नेपालको निराशाजनक ब्याटिङ ३५ ओभरमा ७ विकेट गुम्यो
काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले नेदरल्यान्डसविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ ।
नेदरल्यान्डसमा जारी खेलमा ३५ ओभरको समाप्तिमा नेपालले ७ विकेट गुमाउँदै ८९ रन जोडेको छ । नेपालका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, शरद भेषावकर, पारस खड्का, राजु रिजाल र विनोद भण्डारी आउट भएका छन् ।
ज्ञानेन्द्र मल्ल १२ बलमा २ चौकासहित ११ रन बनाएर आउट भए भने अनिल मण्डल ३९ बलमा २० रन बनाउदै क्याच आउट भए । सँगै शरद भेषावकर ७१ बलमा १४ रन मात्र बनाएर आउट भए भने पारस खड्का पहिलो बलमै गोल्डेन डकआउट भए ।
त्यस्तै सागर पुन ३१ बलमा ७ रन बनाएर आउट भए भने राजु रिजाल दुई बलमा ३ रन बनाउदै आउट भए भने विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए ।
कुनै पनि ब्याट्सम्यानले सन्तोषजनक ब्याटिङ गर्न नसक्दा नेपालको प्रदर्शन कमजोर देखिएको छ । नेपाल नेदरल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
विश्व क्रिकेट लिग च्याम्पियनको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाएको हो । आठ टोली सहभागी विश्व क्रिकेट लिगमा नेदरल्यान्ड शीर्ष स्थानमा छ भने नेपाल छैठौँ स्थानमा छ । नेपालले सोमबार समेत नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी शीर्ष चार टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटको प्रतिस्पर्धा गर्न पाउने छन् ।
प्रतियोगितामा नेपाल, नेदरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्ससहि ८ राष्ट्र सहभागी छन् ।
६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा भने ६ खेलमा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।