पहिलो स्वर्ण अमेरिकी किशोरीलाई

पहिलो स्वर्ण अमेरिकी किशोरीलाई

रियो दि जेनेरियोः रियो ओलम्पिकको पहिलो स्वर्ण पदक अमेरिकी सुटर भर्जिनिया थ्रासरले जितेकी छिन् । १९ वर्षीया थ्रासरले १० मिटर एयर राइफल स्पर्धामा स्वर्ण पदक जित्दै पहिलो अन्तर्राष्ट्रिय सफलता हात पारेकी हुन् । चिनियाँ खेलाडी तथा पूर्वविश्व च्याम्पियन दु ली दोस्रो स्थानमा रहिन् । ली सन् २००६ की विश्व च्याम्पियन हुन् । साबिक विजेता चिनियाँ खेलाडी यी सिलिङले कांस्य पदकमा चित्त बुझाइन् ।

यसैगरी रुसका जुडो खेलाडी बेसलान मुद्रानोभले रियो ओलम्पिकमा देशका लागि पहिलो स्वर्ण पदक जितेका छन् । ६० केजी तौलस्पर्धामा उनले फाइनलमा साबिक विजेता येल्दोस स्मेतोभालाई हराए । निकै विवादपछि ओलम्पिकमा सहभागिताको अवसर पाएको रुसका दुई सय ७१ खेलाडीले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

राज्य प्रायोजित डोपिङ भेटिएको आरोप लागेको रुसका केही खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिक खेल्न प्रतिबन्ध लगाएपछि उनीहरू सहभागी हुनबाट पाएनन् । जुडोकै महिला ४८ केजी तौलसमूहमा अर्जेन्टिनी खेलाडी पाउलो पारेटो पहिलो भइन् । उनी विश्व च्याम्पियन पनि हुन् । ३० वर्षीया पारेटोले फाइनलमा दक्षिण कोरियाकी बोकेयोङ जियोङलाई हराइन् । जारी प्रतियोगितामा अर्जेन्टिनाले जितेको यो पहिलो पदक हो ।

यसैगरी भारोत्तोलनमा थाइल्यान्डले स्वर्ण पदक जितेको छ । महिला ४८ केजी तौलसमूहमा थाइल्यान्डकी सोपिता तानासानले कुल दुई सय केजी भार उठाइन् । एक सय ९२ केजी तौल उठाएकी इन्डोनेसियाकी श्री वाइयुनी अगुस्तियानी दोस्रो भइन् । २१ वर्षीया तानासानले स्न्याचमा ९२ केजी र क्लिन एन्ड जर्कमा एक सय आठ केजी भार उठाएकी हुन् ।

ओलम्पिकमा भियतनामलाई पहिलो स्वर्ण

भियतनामले ओलम्पिक खेलकुदमा पहिलो पटक स्वर्ण पदक जितेको छ । पुरुष १० मिटर एयर पेस्तोलमा भियतनामका सुटर भिन हुवान होआङले स्वर्ण पदक जितेका हुन् । उनले दुई सय दुई दशमलव पाँच अंक प्राप्त गरे । उपाधिको दाबेदार मानिएका घरेलु खेलाडी फिलिप उले रजत पदक जिते । जारी प्रतियोगितामा ब्राजिलका लागि फिलिपले पहिलो पदक जितेका हुन् । उले दुई सय दुई दशमलव एक अंक हात पारे । एक सय ८० दशमलव चार अंक बटुलेका चीनका पाङ वेईले कांस्य पदक हात पारे ।

यसैगरी जापानका पौडीबाज कोसुके हागिनोले चार सय मिटर इन्डिभिजुअल मेड्ली स्पर्धामा स्वर्ण पदक जितेका छन् । गत संस्करणमा कांस्यमा सीमित रहेका हागिनोले चार मिनेट ०६.९५ सेकेन्ड समय निकाले । उक्त स्पर्धामा अमेरिकाका चेज कालिस चार मिनेट ०७.७५ सेकेन्ड समय निकालेर दोस्रो भए । जापानकै दैया सेतोले कांस्य पदक जिते ।

पुरुष चार सय मिटर फ्रिस्टाइल स्पर्धामा अस्ट्रेलियाका मार्क हर्टनले पहिलो स्थान हात पारे । उनले तीन मिनेट ४१.५५ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । साबिक विजेतासमेत रहेका चिनियाँ खेलाडी सुन याङ तीन मिनेट ४१.६८ सेकेन्डसहित रजतमा सीमित भए । अन्तिम ५० मिटरमा हर्टनले सुनलाई उछिनेका थिए । इटालीका गाब्रियल डेट्टीले कांस्य पदक जिते ।

यसैगरी अस्ट्रेलियाले महिला एक सय गुना चार मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्ण पदक जितेको छ । अस्ट्रेलियाले तीन मिनेट ३०.६५ सेकेन्ड समय निकालेर विश्व कीर्तिमानसमेत बनायो । अस्ट्रेलियाली टोलीमा एमा म्याकियन, ब्रिटानी एल्मस्ली, ब्रोन्टी क्याम्पबेल र केट क्याम्पबेल थिए । उक्त स्पर्धामा अमेरिकाले रजत पदक जित्यो र भने क्यानडाले कांस्य हात पार्‍यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.