रियो अलम्पिकमा अाज नेपालका तीन खेल

रियो अलम्पिकमा अाज नेपालका तीन  खेल

काठमाडौँ: ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा मंगलबार नेपालका तीनजना खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार नेपालका जितबहादुर मोक्तानले आर्चरीको ६४ खेलाडीबीचको प्रतिस्पर्धामा आफ्नो कौशल प्रदर्शन गर्नेछन् । यसैगरी शिरीष गुरुङले पौडीको एक सय मिटर फ्रिस्टाइलमा र जुडोकी फुपूह्लामु खत्रीले महिलातर्फको ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

आर्चरीको ७० मिटर व्यक्तिगत रिकर्भमा सहभागिता जनाएका मोक्तानले र्‍याङ्किङ राउन्डमा ६० औं स्थान बनाएका थिए । र्‍याङ्किङ राउन्डमा उनले जिम्बावे, लिबिया, मालवी र टोंगाका खेलाडीलाई पछाडि पारेका थिए । जितबहादुरले ६४ खेलाडीबीचको प्रतिस्पर्धामा भारतका अतानु दाससँग भिडन्त गर्नेछन् । र्‍याङ्किङ राउन्डमा दासले पाँचौं स्थान हात पारेका थिए । यस स्पर्धाको फाइनल खेल अगस्ट १२ तारिखमा हुनेछ ।

यसैगरी, पौडीबाज शिरीषले मंगलबार हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकमा सहभागिता जनाउनु नै ठूलो उपलब्धि मानेका शिरीषले आफ्नो स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेका छन् । ‘मेरो खेल पहिलो हिटमा परेको भए सजिलो हुन्थ्यो होला । दोस्रो हिटमा परेकाले केही अफ्ठ्यारो ठानेको छु । त्यैपनि म नयाँ राष्ट्रिय कीर्तिमान बनाउने हिसाबले खेल्नेछु’, शिरीषले अनलाइन सम्पर्कमा अन्नपूर्ण पोस्ट्सँग भने ।

यसैगरी, नेपालकी चर्चित जुडो खेलाडी फुपूले ६३ केजी तौलसमूहमा क्युवाकी मारिसेट इस्पिनोसासँग प्रतिस्पर्धा गर्नेछिन् । हरेक खेलमा पूरै समय रिङमा टिक्ने लक्ष्य लिएकी फुपूले वाइल्ड कार्डमार्फत रियो ओलम्पिकको यात्रा तय गरेकी हुन् । उनले रियो ओलम्पिकको तयारीका लागि ६ महिना हंगेरीमा ओलम्पिक छात्रवृत्तिमा अभ्यास र प्रशिक्षणको मौका पाएकी थिइन् । फुपूले १२ औं सागमा जुडोमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

रियो ओलम्पिकमा नेपालबाट पाँच खेलका सातजना खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंहको ओलम्पिक यात्रा भने हिट चरणबाटै टुंगिएको छ । ओलम्पिकमा सहभागी ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी गौरिका महिला एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ३४ जना खेलाडीमध्ये ३१ औं भएकी थिइन् । उनी आफ्नो हिटमा भने पहिलो भएकी थिइन् ।

यसैगरी, नेपालबाट एथलेटिक्समा हरिकुमार रिमाल र सरस्वती भट्टराईले पनि ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । एथलेटिक्सका खेलहरू अगस्ट १२ तारिखपछि मात्रै सुरु हुनेछन् । रिमालले पुरुष पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् । १२ औं सागमा कांस्य पदक जितेका रिमाल अनिवार्य कोटामार्फत ओलम्पिकमा छनोट भएका हुन ्। पाँच हजार मिटर हिट चरणको प्रतिस्पर्धा अगस्ट १७ तारिखमा हुनेछ ।

यसैगरी, सरस्वतीले महिला १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती पनि अनिवार्य कोटामार्फत ओलम्पिकमा सहभागी भएकी हुन् । उक्त स्पर्धाको फाइनल खेल अगस्ट १६ तारिखमा हुनेछ । रियो ओलम्पिकमा नेपालले आर्चरी, जुडो र तेक्वान्दो खेलमा वाइल्ड कार्डमार्फत तथा एथलेटिक्स र पौडीमा अनिवार्य कोटामार्फत सहभागिताको अवसर पाएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.