'यदि मैले गितार नसमाएको भए ...'

'यदि मैले गितार नसमाएको भए ...'

'आफूलाई एउटा कुरा भनौं ? ' साउनको झरिलो साँझ प्रश्न गर्ने निहुँमा पुगेको मलाई सुरुमै सोधे उनले । अनि हाम्रो सो कल्ड अन्तर्वार्ता गफगाफमा फेरियो । लज्जालु स्वभावका उनी गफगाफमा बढी खुले । 'अफ द रेकर्ड' भन्दै उनले जीवनका धेरै तीतामीठा अनुभव बाँडे । कुराकानीमा यी 'जिनियस'को जिब्रोबाट फुत्तफुत्त निस्केका शब्दले मेरो मस्तिष्कलाई अझै पनि हम्मरले झैं हानिरहेछन् ।

जीवन अनुभवको सार खिच्दै भनेका थिए उनले- 'कलाकारको लाइफ स्पार्क (झिल्को) हो । मसँग हजारौं कम्पोजिसन होला । तर मसँग त्यस्तो स्पार्क हुनुपर्छ जसलाई मेरो जेनेरेसनले माया गरोस् । नेक्स्ट जेनेरेसनले सम्झोस् । जस्तो पायो त्यस्तो गाएर हुँदैन ।'

अहिले उनी त्यहीँ स्पार्क खोजिरहेछन् । राति सुतेको बेलामा पनि मनमा धुन आएपछि उठेर गितार बजाउन थाल्छन् । तर उनकी श्रीमती भन्दिन्छिन्- त्यो स्पार्क होइन ।

'म गीतमा आर्किमिडिजले जस्तो 'युरेका' भन्न चाहन्छु' उनी भन्छन्, 'म दुइटा जेनेरेसन जोड्ने गीत खोजिरहेको छु ।' त्यसैले त दुई वर्षदेखि कुनै गीत कम्पोज गरेका छैनन् । इलेक्ट्रिक गितारमा इन्स्ट्रुमेन्टल गरिरहेछन् । स्पार्क खोजिरहेछन् । तर उनी केवल गितारमात्र बजाई बस्दैनन् । भन्छन्, 'म दिनभर घरमा बस्छु । तर, घरै बसेकी मेरी बूढीले टाइम नै पाउँदिन । कि त गीत प्राक्टिस गरिरहेको हुन्छु । नभए क्वान्टम फिजिक्स पढिरहेको हुन्छु ।'

 

हो, गितारमा स्पार्क खोजिरहेका उनको अर्को रुचि भौतिक विज्ञान हो । त्यसमा पनि क्वान्टम फिजिक्स अर्थात् बीसौं शताब्दीको पहिलो दशकमा जन्मिएको आधुनिक विज्ञान जसको जगमा अहिलेको सम्पूर्ण विज्ञान प्रविधि उभिएको छ । जसको आँखाले अहिले संसार ब्रह्माण्डको रौंचिरा छामिरहेछ । स्पार्कको खोजीमा यो अध्ययनले पनि उत्तिकै भूमिका खेलेको छ । सत्यबोधलाई संगीतको तरंगमा उतार्न सिकाएको छ ।

असलमा उनले गजबै कुरा गरेका हुन् । लाग्यो- यिनलाई जिनियस भनेर मैले गल्ती गरिनँ ।

यी जिनियसको नाम हो- नवीन के भट्टराई अर्थात् नेपाली पपसंगीतका एक हस्ती । तर यी अचेल चर्चामा छैनन् । समयको मौन गल्लीमा गितार बोकेर आफ्नै दुनियाँमा हराइरहेछन् अर्थात् स्पार्कको खोजीमा । बजारमा नयाँनयाँ अनुहारहरू आइरहेछन् । भट्टराईकै शब्दमा भन्दा, 'नयाँ टिसर्ट लगाएर गीत गाउनेहरू' ।

