प्रदर्शनी खेलमै सनसनी

प्रदर्शनी खेलमै सनसनी

नेपालमा मार्र्सल आर्ट गेम्स भित्रिएको साढे तीन दशक पनि पुगेको छैन । मार्सल आर्ट गेम्सकै राजा मानिने तेक्वान्दो खेल नेपालमा २०३९ साल फागुन १६ गते पहिलो पटक दशरथ रंगशालामा प्रदर्शनी खेलको रूपमा खेलिएको थियो । विभिन्न व्यक्तिले लुक्दै, छिप्दै, खेल्दै आएको तेक्वान्दो खेललाई तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव शरदचन्द्र शाहको पहलमा प्रवेश गराइएको हो ।

फुटबल दर्शकलाई थप मनोरञ्जन दिने हिसाबले दशरथ रंगशालामा फुटबल खेलको हाफ टाइममा तेक्वान्दोको प्रदर्शनी खेल खेलाइएको थियो । त्यतिबेला नेपालमा एकमात्र ब्ल्याक बेल्ट (वरिष्ठ डान प्रमाणपत्र) धारी खेलाडी थिए, प्रदीप जोशी (टेकराज ) । प्रदीपले प्रदर्शनी खेलमै दशरथ रंगशालामा सनसनी मच्चाए । उनको किकले सयौं नेपालीको मन त्यतिबेलै तानेको थियो ।

तेक्वान्दोमा चार दशक बिताएका उनै ५२ वर्षीय प्रदीप अहिले प्रदीप गुरुको नामले नेपाली तेक्वान्दोमा परिचित छन्् । पाको उमेरमा पनि उनको शारीरिक बनावट लोभलाग्दो छ । उनी यसलाई तेक्वान्दोको कमाल भन्न रुचाउँछन् । नेपाली तेक्वान्दोमा पहिलो पुस्ताका प्रदीपको तेक्वान्दो खेलभित्रकै आरोह र अवरोह झनै बेजोडको छ ।

नेपालको विकट पहाडी जिल्ला डोटीमा जन्मिएका प्रदीपको बाल्यकाल उनका बुबा रामचन्द्र जोशीको जागिरसँगै बित्यो । 'मेरा बुवा त्यतिबेला सरकारको उच्चपदस्थ कर्मचारी हुनुहुन्थ्यो । बुबा जहाँ जानुभयो, मेरो पढाइ पनि त्यही हुन्थ्यो । मेलै बुबाकै सहयोगमा पढाइ र तेक्वान्दो खेललाई सँगै अगाडि बढाएँ', उनले विगत कोट्याए ।

भारतमा बस्दा उनी तेक्वान्दोका धुरन्धर खेलाडी भइसकेका थिए । उनले त्यतिबेलै भारतमा ब्ल्याकबेल्ट लिएका थिए । नेपालमा उनले नेपाली सेना र प्रहरीलाई पनि तेक्वान्दो सिकाउन थाले ।

२०३५ सालमा देशभर विद्यार्थी आन्दोलन सुरु भयो । त्यतिबेला प्रदीप स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा पढ्दै थिए । विद्यार्थी आन्दोलनमा लागेको भन्दै तत्कालीन पञ्चायतले उनलाई स्कुलबाट निस्कासन गर्‌यो । सानैदेखि प्रजातान्त्रिक चेत भएकाले उनी भारत गए ।

भारतबाटै एसएससी र आईए पढेर २०३९ सालमा नेपाल फर्किए । भारतमा बस्दा उनी तेक्वान्दोका धुरन्धर खेलाडी भइसकेका थिए । उनले त्यतिबेलै भारतमा ब्ल्याकबेल्ट लिएका थिए । नेपालमा उनले नेपाली सेना र प्रहरीलाई पनि तेक्वान्दो सिकाउन थाले ।

१९ वर्षकै उमेरमा ब्ल्याकबेल्ट पाएका प्रदीप दक्षिण एसियाली देशमामा ब्ल्याकबेल्ट पाउने तेस्रो व्यक्ति थिए । त्यसअघि नेपाली मूलका भारतीय नागरिक एवं ब्रिटिस आर्मी पूर्ण गुरुङ र भारतीय तेक्वान्दो संघका पूर्व अध्यक्ष जिमी आर जगतियानीको मात्र तेक्वान्दोको ब्ल्याकबेल्ट थियो ।

