लु

लु

डिनर गरिसकेपछि उज्यालो डाइनिङ रुमबाट दुवैजना बाहिरिए । जहाजको छतमा गए र रेलिङ नजिकै उभिए । उसले आँखा बन्द गरी र उल्टा हत्केलाले आफ्ना दुवै गाला थिची । निष्कपट हाँसी । उसको हाँसोमा मोहनी थियो । यो खिरिली आइमाई निकै हिस्सी परेकी थिई । उसले मस्किँदै भनी, 'म त लट्ठै परेँ । बौलाएँ कि क्या हो ।

तपार्इं कहाँबाट झुल्किनुभयो ? तीन घन्टा अघिसम्म तपाईं हुनुहुन्छ भन्ने अनुमानसम्म पनि थिएन मलाई । तपार्इं कहाँबाट चढ्नुभयो भन्ने सम्झना पनि छैन । सामराबाट हो ? हुन त प्रिय, जहाँबाट चढे पनि के फरक पर्छ र । अहो, मलाई त चक्कर लाग्न थाल्यो । हैन, यो जहाज घुमेर हो कि क्या हो ? '

अगाडिको अँध्यारोमा बत्ती टिलपिलाइरहेका थिए । त्यस अँध्यारोबाट आएको कडा तर शीतल हावाको झोक्का तिनका अनुहारमा ठोक्कियो । जहाज अघि बढ्दै जाँदा बत्तीहरू एकपछि अर्को गर्दै सुल्किँदै गएका देखिन्थे । अगाडिको सानो बन्दरगाह नजिक पुगेपछि भोल्गा नदीको चञ्चलतासँगै जहाज फनक्क मोडियो ।

त्यस लप्टनले उसको हात समायो र आफ्नो ओठसम्म ल्यायो । उसको त्यो खिरिलो तर दह्रो हातबाट घामले डढेको गन्ध आइरहेको थियो । नरम नाइलनको कपडाभित्रको उसको शरीरको कल्पना मात्रले पनि लप्टनको पूरै शरीर आनन्द र व्यग्रताले काँप्यो । समुद्रको तप्त बालुवामा पल्टिएर उसले एक महिनासम्म दक्षिणी घाम तापेकी थिई । यसले पक्कै पनि उसको शरीर निकै दह्रो र पूरै खैरो भएको हुनुपर्छ । अघि नै कुरैकुरामा उसले आफू अनापुमा एक महिनासम्म घाम तापेर फर्केको बताएकी थिई ।

लप्टनले सुस्तरी भन्यो, 'यहीँ ओर्लिऔं ।'
'कहाँ ? ' अचम्म पर्दै उसले सोधी ।
'यहीँ । यही सानो बन्दरगाहमा । '
'किन नि ? '
लप्टन मौन भयो ।
उसले फेरि उल्टा हत्केलाले आफ्ना ताता गाला छामी ।
'बौलाउनुभो कि क्या हो... ।'
'यहीँ ओर्लिऔं ।' उसले निरस भावमा दोहोर्‌यायो । 'बिन्ती... ।'
'लौ । मन लागेको गर्नू ।' मुन्टो बटार्दै उसले भनी ।

मधुरो बत्ती बलिरहेको अगाडिको पोतघाटमा पुगेर जहाज घच्याक्क रोकियो । झट्काले गर्दा ती दुई झन्डै एक अर्कामाथि खप्टिएनन् । जहाजको एउटा लठ्ठाको छेउ तिनका टाउको माथिबाट सुइँय्य गर्दै अगाडि गयो । अनि त्यो सानो जहाज फनक्क घुम्यो । छालहरू किनारामा ठोक्किएको आवाज आयो । यात्रु चढ्ने–ओर्लने भर्‌याङ खट्याक खट्याक गर्‌यो । लप्टन आफ्नो सरसमान लिन दौडियो ।

