कथा-अनामिका

कथा-अनामिका

अनामिका प्यारालाइसिस भएर सुतिरहेको खबरले म निकै मर्माहत हुन्छु । एकपटक उसको अनुहारमात्र देख्न मन साह्रै व्याकुल हुन्छ । म हतारहतार अनामिकाको डेरा कोटेश्वरतर्फ लाग्छु ।

साउन १ मंगलबारको दिन छ । मुसलधारे पानीले सारा काठमाडौं जलमग्न छ । म अनामिकाको डेरा कोटेश्वर पुगिसकेको छु । अनामिकाको डेरामा पुगेर ढोका ढकढकाउँछु, विस्तारै ढोका खुल्छ । एक अधबैंसे महिला ढोकामा देखिन्छन् । सोध्छु, 'अनामिका यहीँ बस्छिन् ? '
उनले पलङतिर देखाउँदै भनिन्, 'ऊ ।'

म अगाडि बढेँ । पलङमा निस्तेज सुतिरहेकी अनामिका, पत्याउन पनि गाह्रो । ती महिला भन्दै थिइन्, 'भर्खरै निद्रा परिरहेको छ, एक क्षण बस्दै गर्नुहोस् ।'

अलमलमा परेँ । दुईव र्ष अगाडिकी हृष्ठपुष्ट र सौन्दर्यले भरिभराउ अनामिका आज विल्कुल फरक थिई । अहिले भने रुँदारुँदा थकित जस्तो अनुहार, खोपिल्टा परेका आँखा । नाकको डाँडीमा सेतो हाड छर्लंग देखिन्थ्यो । जिंग्रिंग कपाल, साह्रै निरीह अवस्थामा उसलाई देखेर म अरू भावविह्ल हुन्छु ।

त्यत्तिकैमा अनामिका निद्राबाट ब्यूँझिई । 'साह्रै बिरामी पो भइछौ अनामिका !' मैले यत्ति भन्दा नभन्दै आँसुको फोहोरा छुटे उसको आँखाबाट । ऊ रुन सुरु गरेपछि मैले पनि आफ्नो मन थाम्न सकिनँ । रोएँ म पनि ।

ती महिलाले मलाई जान्ने संकेत गरिन् । मैले आफ्नो नाम बताएँ र अनामिकाको साथी भएको परिचय दिएँ । बताइदिएँ । थाहा भयो– ती अनामिकाकी भाउजू रहिछन् ।

 

भाउजू भन्दै थिइन्, 'अनामिका बोल्न सक्दिनन्, न त उठ्न र हिँड्न नै सक्छिन् । यस्तो लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा दैवले पनि के विघ्न धोका दिएको होला ।'

अनामिकाको बोल्न र चल्न नसक्ने दुःखदायी कथा सुनेर म निकै दुखी भएँ । अनामिकाको आँखाबाट आँसुको फोहोरा अझै थामिएन । 'तपाईंलाई देखेपछि त झनै साह्रै रोइन्', भाउजूले थपिन् । भाउजूको त्यो भनाइले म झन् विक्षिप्त भएँ । उसको नजिक गएँ, 'ठीक हुन्छ अनामिका, दुःख नमान ।' सम्झाउने प्रयास गरेँ ।

मैले बोलेको शब्द उसको कानमा नपुग्दै झन् उत्पात रुन थाली ऊ । आफ्नो हात विस्तारै उठाई, आँसुले निथु्रक्क भिजेको सिरानीतिरबाट कागज र कलम लिएर काँपिरहेका हातहरूले केही अक्षर लेखी र मलाई दिई ।

पढेँ, 'मेरो रोग नै मेरो अहोभाग्य रहेछ, किनकि यसै कारणबाट तपाईंलाई देख्न पाएँ । म आज कति पीडादायी रूपमा बाँचिरहेकी रहिछु भन्ने कुरा मेरो शरीर देखेर नै तपाईले थाहा पाउनुभयो होला । म अब कहिल्यै निको हुँदिनँ ।'
सारा अक्षर पढिसक्दा मन स्तब्ध भयो । मुटु भक्कानियो । आफूलाई सम्हाल्न सकिनँ । केही नबोली त्यहाँबाट निस्केँ ।

मैले अनामिकालाई प्रेम गर्थें, त्यो एउटा विगत थियो । तर आज धेरै लामो समय हाम्रो समीपबाट अस्ताइसकेको छ । हामी दुवैजना आआफ्नै वर्तमानमा छौं । फेरि पनि अनामिका मलाई देख्नु आफ्नो अहोभाग्य किन सम्झिन्छे ? म छक्क परिरहेछु ।

अनामिकालाई न मैले धोका दिएँ, न त अनामिकाले मलाई धोका दिई । त्यति बेलै पनि हाम्रा आआफ्ना परिस्थितिहरू थिए प्रेममा । ऊ मलाई प्रेम गर्थी तर म विवाहित थिएँ । त्यो पनि उसलाई थाहा थियो । म आफ्नी श्रीमती विमलालाई औधी प्रेम गर्थें । त्यो पनि उसलाई थाहा थियो । फेरि पनि ऊ मसँग प्रेम गर्थी, त्यो उसको एउटा कमजोरी थियो ।

