । ‘चीरहरण’ उपन्यासमा केही स्थानमा लेखिकाले मिथकीय रहस्यको जालो पन्छाउने प्रयास गरेकी छन् भने मूल रूपमा व्यासकृत महाभारतको कथालाई नै स्वीकार गरी समयले सिर्जना गरेका त्यसका रिक्तताहरू भर्ने प्रयास गरेकी छन् ।

यो कार्य पुरानै भए पनि अहिले उत्तरआधुनिक प्रवृत्ति भनिन्छ । यस क्रममा ‘चीरहरण’ नारी संवेदनाको आँखीझ्यालबाट देखिएको महाभारतको नौलो प्रस्तुति हो ।

पुराणहरूमा नैमिषारण्यमा शौनक ऋषिले हजारौं मुनिजनलाई कथा सुनाएको प्रसङ्ग पाइन्छ । प्रस्तुत कृतिमा उलूपी (अर्जुनकी एक पत्नी)को सक्रियतामा पाताल नगरमा महाभारतका नारीपात्रहरूको भेला देखाइएको छ जुन समय पुरानो होइन, अत्याधुनिक हो, अझ हामी पुग्नै बाँकी रहेको युग पनि हो ।

द्वापर युगका पछिल्ला केही शताब्दी (वास्तवमा दासयुग हुँदै अघि बढेको समय जसमा आदिम गणसमाजका अवशेष पनि रहेको)तिरको जीवनपद्धतिमा नारीहरूका भोगाइ, आकांक्षा र चेतनाको प्रस्तुति उक्त भेलामा गरिएको छ । भेलामा सत्यवती, अम्बा, अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती, द्रौपदी, भानुमती जस्ता नारी पात्रका आफ्ना अनुभव र अभिमतहरू व्यक्त भएका छन् ।

यसो भनौं, तिनै नारी पात्रका आँसु, पसिना र वेदनाले लत्पतिएको नौलो महाभारत जन्मेको छ । अनुभव र अनुभूति त्यस युगको हो तर चिन्तन र मूल्याङ्कन यस युगको हो । दुई युगको संवाद छ यस कृतिमा । पुरानो मिथकलाई भत्काउने गरी नयाँ बनाइएको छैन, वर्तमानले छाम्नै नसक्ने गरी पुरानो पनि बनाइएको छैन । समन्वयात्मक प्रवृत्ति अँगालेकी छन् उपन्यासकार नीलमले ।

‘महाभारत’ले खाली छाडेका कैयौं क्षेत्र ‘चीरहरण’ उपन्यासमा भरिएका छन् । सत्यवतीको माइती निषाद बस्ती मौलिक औपन्यासिक शोभाका साथ प्रकट भएको छ । पाण्डवको वनवासको वर्णनले छुट्टै एक लघु उपन्यासको आभास दिएको छ । शान्तनु र सत्यवतीको प्रेमकथामा नौलो आकर्षण छ भने नागकन्या उलूपीलाई पनि उपन्यासकारले विशेष भूमिका प्रदान गरेकी छन् । दुर्योधनकी पत्नी भानुमती मूल ग्रन्थमा खास चर्चा नगरिएकी नारी पात्र हुन् तर प्रस्तुत उपन्यासमा उनको पीडाको पनि अभिव्यक्ति छ । हो, महाभारत पढ्दा नभेटिने कैयौं विषयहरू छन् यस उपन्यासमा तर पनि महाभारतबाट बाहिर गएको अनुभव हुँदैन ।

समाज विकासको प्रत्यक्ष चर्चा ‘चीरहरण’मा भेटिन्न तर पनि त्यसका आभासहरू यत्रतत्र भेटिन्छन् । निषाद समुदाय, नागलोक, मणिपुर, राक्षस समुदाय आदिको अवस्था दासयुगभन्दा अघिको हो । त्यहाँ दास छैनन्, स्त्रीजाति दमित पनि छैनन्, उनीहरू स्वतन्त्र छन् । यता यदुवंशी, कुरुवंशी, पाञ्चाल, गान्धार, मत्स्य जस्ता समुदाय र राज्यहरूमा दासयुगले प्रवेश गरेको छ । नारीहरू विस्तारै पराधीन हुँदै गइरहेछन् ।