000

झमझम पानी परिरहेको झम्के साँझमा हामी गफिइरहेछौं । घडीमा दौडिरहेका सुईलाई वास्ता नगरी । मिनेट र घन्टाको कुनै ख्याल नै नगरी ।

एक युवती र नाकमुनि जुंगाको रेखी बस्दै गरेको युवक अघिदेखि नवीनलाई हेरिरहेका छन् । भर्खरसम्म बजिरहेको कुनै अंग्रेजी गीत बन्द भई स्वर नभएको इन्स्ट्रुमेन्टल धुन अलि परबाट गुञ्जिरहेको छ ।

बाहिर दर्किरहेको झरीले वातावरण बिस्तारै अँध्यारो देखिँदै छ । त्यसैले पुतलीसडकको दोस्रो तलामा अवस्थित यो कुमारी क्याफेमा बत्ती बल्न थालेको छ । कुमारी क्याफेको यो साँझमा यी गैर कुमारका केही नोस्टाल्जिक र सुमधुर गीत सुन्ने मुडमा छु । अँ, गैर कुमार । उनले खण्डन गर्दै सम्झाए मलाई, जब मैले भनेँ- नवीन कुमार । खण्डन गरे- 'नवीन के. ब्रो, नवीन के. । कुमार त उहिल्यै सक्किगो' । यति खुलेर बोल्ने त होइनन् उनी । तर आज मुडले बोल्ने बनायो । यो मुडमा म सुन्न चाहन्छु उनकै गीत । सायद साँझको गीत ।

'साँझपख एकान्तमा आफैंलाई बिर्संदा
मग्न हुन्छु म तिम्रो गीत सम्झेर'

गीतसँगै सम्झिन्छन् उनी इन्साइड स्टोरी । भन्छन्- 'साथी मनोज आचार्यसँग सौराहा पुगेर प्रकृति हेरेपछि दिमागमा गीतले बास गर्‌यो । एक्कासि गितार बजाउँदा मनोजले यो गीत लेख्यो । अहिले दस वर्षपछि म मेरो त्यो गीतको जन्मस्थान पुग्दा त त्यहाँ कुनै होटेलको एकजना वेटर उभिएको थियो- हातमा मेनु लिएर । अब त त्यहाँ बस्न पनि पैसा तिर्नुपर्ने भएछ । प्रकृति पुज्न पनि पैसा तिर्नुपर्ने भएछ । सरकार सबथोक बेच्न चाहन्छ ।'

म सोध्न चाहन्छु गीतको शब्दमा कसको तस्बिर छ ? तर, सोध्दिनँ । नवीनको अर्को इपिसोड सुरु भइसकेको हुन्छ । खासमा हामी र्‌यान्डम गफ गरिरहेछौं । मैले सोकल्ड अन्तर्वार्ताको मुडअघि नै ढोकाबाहिर हुत्याइसकेको छु । जसरी जीवन चल्छ र्‌यान्डम मुडमा, त्यसरी नै कुराकानी वा लेखन पनि र्‌यान्डम किन नहोस् ? तर नवीनलाई भने यो सहर नै एउटा तालमा चलिरहेको लाग्छ ।

०००

जीवनका विरोधाभाषी रङमा खेल्ने यो आम सहरमा नवीनले जीवनका चार दशक बिताएका छन् । यो सहरसँग उनका केही खुसी, केही दुःख, केही हाँसो र केही सपनाका रङ मिसिएका छन् । यो सहर आफैंमा केही खास छ । उनलाई काठमान्डु सहर यस्तो लाग्छ- यहाँका आदिम गल्लीहरू र मन्दिरहरूमा घन्टाको ध्वनि उच्चारित हुन्छ, शंख आवाजले देवता घरहरूमा प्रवेश गर्छन् । यहाँ त बच्चाहरू पनि सुरमा रुन्छन्, वर्षात् पनि तालमा वर्षन्छ ।

यहाँका मन्दिरहरू भजनले भरिएका छन् । पुराना नेवारी बस्तीहरूमा रात-साँझ तबला र हार्मोनियमको सुरमा देवता परिभ्रमण गर्छन् । सहरका पुराना बस्ती जुनैबेला संगीतको तालमा मस्त हुन्छ, गाँजामा झुलिरहेको जोगीजस्तो । केही जादु छ, नत्र यत्तिको संगीत कसले ल्याएर भरिदियो यो सहरको नशामा ?

