जसको भोक मरेको छैन

जसको भोक मरेको छैन

नबाँध मलाई यी काँडेदार सिक्रीले
जसले बाँधिराख्छन् मलाई
यो साँघुरो कोठामा
बिना कुनै अपराध
पिँजडाको चरीलाई जस्तै
यो निर्मम बन्दीकोठामा पनि
उब्जिन्छन् हजारौं स्वरहरू
अहँ, होइनन् ती बकवास्
न त हुन् चराका चिरबिर
न हो हर्षको उन्मादन कुनै आमाको लोरी नै

- इरोम शर्मिला

१६ वर्षपछि मुखमा अन्न हालेकी छन् तर उनको भोक मरेको छैन । न्यायको भोक । १६ वर्षदेखि न्यायको निम्ति उनले गरेको भोक हडताल यही मंगलबारदेखि टुंगिएको छ । तर उनको आन्दोलन होइन । जिब्रोमा १६ वर्षपछि महका थोपा हाल्दै उनले भनकी छन्- ‘म राजनीतिमा आउनेछु । हो, राजनीति फोहोर छ, त्यसो त समाज पनि फोहोर नै छ ।'

उनी अर्थात् इरोम चनु शर्मिला । आइरन लेडी । उनको नाममा दुई रेकर्ड दर्ज छन्- सबैभन्दा लामो भोक हडताल गरेको र सबैभन्दा धेरैपटक जेलबाट छुटेको । तर प्रश्न छ, उनी कहिले जेलबाट छुटिन ? किनभने हरेक पटक जबजब छोडिन्थ्यो तुरुन्त पक्राउ पर्थिन् उनी । आरोप थियो- आत्महत्याको प्रयास । के उनी साँच्चै नै आत्महत्या गर्न चाहन्थिन् ? होइन, उनी त अन्यायको हत्या गर्न चाहन्थिन् जसको कारणमा लुकेको थियो हत्याहरूको शृंखला, नृशंस दमन, बिनाकारण पक्राउ अर्थात् उत्तर-पूर्वी भारतीय राज्यहरूमा केन्द्रीय राज्यको क्रुर व्यवहार । कथा सुरु हुन्छ इतिहासका पानाबाट ।

भोकको सुरुवात

संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिइने भारतको अन्तर्यमा थुप्रै विद्वेष, संकट र संघर्षहरूले वास गरेका छन् । भारतीय इतिहासकार रामचन्द्र गुहाले ‘इन्डिया अफ्टर गान्धी'मा पटक-पटक भारत विभिन्न संकटहरूको कारण टुक्रिने अवस्थामा पुगेको उल्लेख गरेका छन् । भारतले झेलिरहेको संकटको मुख्य कारक त्यहाँ हुने पृथकतावादी आन्दोलन हो ।

सन् १९४९ मा बेलायती उपनिवेशबाट मुक्त हुँदासम्म भारत नामको देश इतिहासका पानामा एक स्वप्नको रूपमा थियो । एकल र अखण्ड वा वर्तमान स्वरूपको भारत पहिले थिएन । बेलायती उपनिवेशकालमै पनि साढे पाँच सयभन्दा बढी राज्य, रजौटाहरू विभिन्न सर्त स्वीकार गरी बेलायती उपनिवेशअन्तर्गत शासित थिए । ती आफूलाई स्वतन्त्र राज्य नै ठान्दथे ।

त्यसैले बेलायती उपनिवेशको अन्त्य हुँदै गर्दा उनीहरूले स्वतन्त्र राज्यको रूपमा नै रहन माग पनि गरेका थिए । तर, दिल्लीमा नेहरू-माउन्टबेटन-जिन्नाबीच भएको समझदारी अनुरूप दबाब र कूटनीतिमार्फत् ती राज्य-रजौटाहरू भारतीय भूगोलमा समाहित भए । यद्यपि आफूलाई मुक्त राख्न खोज्ने र स्वतन्त्र राज्यको परिकल्पना गर्ने ‘पृथकतावादी' समूहहरूको आन्दोलन भारतका बहुसंख्यक राज्यहरूमा पाइन्छ । त्यस्तै पृथकतावादी आन्दोलनको एउटा केन्द्र हो- भारतको उत्तर पूर्वी भूगोल । सेभन सिस्टरमध्ये एक मणिपुरमा पनि त्यस्तै प्रकारका आन्दोलनहरू हुने गरेका छन् । कहिले शान्तिपूर्ण कहिले सशस्त्र ।