झटपट तिनीहरू सुनसान पोतघाटबाट बाहिरिए । गोलीगाँठासम्म आइपुग्ने बालुवा टेक्दै केही पर पुगे र धुलैधुलो भएको एउटा टाँगामा चुपचाप बसे । अगाडिको धुलौटे उकालो बाटो अन्त्यहीन झैं देखिन्थ्यो । बाटा किनारामा फाट्टफुट्ट देखिएका ल्याम्प पोस्टहरू टेढा उभिएका थिए । केही समयपछि उनीहरू चढेको टाँगा टाकुरामा पुग्यो । ढुंगा बिछ्याइएको गल्लीमा छिरेपछि कट्कट् गर्दै टाँगा विस्तारै अघि बढ्यो । त्यहाँ एउटा चोक थियो । वरिपरि केही प्रशासनिक भवन थिए र आडैमा चर्चको घन्टाघर । त्यो सानो काँठे सहरमा ती दुवैले गर्मीको रातको गन्ध र ताप सहजै महसुस गरे ।

बत्ती बलेको एउटा खुला प्रवेशद्वारअगाडि टाँगा रोकियो । भित्र काठको ठाडो भर्‌याङ देखियो । दाह्री नकाटेको एउटा कामदार टाँगाअगाडि उभियो । उसले गुलाबी रङको कमिज र फ्रककोट लगाएको थियो । उसले मन नलागी–नलागी झोलाहरू उठायो । थकित पाइला चाल्दै भित्र गयो । लप्टन र खिरिली आइमाई उसका पछिपछि लागे ।

कामदारले उनीहरूलाई निकै ठूलो कोठामा पुर्‌यायो । दिनभरको चर्को घामले गुम्सिएको त्यस बडेमानको कोठाका झ्यालहरूमा सेता पर्दा झुन्डिएका थिए । अँगेनोमाथिको तखतामा ऐना राखिएको थियो । ऐनाको ठीक तलपट्टि दुईवटा मैनबत्ती सजाएर राखिएको थियो । कामदार ढोका तानेर फर्किएको मात्र के थियो लप्टन जोसिएर ऊमाथि हामफल्यो । तड्पिएका ती दुवै हर्षोन्मत्त चुम्बनमा हराए । यस्तो उन्मत्त अनुभव ती दुवैले पहिले कहिल्यै गरेका थिएनन् ।
भोलिपल्ट बिहान १० बजे त्यो आइमाई उसलाई छाडेर आफ्नो एकल यात्रामा निस्की ।

बिहानैदेखि घाम चर्केको थियो । होटेल नजिकैको चर्चमा बजेका घन्टहरूका आवाजले गर्दा गर्मी बिहानी उल्लासमय लाग्दथ्यो । नजिकै लागेको हाटबजारको हल्ला कोठामा प्रस्ट सुनिन्थ्यो । रुसका अन्य काँठे बजारझैं यो पनि पराल, अल्कत्रा र ठम्याउन कठिन अनेकौं गन्धहरूले भरिएको थियो ।

त्यो बेनामी खिरिली आइमाईले आफ्नो नाम बताउनै चाहिन । लप्टनले बारम्बार उसको नाम सोध्दा जवाफमा उसले ठट्टिँदै भनेकी थिई- म तपाईंकी प्यारी अपरिचित । अजनवी ।

दुवैजना राति निकै कम सुतेका थिए । कोठा छाड्नुअघि ऊ पाँच मिनेट जतिमै नुहाइवरि तयार भएकी थिई । बाहिरिनुअघि ओछ्यान नजिक आएर उसका अगाडि उभिएकी थिई । ऊ सत्र वर्षकी युवतीजस्तै उज्याली देखिएकी थिई । के ऊ लजाएकी थिई ? अलिअलि । ऊ पहिलाजस्तै सरल, प्रफुल्ल र निकै बाठी देखिन्थी ।