यो एक साधारण मान्छेको साधारण कथा हो । तर, पाठक यी गायकलाई असाधारण भनिदिन सक्छन् । आफैंलाई चाहिँ 'अति साधारण' भन्दारैछन् उनी । उनैलाई लाग्छ- यो कथा नलेखे पनि हुने हो । तर, नलेखी नहुने केही छन् उनका (कम्तीमा मलाई यस्तो लाग्छ ।)

०००

'शब्दलाई आत्माको गहिर्‌याइबाट शुद्धसँग उच्चारण गर्न सके त्यो मन्त्र हुन्छ, मेरो कवि ! स्वरलाई ठीक ताप र लय र समयमा बोल्न सके त्यो गीत बन्छ मेरो गायक ! यस्तो धुन र यस्तो गीत जसले आफ्नो युगको निर्माण गर्छ र अर्काको युग निर्देशन ।'

(मृत्युको गीत वाल्जको धुनमा/शंकर लामिछाने)
लामिछानेले लेखेझैं के नवीन के भट्टराईले आफ्नो धुन र गीतबाट आफ्नै युगको निर्माण गरेनन् ?
उनी जीवन खोतल्न थाल्छन् मेरो सामु । म मुक साक्षी बनिदिन्छु । भन्छन्, उनी बिटल्सबाट प्रभावित छन् ।

०००

'द बिटल्स' । ब्रिटेनको लिभरपुलबाट सुरु भएको बिटल्स ब्यान्डलाई पपुलर म्युजिकमा व्यावसायिक दृष्टिमा सबैभन्दा सफल मानियो । यस ग्रुपमा जोन लेनन, पल मेक्कार्टनी, जर्ज हेरिसन, रिंगो स्टार गरी चारजना सामेल थिए । ५ अक्टुबर, १९६२ मा बिटल्सको पहिलो एल्बम 'लभ मि डु' रिलिज भयो र बिटल्स रातारात स्टार बनेर दुनियाँमा छायो ।

बिटल्सका यी र यस्ता कथा सुनेरै, पढेरै नवीनका दिन बिते । रक, पप, ब्लुज, काउन्ट्री, रक एन्ड रोल, काउन्ट्री ब्लुज कति सुने, के हिसाब ? अमेरिकन गायक स्टिव रे, बब डिलन, लन्डनका जोज लेननका आवाज उनको संगीत कक्षमा जुनैबेला गुञ्जिन्थ्यो ।

बिटल्सबाट नवीनले सिकेको कुरा- एक दिन सत्य हुन्छ मिलेर देखेको सपना । नवीनको समूहले ब्यान्ड सुरुवात गरे- द स्टिल ह्विल । बिटल्समा चारजना थिए, 'द स्टिल ह्विल'को पाँच सदस्य भए- कुन्दन पाण्डे, ऋतु पाण्डे, राजेश खड्गी, काजुन पिया र नवीन । नवीन भोकलिस्ट, अरू कोही गिटारिस्ट, कोही किबोरिस्ट...। यसरी नवीनहरूको ब्यान्ड संगीतमा आउँदा यो संगीतको सहरमा सञ्जय श्रेष्ठ सुपर हिट थिए । 'माया मेरी माया' गाउँदै थिए । बहुदलपछिको समय, पपगीतका कन्सर्टले काठमान्डुका डबलीहरू तात्दै थिए । नवीनहरूले पनि व्यापक तताए । तर, अहिले ब्यान्डका सदस्यहरू तितरबितर छन्, नवीन नेपालमा, अरू कोही अमेरिका, कोही बैंककतिर ।