यो राजनीतिक उतारचढावलाई नियन्त्रण गर्ने नाममा भारतीय केन्द्रीय राज्यले सन् १९५८ मा विशेष कानुनअन्तर्गत आसाम र मणिपुरमा सेना परिचालन गर्‌यो । त्यो कानुनको नाम थियो- ‘आम्र्ड फोर्स स्पेसल पावर एक्ट १९५८' अर्थात् सशस्त्र बल विशेषाधिकार कानून (अफ्सपा) । यो कानुन पछि उत्तर-पूर्वका अन्य राज्यहरूमा पनि लागू गरियो ।

गुहा लेख्छन्- ‘यसले (यो कानुनले) भारतीय सेनालाई कुनै पनि अदालती मुद्दामामिलाबाट मुक्त राख्दछ । केन्द्रीय सरकारले अनुमति दिएमात्र कुनै पनि केसमा सेनालाई अदालतमा ल्याउन सकिन्छ । अर्कोतर्फ यो कानुनले सेनाका जवानलाई सन्दिग्ध व्यक्तिमाथि गोली हान्नेसम्मको छुट दिन्छ ।'

यही छुटबाट सुरु हुन्छ इरोम शर्मिलाको भोकको कथा । सन् २००० नोभेम्बर २ मा मणिपुरको राजधानी इम्फाल नजिकैको गाउँ मालेमामा सेनाको गोलीले १० नागरिकको मृत्यु भयो । मर्नेमध्ये कोही पनि इरोमका साथी वा आफन्त थिएनन् । तर इरोमले मनमनै निर्णय गरिन् । आमासँग गइन् र भनिन्- मलाई आशीर्वाद दिनोस्, म एक महत्त्वपूर्ण काम गर्दैछु । सेनालाई जनता मार्ने छुट दिने उक्त कानुन (अफ्सपा) खारेज गर्न माग गर्दै उनी भोक हडतालमा बसिन् ।

पत्रकार किश्लय भट्टचार्य सम्झिन्छन्, ‘त्यतिबेला मालोव गाउँका मानिसहरू उनले त्यहाँ भोक हडताल नगरोस् भन्ने चाहन्थ्यो । यसले गर्दा झनै समस्या बल्झिएला भन्ने डर थियो उनीहरूलाई । परिवारलाई त पछिमात्रै थाहा भयो उनले अफ्सपा नहटाउँदासम्म भोक हडताल गर्ने निर्णय गरेकी छन् । त्यतिबेला त्यहाँ न कुनै राम्रो मिडिया थियो न जनसमर्थन नै । तीन, चार वर्षपछि मात्र मानिसले इरोमबारे चर्चा गर्न थाले ।'

भोक हडताल बढ्दै गएपछि इरोमलाई सरकारले आत्महत्या गर्न खोजेको आरोप लगाएर हिरासतमा लियो । उनलाई अस्पतालमा राखियो । नाकबाट पाइप पठाएर जबर्जस्ती शरीरको लागि आवश्यक खाद्यपदार्थ पठाउन थालियो । १५-१५ दिनमा अदालतमा उपस्थित गराउन थालियो ।

अदालतबाट रिहाको घोषणा र पुनः सोही आरोपमा गिरफ्तार गर्ने खेल सुरु भयो । १६ वर्षको यो आन्दोलनलाई फरक मोड दिने घोषणा यही जुलाई २६ मा गर्दा सिंगो संसारको ध्यान इरोमतर्फ सोझियो । अनेकन् चर्चा र बहसहरूले भारतीय लोकतन्त्रको तलाउमा तरंग मच्चियो । अन्ततः २०१६ अगस्ट ९ तदनुसार २०७३ साल २५ गते मंगलबार स्थानीय समय अनुसार साँझ ४ बजेर ४२ मिनेटमा महका केही थोपाहरू जिब्रोमा राखेर इरोमको भोक हडताल टुंगियो ।

को हुन् इरोम ?

मणिपुरको साधारण परिवारमा सन् १९७२ मार्च १४ मा जन्मेकी इरोम चन्नु शर्मिला अनशनपूर्व अपरिचित थिइन् । उनी कविता लेख्न मन पराउँथिन् । कहिलेकाहीँ पत्रिकामा लेख लेख्थिन् । त्यहींबीच मानवअधिकार संगठनमा जोडिइन् ।

जिन्दगी यसरी नै चलिरहेको थियो । भोक हडतालभन्दा पहिलेदेखि नै इरोमलाई चिन्ने मानवअधिकारवादी कार्यकर्ता बबलु लोइटोंगबमका अनुसार इरोम युवा स्वयम्सेवकको रूपमा विभिन्न मानवअधिकार संगठनहरूको बैठकहरूमा आउँथिन् र चुपचाप बस्थिन् ।

यिनै मौन इरोमले भोकले नै संसार हल्लाइदिइन् । सिंगो जवानी न्यायको निम्ति अस्पतालको बेडमा त्याग गरिन् ।