'हैन, त्यसो होइन, प्रिय ।' लप्टनले एउटै जहाजमा सँगै यात्रा गरौं भन्दा उसले भनेकी थिई, 'हैन । अर्को जहाज नआउन्जेल तपाईं यहीँ बस्नू । हामी सँगै गयौं भने सब बर्बाद हुन्छ । म कुनै गडबड होस् भन्ने चाहन्नँ । मलाई विश्वास गर्नुस् । म तपाईंले सोचेजस्तो आइमाई होइन । हामीबीच जे भयो त्यो पहिले कहिल्यै भएको थिएन न त पछि कहिल्यै हुनेछ । मान्नुस्, हिजो ग्रहण लागेको थियो... या अझ भनौं हामी दुवैलाई अकस्मात् लु लाग्यो ।'

उसको भनाइमा लप्टन अलिअलि सहमत भएको थियो । टाँगामा चढेर प्रफुल्लित मुद्रामा उसलाई पोतघाटसम्म पुर्‌याउन गएथ्यो । त्यहाँ पुग्दा गुलावी रङको जहाज छुट्नै लागेको थियो । डेकमा अन्य यात्रुहरूको अगाडि उसलाई चुम्बन गर्‌यो । त्यसपछि जमिन छाड्दै गरेको भर्‌याङबाट कसोकसो गरी फुत्त हाम्फाल्यो ।
उही सहज उत्साह लिएर ऊ होटलमा फर्कियो । यद्यपि केही बदलिएको थियो ।

ऊ बिनाको त्यो कोठा अहिले अर्कै देखिन्थ्यो । लप्टनले रित्तो कोठाभरि उसलाई मात्र देख्यो । कति उदेकलाग्दो ! उसको जीउको बेलायती उड कोलोनी अत्तर कोठामा अझै मगमगाइरहेको थियो । उसले आधा खाएर राखेको चियाको कप किस्तमिा नै थियो । तर त्यहाँ ऊ थिइन । अकस्मात् उसको मुटु हल्लियो । खप्न नसकेर हतारमा उसले चुरोट सल्कायो । आफूले लगाएको छालाको जुत्तालाई हातमा लिइराखेको सानो कोर्राले हान्दै कोठा वरिपरि घुम्न थाल्यो ।

'कस्तो अचम्म भयो !' ऊ ठूलो स्वरमा हाँस्यो । उसका दुवै आँखाका डिलमा आँसु टिलपिलाइरहेको थियो । 'मलाई विशवास गर्नुस् । म तपार्इंले सोचेजस्तो आइमाई होइन । ऊ गई...'
'हाँसोलाग्दो आइमाई ! '

ओछ्यान मिलाएको थिएन । उसले ओछ्यानमा नियालेर हेर्ने आँटै गरेन । बजारको हल्ला र गाडाका चुइँचुइँ आवाज नआओस् भनी झ्याल बन्द गर्‌यो । सेता पर्दा लगायो र बढेमानको सोफामा बस्यो । लौ ठीक छ । त्यसो भने यो संयोगको भेटको अन्त्य यहीँ भयो । गई ऊ मबाट । निकै टाढा छे अहिले ऊ । यतिखेर उ शिशायुक्त बैठक कोठामा आराम गरिरहेकी होली । या जहाजको डेकमा होली । त्यहाँबाट हेर्दै होली घाममा टल्किएको अस्मेल नदी, आउजाउ गरिरहेका नाउहरू, पहेँला बलौटे किनाराहरू, दूर क्षितिजमा चम्किएको जलराशि, त्यसभन्दा माथिको आकाश, भोल्गा नदीको अपरिमेय फैलावट... । बिदा । सदाका लागि बिदा । अब हामी दुईको भेट फेरि कसरी पो होला र !

उसले सोच्न थाल्यो, 'उफ्, म उसको सहर जान सक्दिनँ । त्यो सहर जहाँ उसको लोग्ने छ, जहाँ उसकी तीन वर्षकी छोरी छे र उसका बाँकी परिवारजन । त्यो सहर जहाँ ऊ आफ्नो दैनिक जीवन बिताउँछे ।' एकाएक उसलाई त्यो सहर असामान्य, निषेधित लाग्न थाल्यो । सोच्यो, 'अब ऊ त्यस ठाउँमा एकांकी जीवन बिताउली मलाई नै सम्झेर । हिजोको हाम्रो आकस्मिक भेट जीवनभर सम्झेली ।'

