नेपालका विद्यार्थीलाई खुस्बुको सहयोग
![नेपालका विद्यार्थीलाई खुस्बुको सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/57a054d6645b55.90377300_L8NrxGXIxf.jpg)
काठमाडौँः काभ्रेपलाञ्चोक जिल्लाको गणेशकालिका प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । संयुक्त राज्य अमेरिकामा निम्न माध्यमिक तहमा अध्ययनरत एक विद्यार्थीको पहलमा ती सामग्री वितरण गरिएको हो ।
अमेरिकाको क्यालिफोर्नियास्थित सेक्रेमेन्टो सहरनिवासी खुस्बु अधिकारीले ती सामग्री भूकम्प प्रभावित क्षेत्रका सम्बन्धित विद्यार्थीलाई गत शनिबार हस्तान्तरण गरेकी हुन् ।
उनले उक्त विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई स्कुल ब्याग, एक दर्जन कापी, एक दर्जन सिसा कलम र बिस्कुट प्रदान गरिन् । विद्यालयलाई फुटबल, स्किपिङ रोपजस्ता खेलकुद सामग्री पनि दिइएको थियो । उनले उक्त रकम आफू बस्ने सहरमा संकलन गरेकी थिइन् ।
अहिले ७ कक्षामा अध्ययनरत खुस्बु नेपालमा भूकम्प आउँदा सेक्रेमेन्टोस्थित ‘टु रिभर इलेमेन्ट्री’ स्कुलमा कक्षा ६ मा अध्ययन गर्थिन् । त्यतिखेर संकलन गर्न सुरु गरेको रकम अहिले बिदाको बेला नेपालमा आफैंले ल्याएर हस्तान्तरण गरिन् । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र खत्रीलगायतले उनलाई धन्यवाद दिएका थिए ।
शैक्षिक सामग्री हस्तान्तरणपछि विद्यार्थीसँग खुस्बु ।
यसरी जुटाएँ सहयोग
आफू उतै जन्मिए पनि भूकम्प गएका बेला नेपालमा भएको क्षति सुनेर मलाई निकै दुःख लागेको थियो । जता हे¥यो नेपालसम्बन्धी समाचारमा देखिने भुइँचालोले घर स्कुल भत्काएका फोटामात्र देखिन्थे । लामो समय स्कुल बन्द गरिएको सुनेपछि मैले पनि केही गर्नुपर्छ भन्ने लाग्यो ।
मेरो उमेरका मानिस पनि घर भत्किएकाले किताब कापी झोला नभएर स्कुल नगएको समाचार पढेँ । नेपालमा बसेका आफन्तले फेसबुकमा घरबाहिर खुला ठाउँमा बसेका फोटा हालेको देखेर अचम्म लाग्थ्यो । हूलका हूल मानिस खुला आकाशमा गर्मीमा बसेका देखिन्थे । मेरो बुवा जन्मिएको ठाउँ र हजुरबा हजुरआमा र ठूलाबुवा ठूलीआमाहरू यतै बस्नुहुन्थ्यो । उहाँहरू पनि घर छोडेर खुला ठाउँमा बस्नुभएको देखेँ ।
बुवा गजेन्द्र अधिकारी र उहाँका साथीहरूले नेपालमा सहयोग पठाएको देखेपछि मलाई पनि केही गरौं भन्ने लाग्यो । मैले बुवालाई पनि सोधेँ, उहाँले हुन्छ भन्नुभयो । मैले स्कुलमा गएर त्यहाँ काम गर्ने स्टाफ (उहाँ मेरो साथीको हजुरआमा हुनुहुन्छ)सँग कुरा गरेँ । उहाँले पनि हौसला दिनुभयो । अनि मैले विद्यालय प्रशासनसँग सहयोग रकम जम्मा गर्ने अनुमति मागेँ । विद्यालयले पनि ठीक छ गर भनेर सकारात्मक जवाफ दियो । गर्मी बिदाका बेला मलाई समय पनि मिल्यो ।
मैले ग्रोसरी र ग्याँस स्टेसनमा चन्दा बाकस राखेँ । अमेरिकामा पसललाई ग्रोसरी भनिन्छ । त्यहाँबाट पनि पैसा उठ्यो । त्यहाँबाट ८६ हजार चार सय नेपाली रुपैयाँ बराबरको पैसा संकलन भयो । छिमेकमा गएर पनि पैसा संकलन गर्न सुरु गरेँ । साथीहरूले पनि साथ दिए । परिवारले पनि हौसला दियो । नेपालका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लाग्यो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)