तर भारतमा ब्ल्याकबेल्ट प्रमाणपत्र पाए पनि उनलाई नेपालमा आएर ब्ल्याकबेल्टको पुनः परीक्षा दिन लगाइयो । 'मैले एउटै बेल्टका लागि दुई पटक परीक्षा दिनु पर्‌यो । शरदचन्द्र शाह त्यतिबेला राखेपका सशक्त सदस्यसचिव । म डेमोक्र्याट भन्ने उनलाई राम्रोसँग थाहा थियो । त्यसैले मेरो ब्ल्याकबेल्टलाई मान्यता नदिने निर्णय गरियो ।

 

त्यतिबेला शरदचन्द्र र कोरियन गुरु जेके सिनले नेपालमा तेक्वान्दो खेलको विकासको शुभारम्भ गरेका थिए । मलगायत अमर श्रेष्ठ, दीपराज गुरुङ, सित्कर राजभण्डारी, एकनाथ थापालगायतले तेक्वान्दो खेलका लागि सकेको सहयोग गर्दै गयौं,' प्रदीपले विगत सम्झिए ।

पहिलो पुस्ताका भएकाले पनि हामीलाई खेल्नभन्दा सिकाउनमै प्रमुख भूमिका हुन्थ्यो । जेके सिनकै नेतृत्वमा हामी सामूहिक रूपमै विधान लामालाई तेक्वान्दो सिकायौं । विधानलाई तेक्वान्दो सिकाएर ओलम्पिकसम्म पुर्‌याउन पाउनु मेरो पनि जीवनको खुसीको क्षण थियो, नेपाली मार्सल आर्ट गेम्सका संस्थापक सदस्य प्रदीप भन्छन् ।

प्रदीप २०४० सालमा राखेपको प्रशिक्षक भए । उनलाई २०४० सालमै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गराउन सप्तरी पठाइयो । उनले प्रशिक्षकको रूपमा पूर्वदेखि पश्चिमको धनगढीसम्म तेक्वान्दो सिकाउँदै गए । उनले धनगढीमा तेक्वान्दो सिकाउँदै थिए ।

त्यतिबेला गणतन्त्रका पक्षधर रामराजाप्रसाद सिंहको कार्यकर्ता (राम कार्की) लगायतले राष्ट्रिय पञ्चायत भवन र अन्नपूर्ण होटेलअगाडि बम पड्काएछन् । रामराजा प्रसादको कार्यकर्ता बमकाण्डमा पक्राउ परेपछि प्रदीपलाई नसोचेको विपत्ति आइलाग्यो ।

'पक्राउ परेका व्यक्ति राम कार्कीले प्रदीपले राजविराजमा दुई वर्षअघि मलाई तेक्वान्दो खेल सिकाएको भनेर प्रहरीमा बयान दिएछन् । बयानकै आधारमा शरदचन्द्रले मलाई समेत पक्राउको आदेश दिएछन् । तेक्वान्दो सिकाएको बहानामा म माथि अर्को आपत्ति आइलाग्यो', उनले भने ।

त्यतिबेला मार्सल आर्ट गेम्स सिक्न र सिकाउन कठिन थियो । सिक्न र सिकाउन चाहनेले गाउँ पञ्चायत, जिल्ला प्रशासन, क्षेत्र, आर्मी, प्रहरी, अनुसन्धान विभागजस्ता दसौं ठाउँमा फोटो टाँसेर फर्म भर्नुपर्ने र स्वीकृति पाएमात्र खेल्न र खेलाउन पाइने थियो, उनले भने ।

रामराजाको बमकाण्डपछि प्रदीपको शरदचन्द्र शाहसँग ठूलो टकराव भयो । उनले २०४३ सालमा फेरि भारतमा प्रवास जीवन बिताउन पर्‌यो । दोस्रो पटक भारतमा गएपछि उनले लखनउको क्रिस्टिएन कलेजबाट बाँकी पढाइ पूरा गरे । फिजिकल फिटनेसमा स्नातक गरेका प्रदीपले प्रवासमै रहेर तेक्वान्दो खेल प्रशिक्षणलाई पनि थप माथि पुर्‌याए ।