पितृसत्ता हावी हुँदै गएको, नारीको अवस्था खस्किँदै गएको अवस्था त्यहाँ देखाइएको छ । समाज विकासका दुबै अवस्था सँगसँगै हुनाले पनि द्रौपदी, अम्बा आदि नारीहरू नारी अस्तित्वबारे प्रश्न गर्छन्, एकनिष्ठ दाम्पत्यको चिन्तन गर्छन् तर व्यवहारमा भने पितृसत्ताको जाँतोमा पिसिइरहन्छन् । विडम्बना कस्तो छ भने समाज विकसित हुँदै गएको छ तर सोही क्रममा नारी अस्तित्व धरापमा पर्दै गएको छ । यसैको परिणामस्वरूप सत्यवतीदेखि द्रौपदी भानुमतीसम्मका नारीहरू पीडा र अपमानका बिम्ब भएर देखा परेका छन् । यसरी हेर्दा ‘चीरहरण’ उपन्यास महाभारतको नारी संस्करण भएर देखा परेको छ ।

नारी उत्पीडनको कारकका रूपमा रहेको छ शक्तिको दम्भ र राज्यसत्ताको अन्ध लिप्सा जसमा पुरुष समुदाय हावी भएर बसेको छ। नीलम कार्की अत्यन्त प्रेमपूर्ण, प्रतिष्ठायुक्त र विश्वासमा आधारित स्त्रीपुरुषको सुखद घरबार बसोस् भन्ने पक्षमा छिन् तर सत्ता, शक्ति र सम्पत्तिमा हावी भएको पुरुष वर्ग नारी अस्तित्वमाथि पनि शासन गर्दछ । यसै कारणले नारीहरूको निर्णय शक्ति कुण्ठित हुन्छ, उनीहरूको शरीरको स्वामित्व पनि आपूमा रहन्न, फलस्वरूप युगौंयुगसम्म नारीहरू पुरुष सत्ताको कालो छायामा जीवन बिताउन वाध्य हुन्छन्ः भीष्मले काशी राजकुमारी हरण गरिरहन्छन् , दुःशासनले द्रौपदीको चीरहरण गरिरहन्छन , कीचकले धेरै सुन्दरीका यौवनमा आक्रमण गरिरहन्छन्, कुन्तीहरू नवजात शिशु त्याग्न वाध्य भइरहन्छन्, गान्धारीहरू आँखामा पट्टी बाँध्न नै उपयुक्त ठान्छन् । यिनै पीडाहरूमा उभिएर व्यक्त गरिएको नारीगाथा हो ‘चीरहरण’ उपन्यास ।

महाभारतको युद्ध स्त्रीका कारणले भएको थियो भन्ने कतिपय हचुवा अभिव्यक्तिका विरुद्ध उभिएको छ ‘चीरहरण’ उपन्यास । यसमा द्रौपदीको आक्रोश, क्रोध र प्रतिशोधको भाव नरहेको होइन, उनको फुको केशले पाण्डवहरूलाई अनियन्त्रित रूपले उत्तेजित पनि पारेकै हो र युद्धमा यदाकदा उग्र पनि बनाएकै हो तर युद्धको निर्धारक वा निर्णायक तत्व द्रौपदी थिइनन् । राज्यसत्ताको लिप्सा, अन्धो शासन, शक्तिको उन्माद र प्रतिशोधको इच्छा नै युद्धको मुख्य कारक थियो — उपन्यास यही निष्कर्षमा पुगेको छ ।

पाँच सयभन्दा बढी पृष्ठमा पैmलिएको यो उपन्यास संरचना पक्षमा पनि केही नौलो देखिन्छ । खोजी गर्दा विषय, दृष्टि र प्रस्तुतिकै सम्बन्धमा दुई चार टिप्पणी उठाउन सकिएला तर उपन्यास उत्कृष्ट छ । आद्योपान्त नारी अस्तित्वको खोजीतर्पm अभिमुख यस कृतिमा यदाकदा वैचारिक व्याख्या अलि ज्यादा भयो कि भन्ने लाग्छ तर यस्ता गम्भीर ग्रन्थमा वैचारिकता अपाच्य भने हुँदैन ।

यसअघि ‘अर्की आइमाई’ शीर्षकको सामाजिक उपन्यास लेखेर औपन्यासिक कसरत गरिसकेकी नीलमले यस उपन्यासमा सकेसम्म निर्दोष हुने प्रयास गरेकी छन् । कतिपय ठाउँमा औपन्यासिक वर्णनभन्दा माथि उठेको काव्यत्व झल्किने प्रस्तुति पनि पाइन्छ भने आद्योपान्त एक प्रकारको शालीन अभिव्यक्तिले उपन्यास पठनीय, रमणीय र प्रशंसनीय बनेको छ । नीलमको साहित्यिक जीवनको यो उत्कर्ष बिन्दु हो भने नेपाली साहित्यकै मूल्यवान् उपलब्धि हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.