अब ऊसँग कहिल्यै भेट हँदैन भन्ने सोचले लप्टन भित्रैबाट अररो भयो । हैन यस्तो त नहोला ! यस्तो विचार हास्यास्पद, अस्वाभाविक, अविश्वसनीय छ ! उसलाई आफ्नो बाँकी जीवन अवसादपूर्ण र निरर्थक लागेर आयोे । उसको मन निराशा र भयले ढाकियो ।

'छ्या, के भा'को यो ? !' उसले आफैंलाई सोध्यो । सोफाबाट उठेर फेरि यताउति गर्न थाल्यो । सकेसम्म ओछ्यानतिर नहेर्ने प्रयत्न गर्‌यो । 'हैन, मलाई के भै'राछ यो ? कसले सोच्या'थ्यो र पहिलो भेटमै यस्तो होला भनेर ? खास भ'को चैं के हो ? साँच्चि नै, लु नै लागेछ क्या हो ! भतभती पोलेर आउँछ । ऊबिना यो ठाउँ ईश्वरले पनि त्यागेको झैं लाग्दैछ । साँच्चै, यस्तो ठाउँमा ऊबिना म कसरी आजको दिन काट्न सक्छु ? '

उसले त्यस आइमाईको शरीरका सबै रहस्यहरू सम्झियो । सम्झियो- घामले डढेको उसको शरीरको गन्ध, नाइलेनको उसको पहिरन, उसको गठिलो जीउ, जोशिलो, सरल, प्रफुल्ल स्वर... । रोमाञ्चक, रहस्यमयी स्त्रीजन्य सौन्दर्यले उसलाई अझै खेदिरहेको थियो । ऊसँग छुटेपछिको आफ्नो मनोदशा देखेर लप्टन आफैं अचम्मित भयो । अनौठो मनोदशा । बुझ्नै नसकिने । ऊ साथमा हुँदा उसले अनुभव नै नगरेको मनोदशा ।

ऊसँग हिजो भेट हुनुभन्दा पहिले उसले कल्पना समेत नगरेको मनोदशा । यस्तो अनुभव जुन ऊ कसैलाई पनि बताउन सक्दैन । अहँ कसैलाई पनि ! ऊ सोच्न थाल्यो, 'अझ पीडादायी कुरो, म यस अनौठो सम्बन्धबारे कसैसँग कुरा गर्न सक्दिनँ । म के गरौं ? यो स्मृति बोकेर कहिल्यै नकट्ने दिन कसरी काटौं ? यसरी तड्पिएर ईश्वरले पनि छाडेको यो सानो सहरमा, चञ्चल भोल्गा नदीको किनारमा । यो त्यही नदी जसको छातीमा तैरँदै गुलाबी रङको जहाजले उसलाई मबाट टाढा लिएर गयो ।'

ऊ यस असह्य पीडाबाट बच्ने उपाय सोच्नतिर लाग्यो । मन बहलाउन बाहिर कतै निस्कने सोच बनायो । मन दह्रो पारेर टोपी लगायो । जुत्ता बजाउँदै जोसिएर बाहिर लम्कियो । खाली बरन्डा काट्यो । अनि ठाडो भर्‌याङबाट फटाफट ओर्लिएर प्रवेशद्वारमा पुगेर उभियो । लौ, अब कता जाने ?

त्यहाँ एउटा भर्खरको टाँगावाला आरामले सानो सिगार तानिरहेको थियो । चिटिक्क परेको किसाने कोट लगाएको त्यो युवक कसैको पर्खाइमा थियो । त्यसलाई देखेर लप्टन झन् व्याकुल भयो । त्यसतर्फ कर्के नजर लगाउँदै उसले सोच्यो, 'हैन, कसरी बस्न सकेको यति आरामले सिगार तान्दै ? बेफिक्री । अनाशक्त । हुन पनि यो पूरै सहरमा ममात्रै यति साह्रो दुःखी छु कि क्या हो ।'
ऊ बजारतिर लाग्यो ।

