मछिन्द्रनाथ जात्रामा स्काउट
ललितपुर: नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा र त्यसको अन्तिम दिन जाउलाखेलमा भोटो देखाउने जात्राका लागि ललितपुर जिल्ला स्काउटले पाँच सय ७५ जना स्काउट परिचालन गर्यो ।
जात्राको अन्तिम दिन गत शुक्रबार जाउलाखेलमा देखाइएको भोटोजात्रा हेर्न राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदमा बस्ने व्यक्तिहरूका साथै हजारौं सर्वसाधारण जाउलाखेल पुगेका थिए ।
ललितपुर जिल्ला स्काउटका सामुदायिक विकास आयुक्त केशव महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको जात्रा तथा भोटो देखाउने दिनसम्म ललितपुरका विभन्न विद्यालयका २० वटा स्काउट ट्रुपबाट गरी चार सय ९० जना स्काउट, ५० जना रोभर रेन्जर तथा ३५ जना स्काउट मास्टरलाई खटाइएको थियो ।
भोटो जात्रा शिविरको संयोजक भने त्रिपद्म स्काउट ट्रुपका स्काउट मास्टर पवन कोइराला थिए ।