बाउजा अर्जेन्टिनाको नयाँ प्रशिक्षक

बाउजा अर्जेन्टिनाको नयाँ प्रशिक्षक

ब्युनोस आयर्सः विश्वकप उपविजेता अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा एडुगार्डो बाउजा नियुक्त भएका छन् । बाउजा यसअघि ब्राजिलको क्लब साओ पाउलोमा आबद्ध थिए ।

कोपा अमेरिका सेन्टेनारियोलगत्तै जेरार्डो मार्टिनोले राजीनामा दिएपछि अर्जेन्टिनाको प्रशिक्षक पद रिक्त थियो । पछिल्लो तीन वर्षमा अर्जेन्टिना कोपा अमेरिकामा दुई पटक र विश्वकपमा एकपटक फाइनलसम्म पुगे पनि उपाधिबाट विमुख भएको थियो ।

गत जुनमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना साबिक विजेता चिलीसँग लगातार दोस्रो संस्करणमा उपाधि भिडन्तमा पराजित भएको थियो । मार्टिनोको उत्तराधिकारीका रूपमा बाउजाबाहेक एट्लेटिको म्याड्रिडका डिएगो सिमोन र टोट्टनहामका माउरिसियो पोचेटिनोलाई पनि बलियो प्रत्यासीका रूपमा हेरिएको थियो । बार्सिलोनालाई एक वर्ष प्रशिक्षण दिएका मार्टिनोले सन् २०१४ को विश्वकपपछि अर्जेन्टिनाको प्रशिक्षण जिम्मेवारी पाएका थिए ।

विश्वकपको फाइलनलमा आफ्नो टोली जर्मनीसँग १-० गोलले पराजित भएपछि अलेजान्द्रो साबेलाले अर्जेन्टिनाको प्रशिक्षक पद छाड्नु परेको थियो । पछिल्लो समय उपाधि जित्न नसकेकै कारण प्रशिक्षकहरूले अर्जेन्टिनाको पद छाड्नु परेको छ । ५८ वर्षीय बाउजाका लागि अहिले धेरै चुनौती छन् । स्टार स्ट्राइकर लियोनल मेसीले गत कोपा अमेरिकाको फाइनलपछि अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका कारण अर्जेन्टिनामा यी स्ट्राइकरको अभाव खड्कनेछ ।

अर्जेन्टिनाको हरेक राम्रा प्रदर्शनमा मेसीको भूमिका महत्वपूर्ण रहँदै आएको थियो । अर्जेन्टिना यतिबेला सन् २०१८ को विश्वकपको छनोट खेल्दैछ । अर्जेन्टिनाको आगामी खेल सेप्टेम्बरमा रहेको छ । ६ खेल खेलिसकेको अर्जेन्टिना ११ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

१० टोलीको सहभागिता रहेको दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोली सोझै विश्वकपमा छनोट हुनेछन् भने पाँचौं स्थानमा आउने टोलीले अन्तर महादेशीय प्ले अफ खेल्नु पर्नेछ ।

तालिकाको शीर्षस्थानमा रहेको उरुग्वे र दोस्रो स्थानमा रहेको इक्वेडरको समान १३÷१३ अंक छ । सन् १९८१ पछि नौ वर्ष अर्जेन्टिनी टोलीमा रहेका पूर्वरक्षक बाउजाले तीनपटक मात्र अन्तर्राष्ट्रिय फुटबलमा मैदानमा ओर्लने मौका पाएका थिए । सन् १९९० को विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगे पनि बाउजाले एक खेल पनि खेल्ने मौका पाएका थिएनन् ।

उनको प्रशिक्षण जीवन भने सन् १९९८ देखि सुरु भएको थियो । आफूले तीन सयभन्दा बढी खेल खेलेको रोसारियो सेन्ट्रलबाटै उनले आफ्नो व्यावसायिक प्रशिक्षण जीवन सुरु गरेका थिए । अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सन् १९९३ यता कुनै पनि ठूला उपाधि जित्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.