पूरा बजार असरल्ल देखिन्थ्यो । पत्तै नपाई उसले टाँगा, काँक्राले भरिएका गाडा, बेच्न राखेका भाँडाकुँडाका बीच छरिएको लादी टेक्न पुग्यो । भाँडा बेच्ने आइमाईहरू तँछाडमछाड गर्दै उसको ध्यानाकर्षण गर्दै थिए । भाँडा हातमा लिएर आफ्ना औंलाहरूलाई गोलाकार बनाउँदै एकदम राम्रो छ, एकदम राम्रो भन्ने संकेत गर्दै थिए । किसानहरू भने कानै खाने गरी चिच्चाइरहेका थिए, 'दामी काँक्रा, हजुर । दामी ।'

उसलाई यी सब कुरा बकबास, हास्यास्पद लाग्यो । ऊ त्यहाँबाट हतासमा निस्कियो ।

त्यसपछि ऊ नजिकैको चर्चमा पस्यो । श्रद्धालुहरू ठूलो स्वरमा भजन गरिरहेका थिए । ती प्रसन्न र दृढसंकल्पित देखिन्थे । मानौं, आफ्नो मनोकांक्षा पूरा हुनेमा ती पूर्ण विश्वस्त थिए । ऊ त्यहाँबाट पनि बाहिरियो र गल्लीगल्ली लम्कियो । चर्को घाममा हिँड्दै अलि परको एउटा पहाडको काखमा अडेको उपेक्षित सानो बगैंचामा आइपुग्यो । बगैंचा वरिपरिको बाटबाटै एकछिन टहलियो । त्यो पहाड इस्पातझैं टलक्क टल्किरहेको विशाल नदीतिर फर्केको थियो । लप्टनका काँधका छालाका फिता र उसले लगाएको सेतो पोसाकका टाँकहरू छुनै नसकिने गरी तातेका थिए । टोपीको भित्री फिता पसिनाले निथ्रुक्कै भिजेको थियो । अनुहार भतभती भएको थियो ।

ऊ होटेलमा फर्कियो र डाइनिङ रुममा पस्यो । त्यो ठूलो, रिक्त कोठा शीतल थियो । छिर्नासाथ उसले निकै आराम महसुस गर्‌यो । टोपी खोल्यो । खुला झ्यालको आडैमा रहेको सानो टेबलमा बस्यो । झ्यालबाट तातो हावाको झोका भित्र छिर्‌यो । सागसब्जीको चिस्याएको सुप मगायो । यस्तो चर्को गर्मी र बजारको गन्धमा पनि उसले हरेक चिजमा अमिट आनन्द र खुसीको अनुभव गर्‌यो । यो सानो बिरानो काँठे सहरमा, यो पुरानो होटेलमा सबैतिर उसले भिन्न किसिमको आनन्द फैलिएको पायो । यो यही स्थान हो जहाँ उसको हृदय छियाछिया भएको थियो ।

उसले काँक्रोको सितनसँग निकै गिलास भोड्का तान्यो । अनि कल्पनामा डुब्न थाल्यो । कुनै चमत्कार भएर केवल आजको दिन उसँग बिताउन पाए, आफ्नो हृदयविदारक र अनौठो प्रेमका बारेमा उसलाई बताउन पाए, उसलाई विश्वस्त पार्न सके कुनै हिच्किचाहटबिना ऊ भोलि नै मर्न पनि तयार थियो । फेरि आफैंलाई सोध्यो, 'तर म उसलाई प्रेम गर्छु भनेर किन विश्वस्त पार्ने ? किन सम्झाउने ? ' उसले यसको कुनै कारण भेटेन । तैपनि उसले आफैंलाई सम्झायो- यो आवश्यक छ किनभने ऊ जीवनभन्दा प्रेममा ज्यादा विश्वास गर्छ ।

