पशुपतिमा विद्यार्थीको सेवा
काठमाडौं: हिन्दु धर्मावलम्बीको पवित्र मन्दिर पशुपतिनाथमा साउनको सोमबार दर्शनका लागि आएका दर्शनार्थीको यात्रा सरल र छिटो बनाउन काठमाडौं जिल्लाका विभिन्न विद्यालयका स्काउट भाइबहिनी हरेक सोमबार एकाबिहानैदेखि खटिइरहेका छन् ।
साउनको तेस्रो सोमबार बेबिलोन नेसनल उच्च माविका स्काउट गुरु रञ्जनलाल श्रेष्ठको नेतृत्वमा ४० जना स्काउटले पशुपतिनाथ मन्दिरमा गएर सेवा दिएको विद्यालयका प्रिन्सपल राजु राईले बताए ।
यो वर्षको साउनमा पाँचवटा सोमबार परेकाले पशुपतिनाथ मन्दिरमा अन्य दिनको तुलनामा बढी भीड हुन्छ । साउन पाँचवटा सोमबारका दिन व्रत बसी भगवान् शिवको पूजाआराधना गर्दा धर्म हुने विश्वास गरिन्छ ।