सिन्धुलीमा नवीकरणीय ऊर्जाको प्रयोग बढ्दो
सिन्धुलीः पोखरी गाविसको लुम्तिकी खिनाकुमारी पहाडी आजभन्दा ६ महिना अघिसम्म बिहान भाले बास्न नपाउँदै जाँतो पिस्न सुरु गर्थिन् । उज्यालो हुँदा एक डालो सामल जाँतोबाटै पिस्नु पर्दा हात पाखुरी र कम्मर दुःख्ने समस्याले सताइरहन्थ्यो ।
त्यतिमात्र हैन पहाडीलाई साँझ बिहान सलेदोको टुकीकै उज्यालोमा धुवाँमा खान पकाउनेलगायतका घरधन्दा गर्नु पर्ने बाध्यता थियो । यसले उनको स्वास्थमा पनि गम्भीर असर गरिसकेको थियो । तर, हिजोआज पहाडीको दैनिकी फेरिएको छ । गाउँमा स्थानीयकै पहलमा ग्रामीण लघुजलविद्युत् सञ्चालनपछि घरमा बिजुली बत्ती बलेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा उनले आधुनिक प्रविधिको विद्युतीय मिल पनि सञ्चालन गरेकी छन् । सुधारिएको चुल्हो निर्माण गरिएको छ । ‘गाउँमा बत्ती बलेपछि मेरो जीवनमा पनि उज्यालो छाउँदै गयो', पहाडीले भनिन्, ‘अहिले आधारातमै उठेर जाँतो पिस्नु पर्दैन ।
घरमा बिजुली बत्ती जोडेकी छु । सुधारिएको चुल्हो बनाएपछि धुवाँमा बसेर घरभित्रको काम गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।' गाउँमा सुधारिएको नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले समयको बचतसँगै आम्दानी समेत हुन थालेको उनी बताउँछिन् । ‘घरभित्रको धुवाँले खोकी लाग्ने, दम बढ्ने समस्या हुन्थ्यो । जाँतो पिस्दा ढाड कम्बर दुःख्ने समस्या हुन्थ्यो ।
उता यस्ता घरभित्रका काममा प्रायः महिलाले गर्नु पर्ने बाध्यता हुने भएकाले वैकल्पिक नवीकरणीय ऊर्जाको प्रयोगले महिलाको जीविका निर्वाहमा परिवर्तन ल्याउन मद्दत पुर्याउने ग्रामीण प्रविधि केन्द्र (सीआरटी)की डा.इन्दिरा शाक्य बताउँछिन् ।
तर, घरमा विद्युत जडानपछि परम्परागत काम आधुनीकीकरण गरेका छौं । यसले धेरै फाइदा पुगेको छ', उनले खुसी व्यक्त गरिन् ।मेसिनबाट काम गर्दा स्वास्थमा सुधार आएको छ । धुवाँमा बस्नु पर्ने बाध्यताको अन्त्य हुँदा खोकी लाग्ने, दम बढ्ने, आँखा दुख्ने जस्ता समस्या पनि कम हुँदै गएको छ ।
पहाडीको मात्र हैन पछिल्लो समय जिल्लामा नवीकरणीय ऊर्जा प्रविधिको जडानले महिलाको जीवनमा परिवर्तन आउन थालेको छ । जिल्लामा सञ्चालनमा आएका लघु जलविद्युत्, सुधारिएको चुल्हो, साना जलविद्युत, सुधारिएको पानी घट्ट, साना घरेलु सौर्य ऊर्जा प्रणाली, घरेलु वायोग्यास प्लान्टलगायतका नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले महिलाको जीविकामा परिवर्तन आउनुका साथै समयको बचत र खर्चमा न्युनीकरण समेत हुन थालेको हो ।
ग्रामीण जलविद्युत्ले आफ्नो जस्तो गाउँका प्रायःसबै घरभित्रको घरधन्दा गर्ने महिलाको दैनिकीमा परिवर्तन ल्याएको पहाडी बताउँछिन् ।
जिल्लामा पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्नेको संख्यामा वृद्धि भएसँगै महिला र बालबालिकाको स्वास्थमा सुधार आउनुका साथै समयको बचत र आम्दानीको स्रोत समेत बन्न थालेको हो ।