'हैन, मेरो दिमागलाई के भैरा'छ हँ ? ' भोड्काको पाँचौं गिलास रित्याउँदै उसले आफैंलाई सोध्यो ।
नशामा सबै बिर्सने आशमा, यो पीडादायी आनन्दको अन्त्य गर्ने सोचमा उसले रक्सीको सुराही पूरै रित्यायो । तर अहँ, हिजोको त्यो आनन्द, आजको यो पीडा झन् बढ्दै गयो ।

चिसो सुप पर धकेल्यो । कालो कफी मगायो । चुरोट तान्दै यस अनपेक्षित, अप्रत्याशित प्रेमबाट मुक्त हुने अनेकौं उपाय र माध्यम सोच्न थाल्यो ।

यो प्रेमबाट छुटकारा पाउन असम्भव छ । ऊ निकै गम्भीर भयो । तत्कालै जुरुक्क उठ्यो । टोपी र कोर्रा टिप्यो । वरिपरि हुलाक कहाँ छ सोध्यो र वेयराले बताएको दिशातिर हानियो । अघिदेखि नै मनमा खेलाइरहेको टेलिग्रामलाई कसरी लेखिपठाउने सोच्दै अघि बढ्यो, 'अब उप्रान्त मेरो जीवन पूर्णतः तिम्रो । मृत्युपर्यन्त तिम्रो इच्छाअनुसार चल्ने ।'

मोटो गारो भएको एउटा घरमा उसले हुलाक र टेलिग्राफ अफिस देख्यो । तर त्यहाँ पुगेपछि ऊ विस्मातमा मूर्तिवत् उभियो । उसलाई आफ्नो अजनवी प्रेमिका बस्ने सहर थाहा थियो, उसको लोग्ने र एउटी तीन वर्षकी छोरी छ भन्ने पनि थाहा थियो । तर उसलाई न उसको नाम थाहा थियो न त थर नै । हिजो साँझ उसले कैयौंपटक उसको नाम सोधेको थियो । हरेकपटक उसले हाँस्दै जवाफ दिएकी थिई, 'किन चाहियो र म जो भए पनि । ल, म मारिया रे, फेरिल्यान्ड क्विन रे । अथवा केवल प्यारी अपरिचित । अजनवी । अब त भयो ? '

हुलाक कार्यालय नजिकैको कुनामा उसले एउटा सोकेस देख्यो । त्यसमा एउटा सैनिकको ठूलो फोटो सजाएर राखिएको थियो । उसले केही बेर फोटो नियाल्यो । बल्ढ्यांग्रे आँखा, झुकेको निधार र बढेमानको उदेकलाग्दो जुँगा भएको त्यस सैनिकका दुवै कुम आभूषणले ढाकिएका थिए । उसको चौडा छाती तक्माले सजिएको थियो । कस्तो हास्यापद दृश्य ! उसलाई यी सब तामधाम निकै घिनलाग्दो, अति सामान्य लाग्यो । उसको मन गलेको थियो लुको उकुसमुकुसले, यो उत्कट प्रेमले, हिजोको उत्कट आनन्दले । अलि पर बेहुलाबेहुलीको एउटा जोडी देख्यो ।

बेहुलाले लामो फ्रककोट र सेतो नेकटाई लगाएको थियो, कपाल दुम्सीकाँडे शैलीमा काटेको थियो । हत्तपत्त उसले आफ्ना आँखा त्यस जोडीबाट हटायो र अलि पर उभिएको एउटा विद्यार्थीको छड्के टोपीमा बिसायो । उसले लगाएको टोपीमा हँसिली केटीको फोटो देख्यो । यी सब अपरिचितहरूलाई देखेर उसलाई ईष्र्या लाग्यो । यी हँसमुख प्राणीहरूको पीडामुक्त जीवन सहन नसकेर ऊ सडकतिर एक तमासले हेर्न थाल्यो ।

कहाँ जाऊँ म ? के गरौं ? यस्ता उत्तरविहीन, पीडादायी प्रश्नहरू उसको मस्तिष्कमा सलबलाइरहे ।