'प्रवास मेरा लागि झनै अवसर भयो । भारतको बरेली, नैनीताल, पिथौरागढ, मुरादावादलगायत स्थानमा तेक्वान्दो सिकाउन पाएँ । बरेलीमा भारतीय सेना र प्रहरीको क्याम्पमा तेक्वान्दो सिकाउन पाएँ । यसले मेरो तेक्वान्दो खेलको लगाव थप बढायो', उनी भन्छन् ।

२०४६ सालमा नेपालका जनआन्दोलन सुरु भयो । प्रवासमा रहेका नेपालीसमेत स्वदेश फर्कन थाले । प्रदीपले पनि कैलाली मसुरियाको घरमा फर्किएर स्वदेशमै केही गर्ने योजना बनाए । उनले कैलालीमा तेक्वान्दो प्रशिक्षक केन्द्र खोले र आन्दोलनमा पनि सहभागी भए । त्यतिबेला कैलालीमा तेक्वान्दो सिक्न भारतका खेलाडीसमेत आउने जाने गर्दथे ।

आन्दोलनमा लाग्न जोस बढाउनका लागि पनि तेक्वान्दो खेल्न नेपाली युवा लालायित हुन्थे । जनआन्दोलनपछि बनेको नेपालको नयाँ संविधानपछि मार्सल आर्ट गेम्सअन्तर्गत कराँते, जुडो, तेक्वान्दोजस्ता छुट्टाछुट्टै खेल संघ गठन हुने क्रम सुरु भयो । मार्सल आर्ट गेम्स खेल्न र खेलाउन प्रशिक्षक र खेलाडीलाई सजिलो भयो ।

प्रदीपले प्रशिक्षण केन्द्रसँगै धनगढीमा इँटाभट्टाको व्यवसाय पनि थाले । २०५२ सालमा सुरु भएको तत्कालीन माओवादी जनयुद्धले फेरि प्रदीपको प्रशिक्षण र व्यवसायलाई धक्का दियो । उनलाई माओवादी जनयुद्धमा सहयोग गर्नुपर्ने भन्दै धम्की आउन थाल्यो । त्यसबेला उनको घरमा लाइसेन्स प्राप्त बन्दुक राखिएको थियो ।

माओवादीले उनको बन्दुक र गोली नै खोसेर लगे । उनको माओवादीसँग दोहोरो भिडन्तसमेत भयो । भिडन्तमा उनलाई गोली पनि लाग्यो । धनगढीमा बस्न नसक्ने भएपछि २०५३ सालमा काठमाडौं आएका प्रदीपको तेक्वान्दो मोह भने सेलाएन ।

उनीलगायत तेक्वान्दो खेल प्रेमीहरूले अखिल नेपाल तेक्वान्दो संघ (एन्टा) खोलेर तेक्वान्दो खेलको विकास र विस्तारमा लाग्ने अठोट गरे । पछि एन्टा र नेपाल तेक्वान्दो संघ एकै ठाउँमा गाँभेर नेपाल तेक्वान्दो संघमै रहने सहमति भयो । प्रदीप अहिले संघको उपाध्यक्ष, युनिभर्सिटी तेक्वान्दो फेडेरेसनको उपाध्यक्ष र विश्व विद्यालय खेलकुद संघको अध्यक्षको रूपमा खेलकुद गतिविधिमा सक्रिय छन् ।

नेपाली राजनीतिक घटनाक्रमले खेलकुदमा पारेको प्रत्यक्ष असरका भुक्तभोगी प्रदीप नेपाल खेलकुद अझै विगतको भन्दा फरक नभएको तर्क गर्छन् । 'नेपाली खेलकुदमा पात्र मात्र फरक हो, प्रवृत्ति सधैं उस्तै छ । खेलकुद भनेको गतिशील हुनुपर्छ । पूर्वाधार, पद्धति, प्रशिक्षण, प्रतियोगिता, पारदर्शिता र पुरस्कार खेलकुदका मेरुदण्ड हुन् । तर यसलाई सबैले नारामा मात्र सीमित गर्नु दुर्भाग्य भयो', उनी भन्छन् ।

नेपालमा पहिला प्रशिक्षकलाई विज्ञानसँग आधारित बनाएर लैजान सकेमात्र खेलाडीको प्रदर्शनमा सुधार आउने उनको बुझाइ छ । नेपालमा तेक्वान्दो खेल विगतभन्दा झनै खस्कियो नि ? भन्ने पछिल्लो जिज्ञासामा उनले भने–तेक्वान्दोमात्र होइन, सबै खेलको अवस्था नाजुक छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.