०००

असलमा उनी फुटबल खेलाडी थिए । भन्छन्- तर भाग्यले संगीततिर डोर्‌यायो । अझै पनि मस्तिष्कको कुनामा लागिरहेकै छ- मैले पढ्नुपर्ने एस्ट्रोलोजी र क्वान्टम फिजिक्स नै हो । कतिसम्म भने गीत रियाज गरिरहेको बेला मुड चल्यो भने र्‌याकबाट फिजिक्सको किताब निकाल्छन् त्यही किताबमा घोरिन्छन् । नभए यु ट्युबबाट पढ्छन् ।

उनलाई मिस्टक र म्युजिक दुवै मनपर्छ । मिस्टकलाई समातिरहन सकेनन्, म्युजिकमा भने चुर्लुम्मै डुबे । नेपाल साइन्स कलेजमा फिजिक्सको विद्यार्थी हुँदाहुँदै संगीतमा हेलिएपछि केयूमा म्युजिक पढ्न थाले ।

०००

नवीनले पहिलो गीत गोपाल योञ्जनको स्टुडियो 'गोपालय'मा गरेका थिए, धापासीमा- २०४८/०४९ सालतिर । गोपाल ठूला कला मर्मज्ञ थिए । उनले सोचे- उहाँ कला चिन्न सक्नुहुन्थ्यो । 'गोपालय'मा रेकर्ड भएको गीत थियो- 'जिन्दगी बगेको खोला ।' शब्द थियो- वीरेन्द्रराज तण्डुकारको । गीत सुनेपछि योञ्जनले भने- ओहो भाइ, तिम्रो स्वर त गज्जबको छ ! हौसिएर एल्बम 'जिन्दगी'का सबै गीत त्यहीँ रेकर्ड गरे । रेकर्डिङमै योञ्जनले फेरि भने- 'ओहो भाइ, तिम्रो यो एल्बम सुपर हिट हुन्छ ।'

एल्बम निस्कियो । सुपर हिट त भएन, बरु मेगा-फ्लप भयो । पाँच सयप्रति पनि बिकेन । नवीनलाई लाग्यो- गोपाल दाइले जे पायो त्यही गफ दिएछ ।

उनलाई लागिरहने कुरा छ- केहीमा राम्रो गर्नु छ भने त्यसमा एकेडेमिक नलेज चाहिन्छ । अनि क्लासिकल पनि पढ्नुपर्छ । जस्तो, साहित्यमा राम्रो गर्न पनि क्लासिकल साहित्य पढ्नुपर्छ ।

त्यसैले उनी क्लासिकल म्युजिकको प्रेमी हुन् । भन्छन्- 'मेरा गीतहरू राग र रकको फ्युजन हो ।' उनको विचारमा, गीतमा यस्तो फ्युजन गर्न फिजिक्सले सहयोग गर्‌यो । उनका लागि ग्रिकका म्याथमेटिक्सको पिता पाइथागोरसको थ्यौरी र म्युजिकको नोट उस्तै हो । भन्छन्, 'दुवै एकअर्काका पूरक हुन् ।'

काठमाडौं युनिभर्सिटीमा म्युजिक पढ्दा उनलाई प्रभुराज ढकालले राग सिकाए । ढकाल भूपाली गाउँदै भन्थे- यो भूपाली राग हो भाइ, राति ८ बजेपछि गाउने । भूपाली रागमै उनले 'रात बित्यो हेर तिम्लाई सम्झेर' भन्ने गीत गाए । ढकालले जोग राग सिकाए । उनले त्यही रागमा 'बदनाम भएछु' गाए । र, उनको निष्कर्ष छ- अचेल नयाँ आर्टिस्ट केही नयाँ सिक्ने जाँगर गर्दैनन् ।