सडक पूरै खाली थियो । वरिपरिका घरहरू सबै एकैनासका देखिन्थे- सेता दुईतले, मध्यम वर्गीय, हरेकका अगाडि एउटा ठूलो बगैंचा फैलिएको । तर ती मानवरहित देखिन्थे । सडक पेटी बाक्लो धुलोले ढाकिएको थियो । चर्को घामले गर्दा सम्पूर्ण पर्यावरण तिलमिल तिलमिल देखिन्थ्यो । तप्त, राफिलो, उल्लासमय र प्रयोजनहीन चम्किरहेको सूर्यको प्रकाशमा वरपरका हरेक वस्तु नुहाएझैं लाग्दथ्यो । उकालो सडक उचाइको एउटा बिन्दुमा पुगेर जुरोझैं उठेको थियो । हल्का नीलो देखिने त्यो जुरो कञ्चन, सफा, खरानी रङको क्षितिजसँग जोडिएको थियो ।

यस दृश्यले सेबासटोपोल, अनापु, कर्चजस्ता दक्षिणी भेगका स्थानहरूको झझल्को दिन्थ्यो । अनापुको सम्झनाले लप्टनलाई असह्य पीडा भयो । त्यसपछि ऊ घोसेमुन्टो लगाएर चर्को घाममा आँखा चिमचिम गर्दै त्यहाँबाट फर्कियो । उसका आँखा भुइँमा गडेका थिए, खुट्टा लर्खराएका थिए ।

फर्किएर ऊ होटेलमा आयो । थकाइले जीउ चुँडिएको थियो । ऊ तुर्किस्तान या सहारा मरुभूमिको लामो यात्राबाट फर्किएझैं थकित देखिन्थ्यो । रहलपहल शक्ति खिचेर ऊ होटेलको ठूलो, निर्जन कोठामा छिर्‌यो । कोठा सफा गरिसकेको थियो । त्यस अज्ञात प्रेमिकाको अन्तिम स्मृति सबै बडारकुँडार भइसकेको थियो । उसले बिर्सेकी एउटा काँटा भने अझै पनि ओछ्यान नजिकैको टेबलमा एक्लै टक्रक्क लडिरहेको थियो ।

ज्याकेट खोल्यो र ऐनामा आफ्नो अनुहार निहाल्यो । ऐनामा देख्यो उसले एउटा अधिकृत र घामले डढेर कालो भएको उसको सामान्य अनुहार, नीलोनीलो सेता आँखा, घामले खाएर सेतो भएको जुँगा । उसले त्यस अनुहारमा एक प्रकारको उद्विग्नता, पागलपना देख्यो । आफूले लगाएको पातलो सेतो कमिजको कडा कलरमा उसका आँखा पुगे । घाँटीमा सीधा ठडिएका ती कलरमा उसले युवा जोश देख्यो । त्यसले उसमा झन् विरक्तिको भावना उम्लिएर आयो । ओछ्यानमा उत्तानो पल्टियो ।

धुलाम्मे जुत्तासहितका खुट्टा फुटबोर्डमा अड्यायो । झ्यालहरू खुलै थिए । तिनमा झुन्डिएका पर्दा हल्का बतासले बेलाबेलामा हल्लिन्थे । त्यस बताससँगै भित्रिन्थ्यो तातेको छानाको गन्ध र उकुसमुकुस गर्मी, अनि चम्किलो भोल्गा नदीको परिवेश जुन अहिले निकै मौन, उदास, जनशून्य थियो । हातको सिरानी लगाएर ऊ त्यसै पल्टिरह्यो । उसका आँखा शून्यमा हराए । उसको मनमा दूर दक्षिणी भेगको एउटा धूमिल चित्र बन्यो । त्यस चित्रमा देख्यो उसले त्यहाँको घाम, त्यहाँको समुद्र, अनि अनापु सहर जुन उसलाई अन्य सहरभन्दा निकै भिन्न लाग्यो । त्यो तिलस्मी सहर जहाँ ऊ गएकी थिई, जहाँ ऊ छे अहिले । कताकता उसलाई आफूभित्र तातो आँसुको मुहान फुट्दै गरेझैं लाग्यो ।
अन्ततः ऊ निदायो ।

