रियो ओलम्पिकको भव्य उद्घाटन

रियो ओलम्पिकको भव्य उद्घाटन

एजेन्सीः विश्व खेलकुदको महाकुम्भ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको ३१औं संस्करण शुक्रबार रातिबाट औपचारिक रूपमा ब्राजिलमा सुरु भएको छ । ब्राजिलको रियो दी जेनेरियो सहरस्थित माराकाना स्टेडियममा आयोजित उद्घाटन समारोहमा सहभागी देशको मार्चपास्टसहित ब्राजिलले आफ्नो देशको अथाह संस्कृति झल्काउने प्रस्तुतिहरू देखाएको थियो ।

माराकाना स्टेडियममा दुई घन्टाभन्दा बढी समय चलेको उद्घाटन समारोहमा ब्राजिलले आफ्नो सांस्कृतिक र जातीय विविधता झल्काउने झाँकी विश्वभरका दर्शक र समर्थकलाई देखायो ।

उद्घाटन समारोहमा दुई सय ६ देशका खेलाडीले मार्चपास गरेका थिए । यस ओलम्पिकका पहिलोपटक शरणार्थी टोलीलाई समेत समावेश गरिएको छ । ओलम्पिकमा शरणार्थी कोटाबाट सहभागिता जनाएका १० जना खेलाडीले छुट्टै टोलीका रूपमा सहभागी भएका हुन् ।

७५ हजार दर्शक क्षमता भएको मारकाना स्टेडियमको भएको उक्त समारोहमा ओलम्पिक टर्च ब्राजिलका प्रख्यात फुटबलर पेलेले बोक्ने कार्यक्रम तय गरिए पनि उनी कमजोर स्वास्थ्यको कारण देखाउँदै उपस्थित हुन सकेनन् । पेलेको अनुपस्थितिमा ओलम्पिक टर्च ब्राजिलका चर्चित म्याराथन धावक भान्डरलेई कोरडेइरो डे लिमाले बोकेका थिए । ७५ वर्षीय पेलेले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेकाले चाहेर पनि उपस्थित हुन नसकेको बताएका छन् । उनले यो निर्णय आफ्नो व्यक्तिगत भएको समेत बताएका छन् ।

उद्घाटन समारोहमा ब्राजिलियन चलचित्र निर्देशक फर्नान्डो मेरिलेस नेतृत्वको टोलीले विशेष कार्यक्रम पस्किएको थियो । समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुखदेखि लिएर विशिष्ट पाहुना माराकाना स्टेडियम पुगेका थिए । समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, नेदरल्यान्ड्सका राजा विलेम एलेज्यान्डर, फ्रान्सेली राष्ट्रपति फ्रांकोइज होल्यान्ड, अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्री, अमेरिकी विदेश सचिव जोन केरीलगायत विशिष्ट पाहुनाको उपस्थिति थियो ।

ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार राति गरिए पनि खेलकुद स्पर्धा भने दुई दिनअघिदेखि नै सुरु भइसकेको थियो । बुधबारदेखि पुरुष र महिला फुटबल सुरु भएका थिए । यसैगरी उद्घाटनअघि नै आर्चरीलगायत अन्य खेलको समेत सुरुआत भइसकेको थियो । अगस्ट २१ सम्म सञ्चालन हुने रियो ओलम्पिकमा विश्वका दुई सय ६ देशका ११ हजार दुई सय ३९ जना खेलाडीले सहभागिता जनाएका छन् ।

ओलम्पिकमा यो अहिलेसम्मकै ठूलो सहभागिता हो । कोसोभो र दक्षिण सुडानले पहिलोपटक रियो ओलम्पिकमार्फत ओलम्पिक खेलकुदमा भाग लिएका छन् । सहभागी खेलाडीले विभिन्न २८ खेलका कुल तीन सय ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिक दक्षिण अमेरिकामा आयोजना गरिएको पहिलो ओलम्पिक पनि हो । जिका भाइरस र राजनीतिक अस्थिरताले गाँजेको ब्राजिलले ओलम्पिकमा सुरक्षा र पाहुनाको सत्कारका लागि कुनै कसर राखेको छैन ।

नेपालको झन्डा फुपूले बोकिन३१औं रियो ओलम्पिकको मार्च पास्टमा नेपाली टोलीको नेतृत्व जुडो खेलाडी फुपूल्हामु खत्रीले गरेकी छन् । मार्च पास्टमा नेपालको राष्ट्रिय झन्डा फुपूल्हामुले बोकेकी हुन् । जुडोको महिला ६३ केजीमा प्रतिस्पर्धा गर्न लागेकी फुपूको खेल मंगलबार परेको छ । खत्री १२औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन् ।

रियो ओलम्पिकमा नेपालबाट पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोकी खत्रीसँगै तेक्वान्दोमा निशा रावल, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई तथा पौडीमा शिरीष गुरुङ र गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी आर्चरीमा नेपालका जितबहादुर मोक्तानले शुक्रबार नै रेङकिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए । ७० मिटर व्यक्तिगत रिकर्भमा प्रतिस्पर्धा गरेका जितबहादुर रेङकिङ राउन्डमा ६०औं स्थानमा आएका थिए । जितबहादुरले नकआउट राउन्डमा मंगलबार प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा नेपालले आर्चरी खेलमा भाग लिएको यो पहिलोपटक हो ।

रियो ओलम्पिकमा नेपालबाट आर्चरी, जुडो र तेक्वान्दोमा वाइल्ड कार्डमार्फत तथा एथलेटिक्स र पौडीमा अनिवार्य कोटामार्फत सहभागिता सुनिश्चित गरेको थियो । एथलेटिक्सतर्फ हरिकुमारले पुरुष पाँच हजार मिटरमा भाग लिनेछन् ।

रिमाल १२औं सागका कांस्य पदक विजेता हुन् । एथलेटिक्समै सरस्वतीले महिला १५ सय मिटरमा प्रतिस्पर्धा गर्नेछिन् । यसैगरी पौडीतर्फ शिरीषले एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पौडीमै गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिका १२औं सागकी एक रजत र तीन कांस्य पदक विजेता हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.