फेलप्सको अर्को कीर्तिमान

फेलप्सको अर्को कीर्तिमान

रियो दी जेनेरियोः ओलम्पिक खेलकुदको इतिहासमा सर्वाधिक स्वर्ण र सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान बनाएका अमेरिकी पौडीबाज माइकल फेलप्सले आफ्नो नाममा अर्को कीर्तिमान पनि थपेका छन् । जारी ओलम्पिक खेलकुदअन्तर्गत बिहीबार राति भएको पुरुष पौडीको दुई सय मिटर इन्डिभिजुअल मेड्ली स्पर्धामा स्वर्ण पदक जितेसँगै फेलप्सको नाममा अर्को कीर्तिमान थपिएको हो ।

उक्त स्पर्धामा स्वर्ण पदक जित्नासाथ ३१ वर्षीय फेलप्सले सबैभन्दा पहिला आफ्नो चारवटा औंला देखाएका थिए, जसको दोहोरो अर्थ थियो । पहिलो, जारी रियो ओलम्पिकमा आफूले जितेको स्वर्ण संख्या चार पुगेको छ भन्ने संकेत दिनु र दोस्रो, आफू लगातार चारवटा ओलम्पिकको एउटै स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेँ भनेर सन्देश दिनु ।

फेलप्सले लगातार चारवटा ओलम्पिकको पुरुष दुई सय मिटर इन्डिभिजुअल मेड्ले स्पर्धामा स्वर्ण पदक जितेका हुन् । लगातार चारवटा ओलम्पिकको एउटै स्पर्धामा स्वर्ण पदक जित्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् । उनले सन् २००४ मा भएको एथेन्स ओलम्पिक, सन् २००८ मा भएको बेइजिङ ओलम्पिक र सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा पनि यो स्पर्धामा स्वर्ण पदक जितेका थिए । एथेन्स र बेइजिङ ओलम्पिकमा त फेलप्सले यो स्पर्धामा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए ।

ओलम्पिक खेलकुदको इतिहासमा उनी सर्वाधिक स्वर्ण र सर्वाधिक पदक जित्ने खेलाडी पनि हुन् । ओलम्पिकमा उनले जितेको स्वर्ण पदक संख्या २२ पुगेको छ । यसअघिका तीन ओलम्पिकमा १८ स्वर्ण जितेका फेलप्सले जारी ओलम्पिकमा पनि चारवटा स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेका छन् । उनले एथेन्स ओलम्पिकमा ६, बेइजिङ ओलम्पिकमा आठ र लन्डन ओलम्पिकमा चारवटा स्वर्ण पदक जितेका थिए ।

जारी रियो ओलम्पिकमा भने उनले हालसम्म दुई सय मिटर बटरफ्लाई, दुई सय मिटर इन्डिभिजुअल मेड्ली, चार गुना एक सय मिटर फ्रिस्टाइल रिले र चार गुना दुई सय मिटर फ्रिस्टाइल रिले स्पर्धामा स्वर्ण पदक जितेका हुन् । फेलप्सले सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन थाले पनि आफ्नो पहिलो सहभागितामा भने स्वर्ण जित्न सकेका थिएनन् ।

फेलप्सले अब जारी ओलम्पिकमा एक सय मिटर बटरफ्लाई र चार गुना एक सय मिटर मेड्लीमा प्रतिस्पर्धा गर्न बाँकी छ । उनले ओलम्पिक खेलकुदमा हालसम्म जितेको कुल पदक संख्या भने २६ पुगेको छ । उनले एथेन्स ओलम्पिकमा दुई कांस्य र लन्डन ओलम्पिकमा दुई रजत पदक पनि जितेका थिए । बेइजिङ ओलम्पिकमा त उनले आफूले स्वर्ण पदक जितेका आठ स्पर्धामध्ये सातवटामा विश्वकीर्तिमान र एउटा स्पर्धामा ओलम्पिकको कीर्तिमान तोडेका थिए । लन्डन ओलम्पिकपछि सक्रिय खेल जीवनबाट सन्न्यास लिएका फेलप्स त्यसको दुई वर्षपछि पुनः खेलमा फर्किए ।