उसले मलाई प्रेम गरी तर व्यक्त गरिन । उसको एउटा विवशता थियो । मैेले उसलाई प्रेम गरेँ तर उसलाई कहिल्यै भनिनँ । मेरो अर्को विवशता थियो । एउटा अव्यक्त प्रेममा बाँधिएर पनि हामीहरू नदीका दुई किनाराजस्तै हुन पुग्यौं जिन्दगीमा ।

विमला र मबीचको अव्यक्त प्रेमबाट टाढा रहन एक दिन म घरबाट काठमाडौं पसेँ । काठमाडौं पसेपछि मैले पत्रकारिता सुरु गरेँ । बिहानदेखि बेलुकासम्म समाचार खोज्यो । समाचार लेख्यो, फुर्सदै नहुने । मेरो व्यस्तताकै कारणले पनि त्यसपछि अनामिकासँग मेरो सम्पर्क भएन ।

वर्ष दिनपछि अनामिकाले विवाह गरी भन्ने खबर मैले पाएँ । उसको विवाहको खबरले म अत्यन्त खुसी भएँ र ऊ सधैं खुसी रहोस् भन्ने कामना पनि गरेँ । त्यसपछि झन् उसँग सम्पर्क गरिनँ मैले ।

यसरी दिनहरू बितिरहे ।

हिजोमात्र हो मेरो मित्र गणेशकुमारले फोन गर्‌यो । फोनमा अनामिका प्यारालाइसिसबाट ग्रस्त छ र ऊ कोटेश्वरमा छ भन्ने उसकै जानकारीले म आज अनामिकालाई भेट्न गएको हुँ ।

अनामिकाले भनेजस्तै के ऊ अब साँच्चि कहिल्यै निको हुँदिन त ?

प्यारालाइसिसको यातनागृहमा निस्तेज र निरीह अवस्थामा लडिरहेकी अनामिका मेरो आँखामा लगातार आइरहन्छे । उसको अव्यक्त अनुहार र आँसुको खहरेले मभित्र निदाएको एउटा विगतलाई ब्यूँझाइदिएको छ । एउटा रोमाञ्च विगत र अहिलेकी निरीह अनामिका एकैसाथ मेरो मस्तिष्कमा प्रतिविम्बित भइरहेछन् ।

हप्ता दिनपछि फेरि मलाई उही कोटेश्वर पुग्न मन लाग्छ । एउटा शनिबार अपराह्नतिर म उसको डेरामा पुग्छु । सरासर कोठाभित्र पस्छु, यतिखेर साथमा उसकी भाउजू पनि थिइनन् । ऊ एक्लै थिई ।

जब अनामिकाले मलाई देखी, असहज परिस्थितिको बीचबाट ओठहरू खोल्ने प्रयत्न गरी । उसका दुवै ओठ थर्रर थर्थराए तर आवाज निस्कन सकेन । लाग्थ्यो, आज ऊ मसँग केही कुरा व्यक्त गर्ने मनशायमा थिई ।

यसपालि पनि ऊ असाध्यै रोई । उसको आँसुले मलाई थुप्रै गुनासा गरिरहेजस्तो आभास भइरहेको थियो । लाग्थ्यो, धित मारेर उसले आफ्नो सम्पूर्ण विगतको दुखान्त पृष्ठभूमि आँसुमार्फत वाचन गरिरहेकी थिई ।

ऊ आफू मुखले बोल्न नसके पनि अरूले बोलेका कुराहरू सुन्न र बुझ्न सक्थी ।

केही समयपछि गिलासमा तातो पानी र औषधि लिएर भाउजू कोठामा प्रवेश गरिन् । मैले नमस्कारको औपचारिकता पूरा गरेँ ।

'सन्चै हुनुहुन्छ ? ', भाउजूको प्रश्न थियो । 'सन्चै छु भाउजू ।' यत्ति भनेँ मैले । भाउजूसँग पनि अनामिकाबारे सोधेँ । 'काम गर्न सकुन्जेल र शरीर स्वस्थ रहुन्जेलमात्र सबैको प्यारो हुन सकिँदो रहेछ । अशक्त भएपछि आफ्नैहरूले पनि कुकुरले हाड छोडेजस्तो छोडेर जाँदा रहेछन् ।'

भाउजूले दिएको जवाफ र भनाइको प्रसंगबाट लागिरहेको थियो, 'अनामिकाको अस्वस्थतासँगै उसको परिवार र उसको लोग्नेले उसलाई बेवास्ता गरिरहेका छन् ।'

अनामिकाबारे भाउजूबाट सबै कुरा सुनेर म आहत भएँ । उही अनामिकाले लेखेको एउटा वाक्य याद भयो, 'म आज कति पीडादायी रूपमा बाँचिरहेकी छु भन्ने कुरा मेरो शरीर देखेर नै तपाईंले थाहा पाउनुभयो होला ।' अनामिकाको विवशता, ऊ आज आफ्नो दाइभाउजूकहाँ आश्रित छे । उसको परिवारबाट उसलाई सहयोग छैन किनकि ऊ अब कहिल्यै निको हुँदिनँ ।

