लेडेस्कीको उत्कृष्ट प्रदर्शन

लेडेस्कीको उत्कृष्ट प्रदर्शन

रियो दी जेनेरियोः अमेरिकी पौडीबाज केटी लेडेस्की प्रशस्तै आशा र अपेक्षासहित अघिल्लो साता रियो ओलम्पिक खेलकुदमा सहभागी हुन ब्राजिलको राजधानी पुगेकी थिइन् । ठूलो प्रतियोगिताअघिको आशा र अपेक्षाले प्रायः खेलाडीलाई नकारात्मक असर पार्ने गर्छ ।

अर्थात् त्यही अपेक्षा खेलाडीका लागि दबाब बन्न पुग्छ र त्यसको नतिजा नकारात्मक हुने गर्छ । तर, यी १९ वर्षीया किशोरीले भने ती आशा र अपेक्षालाई शक्तिमा बदल्दै रियो ओलम्पिक खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनको यो प्रदर्शनलाई ओलम्पिक खेलकुदमै उत्कृष्टमध्ये एक मानिएको छ ।

अमेरिकाको वासिङ्टन डीसीकी लेडेस्कीले शुक्रबार राति पौडीको आठ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै जारी रियो ओलम्पिक खेलकुदमा आफ्नो स्वर्णको संख्या चार पुर्‍याएकी छन् । यससँगै लेडेस्कीले आफ्नो नाममा कीर्तिमान थपेकी छन् । लेडेस्की एउटै ओलम्पिक खेलकुदअन्तर्गत पौडीको दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर फ्री स्टाइलमा स्वर्ण जित्ने मात्र दोस्रो महिला खेलाडी बनेकी छन् । उनीभन्दा अघि आमेरिकाकै डेब्बिई मेयरले यी तीन विधामा स्वर्ण पदक जितेकी थिइन् ।

डेब्बिईले सन् १९६८ मा मेक्सिकोमा भएको ओलम्पिकमा सो सफलता हात पारेकी थिइन् । लेडेस्कीले डेब्बिईको कीर्तिमान बराबरी गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘म कीर्तिमानका बारे त्यति धेरै सोच्दिनँ', लेडेस्कीले भनेकी छन्, ‘तर डेब्बिईको कीर्तिमान बराबरी गर्न पाउँदा निकै खुसी लागेको छ ।'

यस्तै उनी एकै ओलम्पिक खेलकुदमा सर्वाधिक चार स्वर्ण पदक जित्ने पनि तेस्रो अमेरिकन महिला पौडी खेलाडी बनेकी छन् । उनीभन्दा पहिले अमेरिकाकै एमी भान डिकेन र मिस्सी फ्रांकलिनले एकै ओलम्पिक खेलकुदमा त्यो सफलता हात पारेका थिए ।

चार वर्षअघि १५ वर्षको उमेरमा लन्डन ओलम्पिकमा सहभागी भएकी लेडेस्की त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् । उनले यस अघि रियो ओलम्पिक खेलकुदमै पौडीको दुई सय मिटर र चार सय मिटर तथा चार गुणा एक सय मिटरमा स्वर्ण पदक जितेकी थिइन् ।

चार गुणा चार सय मिटरको फ्री स्टाइलमा भने उनको टोली दोस्रो भएको थियो । शुक्रबार उनले आठ सय मिटरमा नयाँ विश्वकीर्तिमानको समयसहित स्वर्ण पदक जितेकी हुन् । उनले आफ्नो पुरानो विश्वकीर्तिमानमा सुधार ल्याउँदै आठ मिनेट ०४.७९ मिनेटको नयाँ समयसहित स्वर्ण पदक जितेकी हुन् ।

आठ सय मिटर फ्रिस्टायलमा समेत स्वर्ण जितेपछि लेडेस्कीले आफ्नो इच्छा पूरा भएको बताइन् । ‘म सहभागी यी सबै स्पर्धामा स्वर्ण जित्न चाहन्छु । त्यसमा सफल भएकी छु', लेडेस्कीले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.