उनले ओलम्पिकको व्यक्तिगत स्पर्धामा १३ र टिम स्पर्धामा नौवटा स्वर्ण पदक जितेका छन् । सर्वाधिक पदक जित्ने खेलाडीको सूचीमा रहेका फेलप्सका निकटतम प्रतिद्वन्द्वी तत्कालीन सोभियत संघकी लारिसा लात्निनाले नौ स्वर्ण, पाँच रजत र चार कांस्य गरी कुल १८ वटा पदक जितेकी छन् । उनी जिम्न्यास्टिक खेलाडी हुन् । यसैगरी तेस्रो स्थानमा रहेका सोभियत संघकै अर्का जिम्न्यास्टिक खेलाडी निकोलाई आन्द्रिनोभले सात स्वर्ण, पाँच रजत र तीन कांस्य गरी कुल १५ वटा पदक हात पारेका छन् । चौथो स्थानमा रहेका सोभियत संघकै जिम्न्यास्टिक खेलाडी बोरिस साख्लिनले पनि सात स्वर्ण, चार रजत र दुई कांस्यसहित कुल १३ पदक जितेका छन् ।

बिहीबार राति भएको दुई सय मिटर इन्डिभिजुअल मेड्ली स्पर्धामा स्वर्ण पदक जित्न उनले निर्धारित दूरी एक मिनेट ५४.६६ सेकेन्डमा पूरा गरेका थिए । दोस्रो स्थानमा रहेका जापानी खेलाडी कोसुके हागिनोले निर्धारित दूरी एक मिनेट ५६.६१ सेकेन्डमा पूरा गरे । चीनका सुन वाङले निर्धारित दूरी एक मिनेट ५७.०५ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते । चर्चित अमेरिकी खेलाडी रायन लोच्ते भने निराशाजनक प्रदर्शन गर्दै पाँचौं भए ।

यसैगरी पौडीकै पुरुष दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धाको उपाधि अमेरिकाका रायन मर्फीले जिते । उनले निर्धारित दूरी एक मिनेट ५३.६२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उक्त स्पर्धामा अस्ट्रेलियन खेलाडी मिचेल लार्किनले निर्धारित दूरी एक मिनेट ५३.९६ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारे । निर्धारित दूरी एक मिनेट ५३.९७ सेकेन्डमा पूरा गर्दै रुसका एभ्गेनी रिलोभ तेस्रो भए ।

म्यानुअललाई ऐतिहासिक सफलता

सिमोन म्यानुअल ओलम्पिक खेलकुदअन्तर्गत पौडीमा स्वर्ण पदक जित्ने पहिलो अफ्रिकन-अमेरिकन महिला खेलाडी बनेकी छिन् । बिहीबार भएको पौडीको महिला एक सय मिटर फ्रिस्टाइल स्पर्धामा क्यानडाकी पेन्नी ओलेक्सियाकसँगै संयुक्त रूपमा स्वर्ण जित्दै म्यानुअलले ऐतिहासिक उपलब्धि हात पारेकी हुन् । म्यानुअल र ओलेक्सियाकले एकै समयमा दूरी पूरा गरेपछि दुवैलाई विजेता घोषणा गरिएको हो ।

एकल विजेता घोषित हुन नसके पनि म्यानुअलका लागि पदक अर्थपूर्ण बन्यो । आफ्नो स्वर्ण पदकले आफूजस्तै अन्य खेलाडीलाई थप हौसला मिल्ने विश्वास म्यानुअलले व्यक्त गरिन् । ‘यो पदक मलाई समर्थन र प्रेरित गर्ने सबैप्रति समर्पण गर्न चाहन्छु', उनले भनिन्, ‘जसले मलाई यो खेलप्रति माया जगायो र यहाँसम्म आइपुग्न मद्दत गर्‍यो । मैले जितेको यो पदकले मजस्तै अन्य खेलाडीलाई पनि प्रेरणा दिने विश्वास लिएकी छु ।'