आँखा खुल्दा साँझ परिसकेको थियो । उसले पर्दाको चेपबाट बाहिर हेर्‌यो । साँझको रातो सूर्य निस्तेज हुँदै गइरहेको थियो । बतास चल्न बन्द भइसकेको थियो । कोठा फेरि आरनझैं तातेको थियो । उसले हिजो र आज बिहानका सबै घटना स्मरण गर्‌यो । सम्झिँदा ती घटना १० वर्ष अघिका जस्ता लाग्न थाले ।

ऊ कुनै हतार नगरी उठ्यो । कुनै हतार नगरी जीउ सर्र पखाल्यो । त्यसपछि पर्दा एकातिर पन्छायो । घन्टी बजाएर कामदारलाई बोलायो । सामोभार कितली र बिल ल्याउन भन्यो । कितलीको पानीमा कागती चिया बनायो । धेरै बेर लगाएर चिया खायो । त्यसपछि टाँगा बोलायो, आफ्नो सरसामान बाहिर निकाल्यो । टाँगाको डढेको रातो सिटमा बस्दै उसले कामदारलाई पूरा पाँच रुबल टिप दियो ।

'साहेब, हिजो राति मैले नै हजुरलाई यहाँ ल्याएजस्तो लाग्छ', टाँगावालाले लगाम समात्दै भन्यो ।
तिनीहरू बन्दरगाह पुग्दा अँध्यारो भइसकेको थियो । गर्मीयामको बादलरहित कालो आकाश भोल्गा नदीमाथि टाँगिएकोे थियो । नदीमा बहुरंगी प्रकाश छरिएको थियो । आउँदै गरेको जहाजको मस्तुल त्यस प्रकाशमा टल्किँदै थियो ।
'ठीक समयमा नै आइपुगियो ।' टाँगावालाले उसको मन जित्न खोज्यो ।

लप्टनले टाँगावालालाई फेरि पनि पाँच रुबल दियो र टिकट हातमा लिएर बन्दरगाहतिर गयो । हिजोजस्तै आज पनि जहाज बाँध्ने लठ्ठाको मधुर आवाज उसको कानमा पर्‌यो । जहाज ढलपल ढलपल हुँदा आज पनि उसलाई रिँगटा लाग्यो । सबै हिजोको जस्तै- टाउको माथिबाट स्वाट्ठ गएको लठ्ठा, जहाजको पांग्रा घुम्दा निस्केको पानीको आवाज । यात्रुले खचाखच झलमल्ल जहाज र भान्छाबाट निस्किएको गन्धले उसलाई न्यानो स्वागत गरेझैं लाग्यो ।

एकाध मिनेटपछि जहाज आफ्नो गन्तव्यतिर लाग्यो । नदीको माथिल्तिर यात्रारत यो वाहन उसकी अज्ञात प्रेमीकालाई आज बिहान जुन दिशामा लिएर गएको थियो अहिले त्यतै जाँदै थियो ।

अघिल्तिर सूर्यास्तपछिको आकाश अँध्यारो हुँदै थियो । गर्मीयामको यतिखेरको आकाश नदीमा उदास, स्वप्निल र रंगदिप्त भई टिलपिलाइरहेको थियो, पर अगाडि पानीका असंख्य लहरामा काला छायाहरू नाचिरहेका थिए, जहाज वरिपरि छरिएको प्रकाश अँध्यारोमा विस्तारै विस्तारै हराउँदै थियो ।

लप्टन डेकमा टाँगिको एउटा त्रिपालमुनि गएर बस्यो । उसलाई ऊ आफू एक दिनमा १० वर्ष बूढो भएझैं लाग्न थाल्यो ।

(इभान बुनिन नोबेल पुरस्कार पाउने पहिलो रुसी लेखक हुन् । अंग्रेजीमा सनस्ट्रोक शीर्षकको यस कथालाई समरसेट मौघहमले विश्वकै एक उत्कृष्ट कथा भनेका छन् ।) अनुवादकः बलराम अधिकारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.