फिजीका लागि ऐतिहासिक दिन 

फिजीका लागि ऐतिहासिक दिन 

रियो दी जेनेरियोः फिजीले ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण पदक जितेको छ । ब्राजिलको राजधानी रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदमा फिजीको रग्बी सेभेन्स टोलीले देशलाई ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण पदक दिलाएको हो । बिहीबार अबेर भएको फाइनल खेलमा फिजीको टोलीले बेलायतलाई ४३–७ ले पराजित गर्दै स्वर्ण पदक पक्का गरेको हो । आफ्नो टोलीले रियोमा स्वर्ण जितेसँगै फिजीमा खुसीयाली मनाउन सुरु भएको छ ।

रग्बी सेभेन्स फिजीको राष्ट्रिय खेल हो । फिजीमा निकै ससाना गाउँ र टोलमा समेत रग्बी सेभेन्सको टोली खडा गरिएको छ । त्यसैले रग्बी सेभेन्स खेल फिजीका जनतामाझ निकै लोकप्रिय मानिन्छ । फिजीका जनताले फाइनलमा आफ्नो टोलीले बेलायतलाई पराजित गर्दै स्वर्ण जितेको राजधानी शुभास्थित १५ हजार सिट क्षमताको राष्ट्रिय रंगशालामा प्रोजेक्टरमार्पmत ठूलो पर्दामा हेरेका थिए ।

फाइनल खेलका क्रममा केही समर्थकले चर्चसम्म पुगी आफ्नो टोलीको सफलताका लागि प्रार्थनासमेत गरेका थिए । बिजुलीबत्तीको सुविधा नभएका गाउँबाट समेत सर्वसाधारण टेलिभिजनमा आफ्नो टोलीको खेल हेर्न राजधानी शुभ पुगेका थिए । आफ्नो टोलीको हौसला बढाउन रियोमै पुगेका फिजीका प्रधानमन्त्री फ्राङ्क बइनीमारामाले ओलम्पिक खेलकुदमा प्राप्त अहिलेसम्मकै ठूलो उपलब्धिमा सबैलाई बधाई दिएका छन् ।
‘हाम्रो देशको इतिहासमै यो एक अविस्मरणीय क्षण बन्न पुगेको छ । हामीले ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण पदक जितेका छौं', फिजीका प्रधानमन्त्री बइनीमारामाले भनेका छन्, ‘यो खुसीको क्षणमा सबैलाई बधाई दिन चाहन्छु ।' रियोमै सञ्चारकर्मीहरूलाई दिएको प्रतिक्रियामा प्रधानमन्त्री बइनीमारामाले गत फ्रेब्रुअरीमा फिजीमा आएको विन्सटन आँधीलाई सम्झिए । अहिलेसम्मकै दोस्रो ठूलो ध्वंशात्मक आँधी मानिएको विन्सटनका कारण फिजीमा ४४ जनाको ज्यान गएको थियो ।

‘फिजीका जनताले गत फ्रेब्रुअरीमा विन्सटनको सामना गर्नुपर्‍यो, जसबाट हामीले ४४ आफन्तलाई गुमाएका थियौं', प्रधानमन्त्री बइनीमारामाले भने, ‘रग्बीको यो ऐतिहासिक सफलताले हामीलाई त्यो दुःख भुलाउने अवसर दिएको छ ।' उनले ओलम्पिकको सफलताले फिजीले पनि विश्व मानचित्रमा आफूलाई चिनाउन सफल भएको दाबीसमेत गरेका छन् ।

‘यसअघिसम्म फिजी विश्व मानचित्रमा एउटा थोप्लो जस्तो मात्रै थियो । तर यो ओलम्पिकको स्वर्ण पदकले फिजीलाई विश्वमै अघि ल्याएको छ', उनले भने । बिहीबार फिजी र इङ्ल्यान्डबीचको फाइनल खेल नौ लाख फिजियनले हेरेको बताइएको छ । फिजीले आफ्नो देशले फाइनल खेल्ने दिन विद्यालयहरूमा समेत बिदाको घोषणा गरेको थियो । बैंकलगायत कार्यालयहरूमा पनि काम ठप्प भएका थिए । फिजीको एक बैंकको मुख्यद्वारमै लेखिएको थियो, ‘फिजीले इतिहास रच्दै छ ।

त्यसैले कृपया फिजीको खेल नसकिएसम्मका लागि अबको ३० मिनेट यो कार्यालयमा छुट्टी दिइएको सूचना जारी गरिएको छ ।' फिजीको राष्ट्रिय ध्वजावाहक विमानसेवाहरूले पनि आफ्नो राष्ट्रले प्राप्त गरेको ऐतिहासिक सफलताको खुसीयाली मनाउन ग्राहकलाई फिजीको बियरमात्र उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्रीले स्वर्ण पदक विजेता टोलीलाई स्वदेशमा भव्य स्वागत गरिने बताएका छन् ।

विश्व  च्याम्पियन लङलाई स्वर्ण

विश्व च्याम्पियनसमेत रहेका चिनियाँ खेलाडी मा लङले ओलम्पिक खेलकुदअन्तर्गत टेबुलटेनिसमा पुरुष एकलतर्फको उपाधि जितेका छन् । उनले बिहीबार राति भएको फाइनलमा आफ्नै राष्ट्रका झाङ जिकेलाई हराए । वेस्ट अफ सेभनका आधारमा खेलाइएको फाइनलमा लङले अघिल्ला चारवटै सेटको नतिजालाई आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेका हुन् । झाङ भने ओलम्पिकका साविक विजेता खेलाडी हुन् ।

लङ विश्व वरीयताको पहिलो स्थानमा रहेका खेलाडी हुन् । पुरुष एकलतर्फ जापानका जुन मिजुतानीले कांस्य पदक हात पारे । विश्व टेबुलटेनिसको आफ्नो दबदबालाई चीनले जारी ओलम्पिकमा पनि कायमै राखेको छ । यसअघि चीनकै दिङ निङले महिला एकलतर्फको उपाधि जितेकी थिइन् । उनले पनि फाइनलमा आफ्नै राष्ट्रकी ली झियाओझीलाई हराएकी थिइन् । झियाओझी ओलम्पिकमा महिला एकलतर्फकी साविक विजेता खेलाडी हुन् ।

यसैगरी जुडोको एक सय केजी तौलसमूहमा चेक गणतन्त्रका लुकास क्रापालेकले स्वर्ण पदक जिते । उनले फाइनलमा अजरबैजानका एल्मर गासिमोभलाई हराउँदै स्वर्ण हात पारेका हुन् । उक्त स्पर्धामा फ्रान्सेली खेलाडी साइरिल मारेट र जापानका रियुनोसुकेले कांस्य पदक जिते ।

जुडोकै महिलातर्फको ७८ केजी तौलसमूहमा अमेरिकी खेलाडी कायला ह्यारिसनले स्वर्ण पदक जितिन् । उनले फाइनलमा फ्रान्सकी आउड्री तेसुमेओलाई पराजित गरिन् । उक्त स्पर्धामा ब्राजिलकी मायरा एग्विर र स्लोभानियाकी एनामारी भेलेन्सेकले संयुक्त रूपमा कांस्य पदक जिते ।

यसैगरी आर्चरीको महिला इन्डिभिजुअल स्पर्धाको स्वर्ण पदक दक्षिण कोरियाकी चाङ हेजिनले जितिन् । उक्त स्पर्धामा जर्मनीकी लिसा अलरुहले रजत र दक्षिण कोरियाकी की कीले कांस्य पदक हात पारिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.