'पाठकलाई बजारको खतरा'

'पाठकलाई बजारको खतरा'

‘कान्तिपुर गाथा, ‘जीवन कतिपयु, ‘विश्वबन्धु थापाको जीवनी लगायतका पुस्तक बजारमा ल्याइसकेको लिपी बुक्सले हालै विश्वेश्वरप्रसाद कोइरालाका सबै कथासंग्रह र उपन्यास पुनः प्रकाशन गरेको छ । लिपी बुक्सका प्रबन्धक अर्जुुन अधिकारीसँग लक्ष्मण श्रेष्ठले गरेको पाँच प्रश्नः

अन्य प्रकाशनले प्रकाशन गरेर बजारमा छ्यापछ्याप्ती भइसकेका विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक कृतिहरू पुनः प्रकाशन गर्ने ‘जोखिम' किन मोल्नुभयो ? कसको अनुमतिले प्रकाशन गर्नुभयो ?

-बीपी नेपाली साहित्यमा सबैभन्दा बढी पढिने पात्रमध्ये एक हुन् । योभन्दा अगाडि साझा प्रकाशनले उहाँका सबै साहित्यिक कृति प्रकाशन गरेको हो । तर, गुणस्तर र शुद्धाशुद्धिको हिसाबले ती कमजोर थिए । फेरि बीपीको साहित्य पढ्नेले पढिसक्यो अब पढिन्न भन्ने होइन । अहिले पढ्ने ट्रेन्ड बढ्दै गइरहेको छ । अबको पचास वर्षपछिसम्म पनि बीपी पढिइन्छ । अहिलेको युवापुस्ताले खोज्ने क्वालिटीमा किताब ल्याउँदा बीपी झनै पढिएलान् भनेर यी किताब पुनः प्रकाशन गरिएका हुन् । सबै पुस्तकको कपीराइट ‘जननायक बीपी कोइराला मेमोरियल ट्रस्ट'सँग छ । हामीलाई ‘ट्रस्टबाटै अनुमति प्राप्त भएको हो । हरेक पुस्तकको रोयल्टी ट्रस्टलाई नै जान्छ ।

बीपीका राजनीतिक पुस्तक र आत्मसंस्मरण पनि छन् । ती पनि प्रकाशन गर्ने सोचमा हुनुहुन्छ कि ? तपाइँंलाई बीपीको साहित्यिक, राजनीतिक कुन व्यक्तित्वले आकर्षण गर्छ ?

-बीपीको ‘आफ्नो कथा’ भन्ने आत्मसंस्मरण त हामीले ‘जननायक बीपी कोइराला मेमोरियल ट्रस्ट'ले कांग्रेस महाधिवेशनको वरिपरि प्रकाशनमा ल्याउन आग्रह गरेकाले प्रकाशन गरेका छौं । हतारमा छापिएकाले त्यसको क्वालिटी कायम गर्न सकिएन । त्यसको पुनः प्रकाशन गर्ने क्रममा छौं । तर, बीपीका अन्य आत्मसंस्मरणहबीको कपीराइट नै अन्य प्रकाशनगृहसँग भएकाले प्रकाशन गर्न नसकेका हौं ।

मलाई बीपीको साहित्यिक व्यक्तित्वले आकर्षण गर्छ । म त के भन्छु भने बीपीलाई अझै धेरै समय किन थुुनिएन ? उनी अझै जेल बसेको भए नेपाली साहित्य झन् समृद्ध हुन्थ्यो होला । किनभने उहाँका सबैजसो साहित्य जेलभित्रै लेखिएका हुन् ।

पुराना नेपाली साहित्यमा देवकोटा, लामिछाने, लेखनाथ, रिमाल, धच गोतामेजस्ता हेभीवेट लेखक हुँदाहुँदै बीपी नै किन रोज्नुभयो ?

-म गम्भीरतापूर्वक नेपाली साहित्य प्रकाशनमा लागेको छु । म सबैजसो चर्चित र कालजयी लेखकका पुस्तक प्रकाशन गर्ने सोचमा छु । कपीराइटले दिएसम्म म उपयुक्त रोयल्टी तिरेर प्रकाशन गर्न चाहन्छु । कति पुस्तकका निम्ति छलफल भइरहेको छ । दिवंगत भइसक्नुुभएका लेखकहरूका आफन्तहरूले विश्वास गरेर हामीलाई दिँदासम्म नयाँ डिजाइन र गुुणस्तरमा किताब ल्याउन तयार छौं ।

अहिले नाम र स्टन्टले नै बिक्ने लेखकहरूको पुस्तक आइरहेका बेला बीपीतिरै किन फर्किने ?

-अहिले बजारमा आइरहेका पुस्तकहरूलाई म गम्भीर साहित्य मान्दिनँ । त्यसैले गम्भीर साहित्य प्रकाशनमा जोड दिन्छु । अहिले कतिपय प्रकाशकले निकै राम्रा पुस्तक प्रकाशन गरिरहेको भए पनि कतिपयले लेखकको नाम बेच्ने सोचले प्रकाशन गरिरहेका छन् ।

अहिलेको पठन प्रवृत्ति कस्तो छ ?

-पाठकको संख्या बढ्दै गइरहेको छ । पठन संस्कृति समृद्ध हुदैछ । आशालाग्दो छ । तर, पाठकलाई बजारको खतरा छ । अनेक स्टन्ट गरेर बिक्री गरिने कमसल किताबले पाठकहरूको रुचि नै घटाउनसक्छ । पठन संस्कृतिलाई सबैभन्दा खतरा बजारबाट छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.