उक्त स्पर्धामा विश्व कीर्तिमानधारी अस्टे्लियन खेलाडी केट क्याम्पबेलसमेत सहभागी थिइन् । म्यानुअल र ओलेक्सियाकले क्याम्पबेललाई स्तब्ध तुल्याउँदै स्वर्ण जित्न सफल भएका हुन् । सुरुआती ५० मिटरको प्रतिस्पर्धासम्म क्याम्पबेल र उनकी बहिनी अग्र स्थानमा थिए । क्याम्पबेल सबैभन्दा अघि थिइन् भने उनको साथमै थिइन्, बहिनी ब्रोन्टी पनि । यद्यपि पछिल्लो ५० मिटरको प्रतिस्पर्धामा क्याम्पबेल दिदीबहिनीलाई पछि पार्दै म्यानुअल र ओलेक्सियाक अघि आए ।

प्रतिस्पर्धा समाप्त हुँदा ब्रोन्टी चौथो स्थानमा रहिन् भने दिदी केट छैटौं स्थानमा पुगिन् । ओलेक्सियाकका लागि पनि पदक महत्वपूर्ण बनेको छ । १६ वर्षीया ओलेक्सियाक २१ औं शताब्दीमा जन्मिएर कुनै पनि ओलम्पिक खेलकुदमा पौडीतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । आयोजकले म्यानुअल र ओलेक्सियाकलाई एकै स्थानमा राखेर पदक वितरण गरेको थियो । आयोजकले मेडल वितरण समारोहमा समेत पहिले म्यानुअलको देश अमेरिका र त्यसपछि ओलेक्सियाकको देश क्यानडाको राष्ट्रिय गान बजाएको थियो ।

आफ्नो देशको राष्ट्रिय गान बज्दा म्यानुअल निकै भावुक बनेकी थिइन् । उनको आँखाबाट आँसु झारेको थियो । ‘म लामो यात्रा पार गर्दै यहाँ आइपुगेकी हँु, त्यसैले म निकै उत्साही बनेकी छु', म्यानुअलले भनिन् । म्यानुअलले ओलम्पिक खेलकुदअन्तर्गत पौडीको एक सय मिटर फ्रिस्टाइलमा ३२ वर्षपछि अमेरिकालाई स्वर्ण पदक दिलाएकी हुन् । सन् १९८४ को ओलम्पिकमा एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेयता अमेरिकाले उक्त स्पर्धामा सफलता हात पार्न सकेको थिएन । संयोगवश त्यसबेला पनि दुई अमेरिकन खेलाडी नान्सी हगसेड र कयारी स्टेइनसेइफरले संयुक्त रूपमा स्वर्ण पदक जितेका थिए ।

यसअघि ओलम्पिक खेलकुदमा पछिल्लो पटक सन् २००० मा सिड्नीमा ५० मिटर फ्रिस्टाइलमा दुई खेलाडीले संयुक्त रूपमा स्वर्ण पदक बाँडेका थिए । त्यतिबेला अमेरिकन खेलाडी गारी हल र एन्थोनी इर्भिनले संयुक्त रूपमा स्वर्ण जितेका थिए । त्यसबेला इर्भिन ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो अफ्रिकन—अमेरिकन खेलाडी बनेका थिए ।

उनी जारी रियो ओलम्पिकमा समेत अमेरिकी टोलीमा छन् । महिलातर्फको दुई सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धाको उपाधि जापानी खेलाडी रिए कानेतोले जितिन् । उनले निर्धारित दूरी पार गर्न दुई मिनेट २०.३० सेकेन्ड समय खर्चिएकी थिइन् । उक्त स्पर्धामा रुसी खेलाडी युलिया एफिमोभा दोस्रो भइन् । ओलम्पिक सुरु हुनुअघि डोपिङ विवादमा मुछिएकी एफिमोभाले निर्धारित दूरी पार गर्न दुई मिनेट २१.९७ सेकेन्ड समय खर्चिइन् । निर्धारित दूरी दुई मिनेट २२.२८ सेकेन्डमा पूरा गरेकी चीनकी झिङ्लिन सी तेस्रो भइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.