अहिलेको पुस्ता र ट्रेन्ड देखेर चिन्तित छन् उनी । पहिले गीत गाउन गाह्रो थियो । अहिले उनको एउटै चिन्ता थपिएको छ- अचेल अरूको गीत रिमिक्स गरेर गाउने सजिलो तरिका आएको छ ।

उहिल्यैको कुरा सम्झिँदा उनी नोस्टाल्जियामा हराउँछन् (अहिले उस्तो सम्झने कुरै हुन छोड्यो उनको जीवनमा । त्यसैले 'उहिल्यै'मा बाँच्नुको आफ्नै विशिष्ट स्वाद होला) । अमेरिकामा थुप्रै लाइभ ब्यान्डमा कन्सर्ट गरे । प्लेनबाट होइन, भ्यानमा सिंगो ब्यान्ड, ड्रम, गितार राखेर- एक वर्षमा २३ वटा स्टेटमा । जाडो मौसममा नेपालबाट हिँडेको, फर्कंदा उखरमाउलो गर्मी सुरु भइसकेको थियो । दूर कन्सर्टबाट फर्किंदा त रिमिक्सको फेसन आएको थियो । टिप्पणी उनको-'भिडियोमा तिघ्रीहरू राखेर चर्चामा आउने चलन आइसकेको रहेछ ।'

भन्छन्- अहिलेका सबै कमर्सियल भइसकेका छन् । कमेन्ट गर्छन्- ट्र्याकमा गाउने चलनले आर्टिस्टहरूमा प्रतिभा हराइरहेछ । उनलाई भयंकर चित्त नबुझ्ने कुरो छ- महोत्सवहरूमा करोडौं कमाइ हुन्छ तर आर्टिस्टलाई ट्र्याकमा गाउन लगाइन्छ ।

उनले गाउन सुरु गर्दा खतरा सिंगरहरू थिए- कर्णदास, विवेक श्रेष्ठ, दीपक वज्राचार्य, मोहन भुसाल, निमा रुम्बा...। नवीनको दाबी छ- उनीहरूले कहिल्यै गीतमा कम्प्रोमाइज गरेनन् । बजारमा बिक्न छोडियो भन्न स्वीकारोक्ति पनि छ नवीनको- 'मेरो जेनेरेसनको सबैभन्दा ठूलो कमजोरी, हामीले कहिल्यै पनि कम्प्रमाइज गरेनौं । कहिल्यै ट्र्याकमा गाएनौं । शब्द छनोट गरेरमात्र पनि गाएनौं । त्यसैले बजारमा बिकेनौं । तर अहिलेका गायकले त कम्प्रोमाइज गरेरै संगीत ध्वस्त पारे ।'

उनी गाउँमा गएर, गरिब मान्छेको गीत सहरमा ल्याएर त्यसबाट करोड कमाउन चाहदिनँ भन्छन् । उनको दाबी छ- 'म पलंगबाट गीत सिर्जना गर्छु ।'

०००

तर उनका कुनै पनि गीत पलंगबाट फुत्त खसेका वा जन्मेका होइनन् । हरेक गीतका आफ्नै कथा छन् । जस्तै केही गीतका इन्साइड स्टोरी सुनाए यसरी-
'खाँदै नखाएको विषले जिउँदै मार्‌यो ...'

-यो लेख्ने गीतकार अमेरिकामा केमेस्ट्री टिचर हुनुहुन्थ्यो । सायद अहिले पनि हुनुहुन्छ । एकदिन मेरो घरमा कसैले घन्टी बजायो । उहाँको नाम राजीवमणि नेपाल । उहाँले भन्नुभयो- नवीन मैले जीवनको फिलिंगको गीत लेखेको छु गाइदिनुपर्‌यो । त्यति भनेर उहाँ गीत छोडेर जानुभयो । दुई मिनेट पनि बस्नुभएन । पछि मैले त्यो गीत गाएँ । हिट पनि भयो । मलाई यो पनि थाहा छैन, उहाँले यो गीत सुन्नुभयो कि भएन !
'मेरो साथ बिताएका याद सबै मेटियो होला नि...'

