सूचना पाउने हक घरबाट थालनी गर्नुपर्छ
![सूचना पाउने हक घरबाट थालनी गर्नुपर्छ](https://annapurnapost.prixacdn.net/media/albums/57a057aa8eaba8.31252664_JLt5pJ622a.jpg)
प्यारा भाइबहिनीहरू । तपाईंहरूलाई थाहा छ, वर्तमान नेपालको संविधानको धारा २७ ले सूचनाको हकको व्यवस्था गरेको छ । यो नेपालीको मौलिक हक हो । हाम्रो संविधानमा ३० प्रकारका मौलिक हकहरूको व्यवस्था छ । त्यसमध्ये सूचना माग्ने र पाउने एउटा मौलिक हक हो । यस्तो हकको प्रयोग आफूसँग सम्बन्धित र सार्वजनिक चासोको सूचना माग्न र पाउन प्रयोग गर्नुपर्छ । आफूसँग सम्बन्धित सूचना भन्नाले भाइबहिनीहरूले आफ्नो स्कुल र कलेजमा के के सुविधा उपलब्ध छन् भनी जान्न पाउने हक हो । तपाईंहरूले कति फिस तिर्नुपर्छ र त्यसको उपयोग कसरी हुन्छ, त्यो पनि जान्न पाउनुहुन्छ । स्कुल र कलेजले छात्रवृत्ति वितरण गर्छ, त्यो कसले के मापदण्डका आधारमा पाउँछन्, भनी जान्ने हक छ । स्कुल र कलेजमा कहिले बिदा हुन्छ, कहिले परीक्षा हुन्छ, कुनकुन शिक्षकले अध्यापन गराउनुहुन्छ भनी जान्ने हक विद्यार्थी भाइबहिनीहरूमा सुरक्षित छ । यसर्थ यस्ता कुरा आफ्ना शिक्षकसँग सोधपुछ गरी थाहा पाउनुपर्छ ।
घरपरिवारमा पनि आफ्ना आमाबुवा, दाइदिदी, हजुरवा—हजुरआमासँग आफूले जान्न र बुझ्न चाहेको कुरा सोध्नुपर्छ । सूचना पाउने हक घरबाटै थालनी गर्नुपर्छ । जिज्ञासु बालबालिकालाई सो सूचना दिनु अभिभावकको कर्तव्य हो । भाइबहिनीहरूले पनि आफूभन्दा साना भाइबहिनीले सोधेका वा जान्न चाहेका कुरा झर्को नमानी बताई दिनुपर्छ । यसबाट नागरिकको कर्तव्य पूरा भएको ठहरिन्छ ।
जहाँसम्म सार्वजनिक चासो वा सरोकारको विषय छ, यो सवै देशवासीलाई प्रभाव पार्ने विषयसँग सम्बन्धित छ । भूकम्प र बाढीपिडितले लामो समयसम्म पनि राहत नपाएको गुनासो सुनिन्छ । यसमा के कति रकम वितरण भयो भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सूचना माग गर्नुपर्छ ।
यसैगरी, नेपाल सरकारले सरकारी अस्पतालमा ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने नीति लिएको छ । आफू उपचारको लागि गएको अस्पतालमा यी निःशुल्क वितरण हुने औषधि के के छन् भनी जान्ने प्रयास गर्नुपर्छ ।
यसरी प्राप्त भएको सूचना दुरुपयोग गर्नु हुँदैन । आफूले प्राप्त गरेको सूचना अरुलाई पनि जानकारी दिन कञ्जुस्याइँ गर्नु हुदैंन । हामीले सूचनाको हकसम्बन्धी ऐन, २०६४ निकायसँग संविधान र कानुनबमोजिम लिखित र मौखिक रूपमा सूचना माग्न र पाउन सक्छौं भन्ने बुझी राखौं । आफूलाई आवश्यक परेको बखत आफूले र आफ्ना अभिभावकमार्फत सूचना माग्न र पाउन पछाडि नपारौं भन्ने सन्देश दिन चाहन्छु ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)