बालविवाह अभियान देशव्यापी
काठमाडौं: सबैभन्दा बढी बालविवाह हुने सप्तरी जिल्लालाई आगामी पाँच वर्षभित्र बालविवाह तथा दाइजोप्रथा मुक्त जिल्ला बनाइने भएको छ ।
बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले आफ्नो आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रममा अभियानका संयोजक राजकुमार महतोले सम्बन्धित सबै संघसंस्थाको साथ लिएर एउटा मास्टर प्लानसहित पाँच वर्षभित्र बालविवाह र दाइजोमुक्त जिल्ला बनाइने बताए ।
अभियानको कार्ययोजनाअन्तर्गत नेपाल सरकाले तयार पारेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को प्रभावकारी कार्यान्वयन गराउन वकालत तथा प्राविधिक सहयोग गर्ने, दाइजोविरुद्धका मजबुत कानुन निर्माण गर्न नेपाल सरकारलाई सहयोग गर्ने, नेपाल र भारतबीचको परापूर्व कालदेखि रहिआएको रोटीबेटीको सम्बन्धलाई ध्यानमा राखी दुवै देशबीच बालविवाह एवं दाइजो अन्त्यका लागि संयुक्त सहकार्यको विकास र सुदृढ गर्न अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्नेलगायतका १६ बुँदे कार्यक्रम छन् ।
हाल बारा, पर्सा, धनुषालगायतका जिल्लामा रहेका जिल्ला च्याप्टर विस्तार गरी १५ वटा जिल्लामा पुर्याइने भएको छ । सन् २००५ बाट धनुषाको एउटा विद्यालयबाट सुरु भएको यस अभियानमा सन् २०१४ देखि सदस्यता दिन थालिएको हो । हाल दुई वर्षको अवधिमा देशभरि दस हजार व्यक्ति र एक सय १५ संस्था अभियन्ता सदस्य भइसकेका छन् ।