- यो गीत भूपेन्द्र नीराजनले लेखेको हो । गीत गाएर हिट भइसकेपछि उसँग पनि मेरो भेट भएको छैन । ऊ आयो, गीत दियो, गयो बस ।
'डर लाग्छ, डर लाग्छ...'

-यो गीत लेख्ने भाइ मेरो घरमा धेरैपटक आइरहन्थ्यो र भन्थ्यो- दाइको लागि एउटा गाना लेख्देको, प्लिज गाइदिनुपर्‌यो । मैले वास्तै गरेको थिएन । मम्मीले एकदिन भन्नुभो- 'ए नवीन, यो बाबु यस्तरी आउँछ यसको एउटा गीत गाइदे न' । त्यसपछि गीत छोडेर गएको ऊ १५ वर्षपछि अर्को गीत लिएर आयो । मैले फेरि वास्ता गरिनँ ।
'तिमी हौ मेरो लाखको धड्कन...'

-भर्खरै मेरो बुवा खस्नुभएको थियो । जापानमा बस्ने दाइ रानु श्रेष्ले 'यो गीत लेखेको छु, मन लागे गाउनु' भनेर दिनुभयो । र, गीत 'द ब्लु' एल्बममा राखेँ ।
'ए झरी...'

-डा. अरुण सायमीले 'ल बाबु तिमीले गाइदेउ न' भनेर यो गीत थमाइदिनुभयो । झरीको यो गीत रेकर्ड गर्दा पनि बाहिर झमझम झरी नै परिरहेको थियो । गीतको मास्टरपिस डा. अरुण सायमीको गाडीमा शम्भुजित बाँस्कोटाले ल्याउनुभएको बंगुरको सेकुवा खाँदै सुनेका थियौं, मध्यराति ।

(वास्तवमा साँझपख क्याफेमा बसेका हामी रात गाढा हुँदा पनि निस्किन सकेनौं । बाहिर एकनासको झरीले पुतलीसडक जलमग्न थियो । यो झरीमा नवीनले हामीलाई 'ए झरी' दुई लाइन सुनाए । सुनाउँदा सुनाउँदै 'लाज लाग्यो' भनेर रोकिए । उनी साँच्चि नै अति लज्जालु छन् ।)

०००

लज्जालु नवीन मेहनती पनि छन् । अहिले पनि हरेक दिन आठ घन्टा रियाज गर्छन् । भन्छन्, 'ग्रहदशाहरूलाई आफ्नो मेहनतले झुकाउनुपर्छ ।' मेहनेती हुनु र पैसा कमाउनु फरक कुरा हो भन्छन् उनी । उनको विचारमा- उनी र उनको पुस्ता पैसा कमाउने उद्देश्यले भन्दा पनि नाम कमाउने उद्देश्यले संगीतमा आएको हो । उनलाई अचम्म लाग्ने एउटा कुरो यस्तो छ- अहिले गायक/गायिका र श्रोता दुवैले 'पप नै खत्तम हो' भन्नथाले ।

उनी भन्छन्, 'कला भनेको अभाव हो । पैसा वा इमोसनको अभाव नभई सिर्जना हुँदैन । तर, ममा इमोसनको अभाव छ ।'
उनलाई नेपाली संगीतका हीरानारायण गोपाल, गोपाल योञ्जन, दीप श्रेष्ठहरू लाग्छ । उनको गुनासो छ- मिडियाले राम्रो/नराम्रो छुट्ट्याउन सकेको छैन । गञ्जागोल भइरहेछ ।