जिन्दगीले पूर्ण निकम्मा बनाएर मृत्युशय्यामा निस्तेज पल्टाइदिएकी अनामिका मेरो आँखामा झल्झली आइरहन्छे । उसको वेहद उत्पीडनको यादले मेरो मन फाटिरहेको छ । पटकपटक गला अवरुद्ध भइरहेको छ । अनामिकाको जिन्दगीको करुण गाथा सुनेर म डेरातर्फ फर्किरहेको छु । साँझ पर्न लागिरहेको छ । रत्नपार्कमा आइपुग्दा मित्र गणेशकुमार भेटिन्छ । अनामिकाकै बारेमा कुरा चल्छ । मानसिक तनाव र गणेशकुमारसँगको भेटले त्यस दिन मलाई अलिकति पिउन मन लाग्छ । उसँग प्रस्ताव राख्छु । हुन्न भन्न सक्दैन ऊ । हामीहरू एउटा रेस्टुराँमा छिर्छौं ।

मलाई धित मरुन्जेल पिउन मन लागिरेछ, रक्सीको प्यालामा दोस्रोपटक तनावयुक्त अनुहार नदेखुन्जेल । म केही दिनयताका सम्पूर्ण घटना रक्सीसँगै बिर्सिदिन चाहिरहेको छु । बिस्तारै रक्सीले मलाई च्यापिरहेछ ।
अकस्मात् गणेशकुमारले मलाई चिमोट्छ, 'ऊ अभिषेक ।'

'मैले बुझ्दिन ऊ के भन्दैछ ? '
'को अभिषेक ? ' प्रश्न गर्छु ।
'अनामिकाको पति क्या ।'

'अनामिकाको पति भन्ने शब्दले म झल्याँस्स हुन्छु । रक्सीको पञ्जाबाट आफूलाई छुट्याएर एउटा यथार्थमा ल्याउने प्रयास गर्छु । अलि पर एउटा कर्नरमा दुई युवकयुवती मस्कीमस्की उल्लासमा रमाएको देख्छु । प्रत्येकपटक उनीहरूले आफ्नो प्याला एकअर्कामा साटेर पिइरहेछन् । अभिषेकको रक्सीको प्यालामा उसकी अनामिका छैन ।

अनामिकाको प्यारालाइसिस शरीर र रोगको यातनागृहकी कमजोर अनामिकाले उसलाई रत्तिभर दुःखी बनाएकी छैन । लाग्छ, बरु उसको नयाँ बाटो र नयाँ उद्देश्यका निम्ति मार्गप्रशस्त गरिरहेकी छे । ऊ अर्थात् अभिषेक आज त्यसैको वेहद खुसीमा पिइरहेछ । उसको अगाडि एउटा रोमान्स छ, आफ्नी नयाँ प्रेमिकासँग ।

त्यो सबै थोक देखेर मनभित्रबाट एउटा आक्रोशको ज्वाला दन्किन सुरु गर्छ । उसको कर्नरमा पुगेर उसलाई चिथोरूझैं लागिरहेछ । तर पनि यी सबै थोक गर्न उचित देख्दिनँ । बिल तिरेर बाहिरिन्छौं ।

म डेरामा पस्दासम्म गहिरो रातले सारा काठमाडौं छोपिसकेको छ । खाना खान मन छैन । विस्तारमा पल्टिन्छु ।
त्यस रात मेरा प्रत्येक सपनामा अनामिका आइरहन्छे र आफ्नो पक्षाघातले ग्रस्त शरीर मेरोअगाडि पल्टाइदिन्छे । रुन्छे, म अभिशप्त उसको करुण क्रन्दन सुनिरहन्छु । रात यसरी नै सकिन्छ ।

बिहान अलि अबेर आँखाहरू खुल्छन् । रातभरको सपनासंसार एकपटक आँखाअगाडि पुनः साक्षात्कार हुन्छ । हिजो राति रेस्टुराँमा अर्की युवतीसँग उल्लास र रोमान्स मनाइरहेको अभिषेक सम्झन्छु । दाइको डेरामा विवश जिन्दगीले लत्याएकी र मृत्युबाट नपत्याइएकी अनामिकालाई सम्झन्छु ।

एकैसाथ विगतमा मेरो अगाडिपछाडि भइरहने सुकोमल, सूरतमय, सुशील कवयित्री अनामिका सम्झन्छु । यति खेर आजकी अनामिका जो पक्षाघातले ग्रस्त छे, र श्रीमान्बाट लत्याइएकी छे त्यो अनामिकाप्रति— मलाई हृदयदेखि माया लागेर आउँछ । मनमा केही साहस बटुल्छु र डुब्नै लागेको उसको जिन्दगीको बाँकी अध्यायमा आफूलाई समर्पित गर्न म आज फेरि उसकै डेरातर्फ लाग्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.