ह्याप्पी फ्रेन्डसिप डे
![ह्याप्पी फ्रेन्डसिप डे](https://annapurnapost.prixacdn.net/media/albums/Friendship-57a6b0bb78bf03.96147004_7wCZCl7udv.jpg)
भाइबहिनीहरू, आज अंग्रेजी महिना अगस्टको पहिलो आइतबार अर्थात् विश्व मित्रता दिवस । यस दिनलाई विश्वभरका मानिसले आफ्ना प्यारा साथीहरूलाई शुभकामना र उपहार दिनुका साथै फ्रेन्डसिप ब्यान्ड आदानप्रदान गरेर मनाउने गर्छन् ।
मानिसको जीवनमा एउटा असल मित्रले ठूलो महत्त्व राख्छ । साथीबिनाको संसार हामी कल्पनासम्म पनि गर्न सक्दैनौं होला । बिहान उठेदेखि बेलुकीसम्म साथीको साथ र महत्त्व उत्तिकै हुन्छ । विद्यालय नगइन्जेल घर वरिपरिका साथीसँग रमाउने बानी हुन्छ भने विद्यालय पुगेपछि विद्यालयमै थुप्रै साथीसँग पढाइ र खेलकुदमा समय बितेको पत्तो हुँदैन । त्यसैगरी घर फर्किएपछि पनि गृहकार्य र पढाइ सकाएर खेल्ने साथी हामी सबैलाई उत्तिकै प्यारो लाग्छन् ।
सँगै बसेर पढ्न, खेल्न, खान, घुम्न र रमाइलो गर्नमात्रै साथी चाहिने होेइन । साथीलाई हामीले आवश्यक पर्दा धेरै गोप्य कुराहरू पनि बाँड्न सक्छौं । हामीले जीवनमा गरेका गल्ती होस् या राम्रा काम, यसका बारेमा पहिलो जानकारी साथीलाई नै दिने गर्छौं ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि असल मित्रले हाम्रो साथ छाड्दैनन् र हामीभित्रको आत्मविश्वासलाई जगाइराख्छन् । साथीले हामीलाई जस्तोसुकै रूप र परिस्थितिमा पनि देखेका हुनाले उनीहरूसँग हामी कहिल्यै कुनै पनि प्रकारको संकोच मान्दैनौं र जहिले सहज नै महसुस गर्छौं ।
कक्षाकोठाको बेन्चमा सँगै बस्नेमात्रै होइन, जुनसुकै बेला पनि हाम्रो एक्लोपनामा साथ दिने व्यक्ति हाम्रा साथी नै हुन् । हामीले साथीसाथीको सर्कलमा विभिन्न गोप्य शब्दहरू प्रयोग गरेर कुरा गर्ने गर्छौं । आफूलाई मन नपर्ने शिक्षक होस् वा अन्य कोही मानिसका बारेमा कुरा काट्दै हाँसीमजाक गर्नमा साथ दिने व्यक्ति पनि हाम्रै साथी हुन्छन् ।
हामीले बोलेका राम्रा र नराम्रा जुनसुकै कुरा पनि धैर्यपूर्वक सुन्ने गर्छन् साथीले । हामीले जस्तोसुकै मुडमा बोलेका कुरालाई साथीले मूल्यांकन नगर्ने हुनाले साथीसामु बिनाकुनै हिच्किचाहट बोल्न सक्छौं ।
सुखमा मात्रै नभई जीवनमा आइपर्ने हरेक दुःखमा साथीले नै साथ दिन्छन् । पीडा परेको बेलामा रुनलाई चाहिने काँध पनि साथीले नै दिन्छन् । हामीले जीवनमा जस्तोसुकै निर्णय गरे पनि त्यसमा साथ दिने व्यक्ति हाम्रा साथी नै हुन् । उनीहरूले कुनै पनि नयाँ योजना र काममा हामीलाई हौसला दिने गर्छन् ।
हामीलाई हाम्रा अभिभावकले माया गर्नुहुन्छ किनकि हामी उहाँहरूका सन्तान हौं । तर, साथीले हामीलाई बिनकुनै सर्त र आशमा हामीलाई माया गर्छन् । हामीले सम्भव छैन भनेर आँट्न नसकेका काम पनि साथीको प्रेरणाले सम्भव बनाउन सकिने हुनाले साथीसँगको संगतले जीवनलाई रमाइलो र सार्थक बनाउँछ ।
हामीलाई जति बेला चाहिए पनि उपलब्ध हुने सम्बन्ध हो, साथी । त्यसैले भाइबहिनीहरू, हामीले पनि आफ्नो साथीलाई सधैं माया गर्नुपर्छ । उनीहरूको असल काममा सधैं साथ दिनुपर्छ भने नराम्रो काममा सम्झाउन सक्नुपर्छ । साथीको साथले तिमीहरू सबैको जीवन रमाइलो होस् । यही हाम्रो शुभकामना । ह्याप्पी फ्रेन्डसिप डे !
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)