जिल्लामा हालसम्म ४५ प्रतिशत घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको छ । जिल्लाको कुल ५७ हजार सात सय घरधुरी मध्य २५ हजार नौ सय २९ घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको जिल्ला विकास समिति सिन्धुलीको एक अध्ययनले देखाएको छ ।
उनीहरूले ग्रामीण स्तरमा लघु जलविद्युत्, सुधारिएको पानी घट्टा विद्युतीकरण, घरेलु सौर्य विद्युत् प्रणाली, साना घरेलु सौर्य विद्युत् प्रणालीबाट विद्युत् उत्पादन गरी, बत्ती बाल्ने, विभिन्न घरेलु उद्योग, मेसिन सञ्चालन गर्दै दैनिक कार्यमा मेसिनद्वार सञ्चालन गरी सुविधा लिन थालेको जिविसअन्तरगत ऊर्जा तथा वातावरण शाखा सिन्धुलीका प्रमुख सन्दिप उपाध्याय बताउँछन् ।
जिल्लामा २० हजार नौ सय ५३ घरपरिवार भने राष्ट्रिय प्रसारण लाइनमा आवद्ध भइसकेका छन् ।
‘वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा परम्परागत शैलीमै दैनिकी चलाउनुपर्दा स्वास्थमा समस्या आउनुका साथै, समय र लगानीमा समेत खर्च बढ्ने गरेकोमा नवीकरणीय ऊर्जाका कारण हिजोआज खर्चको बचत हुनुका साथै स्वास्थमा समेत सुधार आउन थालेको छ', उपाध्यायले भने । उनका अनुसार यसबाट सबभन्दा धेरै महिला तथा बालबालिका र वृद्धवृद्धालाई फाइदा पुगेको छ ।
सरकारले सञ्चालन गरेको घरभित्रको धुवाँमुक्त गाविस घोषणा अभियान अन्र्तगत सिन्धुलीका तीन गाविस अमले, भुवनेश्वरी र बितिजोर गाविस घोषणा भइसकेका छन् ।
धुवाँका कारण विश्वमा प्रति २० सेकेन्डमा एक जनाको ज्यान जाने गरेको तर्क गर्दै उनले भनिन्, ‘घरभित्रको धुवाँमा गुम्सेर घरधन्दा गर्ने धेरैजसो महिला भएकाले त्यसको असरमा महिला नै पर्ने गरेका छन् । तर, पछिल्लो समय नवीकरणीय ऊर्जाको प्रयोगमा वृद्धि आएसँगै नेपालमा भने महिलाको जीविकोपार्जनमा सकारात्मक प्रभाव पर्दै जान थालेको छ ।
जिल्लामा वैकल्पिक ऊर्जाको प्रयोगले महिलाको स्वास्थमा उल्लेखनीय सुधार आउने चिकित्सक समेत बताउँछन् । घरभित्र र बाहिरको काम, धुवाँले महिला, बालबालिका तथा गर्भवती र सुत्केरी आमाहरूमा गम्भीर प्रकारका समस्या देखा पर्नेगरेको विभिन्न अध्ययनले देखाएको भन्दै वैकल्पिक ऊर्जाको प्रयोगले सुधार ल्याउने उनीहरूको तर्क छ ।
जिल्लामा लघु जलविद्युत्बाट तीन हजार दुई सय ३३, सुधारिएको पानी घट्टाबाट १८ हजार एक सय ५६ घरधुरी, साना घरेलु सौर्य ऊर्जा प्रणालीबाट एक सय ३९ घरधुरी, सामुदायिक सौर्य विद्युत् पम्पबाट दुई सय २१ घुरधुरी, घरेलु बायोग्यास प्लान्टबाट आठ हजार तीन सय ९६ घरधुरी, सुधारिएको चुल्होबाट १३ हजार पाँच सय ७२ घरधुरीका महिलाको जनजीविकामा सुधार ल्याएको जिविस सिन्धुलीले जानकारी दिएको छ ।
इन्फोजिल्लामा हालसम्म ४५ प्रतिशत घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको छ । जिल्लाका कुल ५७ हजार सात सय घरधुरी मध्य २५ हजार नौ सय २९ घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको छ ।