अस्पताल जीवन

मणिपुरमा मान्छेहरू भेट्दा सुरुमा ‘के छ ? ' भन्दैनन् । ‘खाना खायौ' भन्छन् । र थप्छन्- के खायौ ? मणिपुरका स्थानीय पत्रकार चित्रा अहेनथंमलाई भने सकस हुन्थ्यो किनभने हरेक भेटमा इरोमले यही सोध्थिन् तर उनी जवाफमा त्यहीं सोध्न सक्थिनन् ।

मणिपुरको इन्फालको बिचोबिच रहेको ‘जवाहरलाल नेहरू मेडिकल इन्स्टिच्युट' इरोमको घर बनेको थियो । अस्पतालबाट करिब एक किलोमिटर पर उनकी आमा, भाइ र आफन्त बस्छन् । तर उनी हडताल सुरु भएपछि एकपटक पनि घर गइनन् । हरेक १५ दिनमा उनलाई बोकेको गाडी उनकै घर हुँदै अदालत जान्थ्यो ।

सुरुसुरुमा महिला सुरक्षा गार्ड पनि इरोमसँगै एउटै कोठामा बस्ने गर्थे । पछि भोक हडतालमा बसेको मानिसको अगाडि खानेपिउने गर्नु कत्तिको ठीक हो भन्ने प्रश्न उठेपछि उनको निम्ति छुट्टै कोठा दिइयो । जहाँ उनका स-साना बिरुवा, दुईवटा गिनी पिग, किताबहरू र थुप्रै पेन्टिङहरू थिए । अँ पेन्टिङ किनभने इरोमलाई चित्र बनाउन निकै मनपर्छ ।

चित्र बनाएको प्रसंग सुनाउँदै अस्पतालका एक कर्मचारीले बताए, ‘एकपटक इरोमले अस्पतालमा आफ्नो मृत बच्चा लिएर आएको बाबुको चित्र बनाएकी थिइन् । उक्त चित्रमा त्यो बाबुको पीडा उतारिएको थियो ।' अस्पतालका कर्मचारीलाई उनीसँग कम सम्बन्ध राख्न निर्देशन दिइए पनि उनीहरूबीच बेग्लै प्रकारको सम्बन्ध निर्माण भइसकेको थियो । ‘१६ वर्षपछि त्यो वार्ड खाली हुँदा पक्कै नरमाइलो लाग्नेछ', अस्पतालका कर्मचारीले बताए ।

बाँचिन् कसरी ?

‘१६ वर्षदेखि मेरो नाकमा लगाइएको यो पाइप मलाई अब मेरो शरीरकै अंग लाग्न थालेको छ', इरोम भन्थिन् । त्यही पाइपबाट उनलाई शरीरको लागि आवश्यक खाद्य पदार्थ पठाइन्थ्यो । फिड दिने भनिन्थ्यो त्यसलाई । उनलाई राखिएको इन्फालको ‘जवाहरलाल नेहरू मेडिकल इन्स्टिच्युट'का एक कर्मचारीका अनुसार सुरुका केही वर्षसम्म इरोमलाई बिहान १० बजे, दिउँसो साढे बाह्र बजे र राति साढे नौ बजे फिड दिइन्थ्यो ।

तर केही वर्षदेखि उनले तीनपटक फिड लिन अस्वीकार गरेकी थिइन् । उनले केवल दिउँसो साढे बाह्र बजे र राति साढे नौ बजे फिड लिन थालिन् । आइतबार भने केवल एकपटक फिड लिन्थिन् ।

अस्पतालका कर्मचारीले बताएअनुसार उनलाई बिहान एक लिटर पानीमा २० चम्चा सेरलेक दिइन्थ्यो । त्यसमा आइरन सिरप, पाचनको लागि औषधिलगायतका आवश्यक अन्य पदार्थ पनि मिसाइएको हुन्थ्यो । नलीमा इन्फेक्सन नहोस् भनेर पाइप हरेक महिना फेरिन्थ्यो ।

हडतालपछि

अनशन तोडेपछि इरोम जमानतमा रिहा भएकी छन् । उनका वकिल एल रेबादा देवीका अनुसार अदालतले दुई साक्षीहरूको बयानपछि दस हजार रुपैयाँ जमानत लिई उनलाई रिहा गरेको हो । इरोम शर्मिला भन्छिन्- ‘मलाई मुक्त गरियोस् । मलाई अनौठो महिलाको रूपमा नहेरियोस् । मान्छेहरू भन्छन्, राजनीति फोहोर हुन्छ तर समाज पनि त फोहोर नै छ । म सरकारविरुद्ध चुनावमा उठ्नेछु ।'

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.