उनलाई मनपर्ने एकजना गायक सुरेशकुमार क्षेत्री हो । भन्छन्, 'ऊ दार्जिलिङको नारायणगोपाल हो । उसको 'धेरै धेरै पीरहरूले' भन्ने गीतले धेरै छोएको छ ।'

संगीतमा चुर्लुम्मै डुबेका यी क्यापवाल गायक अहिले फिलोसफिकल गीत गाउन चाहन्छन् । भने, 'मैले लभ सङ्स धेरै गाइसकेको छु । अब केही फिलोसफिकल गाउन चाहन्छु । ताकि आउँदो पुस्ताले युद्ध देख्नु नपरोस् । सबै सुखी, निरोगी होस् । अनावश्यक प्रतिस्पर्धा गर्न नपरोस् ।

त्यस्तै भावले उनले 'कामना'भन्ने गीत गाएँ ।' गाए- 'आजकल आभास हुन्छ मलाई यस्तो÷म निदाएको बेला घर बाढी आई बगाएजस्तो ।' विशाल पौडेलको शब्द, संगीतमा ६ महिना लगाएर बनाएको यो गीत चर्चामा भने छैन । यू ट्युबको कुनामा कतै थन्किएर बसेको छ । गुनासो छ उनको- कहिल्यै मेनस्ट्रिम मिडियाले बजाएन किनभने त्यसमा तिघ्रा देखाइएको भिडियो थिएन ।

०००

नवीनलाई म्युजिकले खुसीमात्रै होइन, डिप्रेसन पनि दिएको छ । जीवनको एउटा चरणमा पुगेपछि उनलाई गीत-संगीतबाट निकै दिक्क लाग्यो । भन्छन्, 'म मेरी बूढीको डिपेन्डेन्टमा अस्ट्रेलिया जान खोजेको थिएँ ।' तर गएनन् । म्युजिकले नै यसरी बाँधेको थियो निस्कनै सकेनन् । र बाँधेको थियो श्रीमतीको प्रेमले नै ।

छाता समाउँदै उनले भने- 'ब्रो, अब जान्छु । झरी पनि बन्द भो होला । घरमा श्रीमती (नवीना राजभण्डारी), नानी वेट गरिराछन् ।'

छुट्टिन हतार गरिरहेका यिनलाई यसपालि चाहिँ इन्टरभ्यु स्टाइलमै सोधेँ मैले- ब्रो गीत नगाएको भए, गितार नसमाएको भए के हुन्थ्यो ?

गम्भीर भए । सोचेँ । र जवाफ दिए- 'यदि मैले गितार नसमाएको भए नि ब्रो, कि म इन्जिनियर हुन्थेँ कि अहिले पनि क्वान्टम फिजिक्स पढिरहेको हुन्थेँ । वा अमेरिकाको कुनै युनिभर्सिटीको कोठामा थुनिएर हिसाब गरिरहेको हुन्थेँ होला ।'
अनि थपे- 'ब्रो मैले यही थिममा गीत पनि गाएको छु ।'

यो गीत उनको लेटेस्ट सङ्ग हो । जसमा उनकै बायोग्राफी समेटिएको छ । भने- 'गीत तयार गर्दा म अस्ट्रेलियामा थिएँ । मेरो रुममा साथी दिपेश श्रेष्ठ आयो । उसले गीत लेखौं भन्यो । मैले पहिलो लाइन भनेको थिएँ 'यदि भित्ता बोल्न सक्ने भए' । उसले तत्कालै क्वाइन गर्‌यो- 'यदि मैले गितार नसमाएको भए ।'

कर गरेपछि अन्तिममा उनले यही गीतको एक स्ट्यान्जा गाए र हामी हरायौं साँझको झरिलो साउने अन्धकारमाः
'प्रितको यो फूल फुल्थ्यो र ?
शब्द यो यस्तो बन्थ्यो र ?
संगीतले तिमीलाई नपछ्याएको भए
यदि मैले गीतार नसमाएको भए...'
०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.