आयोजक ब्राजिल सेमिफाइनलमा 

आयोजक ब्राजिल सेमिफाइनलमा 

रियो दी जेनेरियोः आयोजक ब्राजिल रियो ओलम्पिकअन्तर्गत फुटबलको महिला र पुरुष दुवै स्पर्धाको सेमिफाइनल पुगेको छ । पुरुष स्पर्धाको आइतबार राति भएको क्वार्टरफाइनल खेलमा ब्राजिलले कोलम्बियालाई २-० गोलले हरायो ।

ब्राजिलको जितमा नेमार र लुवानले एकएक गोल गरे । नेमारले प्रतियोगितामा व्यक्तिगत रूपमा पहिलो गोल गरेका हुन् । कप्तानसमेत रहेका नेमारले १२ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । नेमारले २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन् । नेमारकै पासमा लुवानले ८३ औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

ब्राजिल लगातार तेस्रो पटक ओलम्पिक फुटबलको सेमिफाइनल पुगेको हो । ओलम्पिक खेलाउनकै लागि ब्राजिलले नेमारलाई कोपा अमेरिकामा टोलीमा समावेश गरेको थिएन । सानै उमेरमा चर्चाको शिखरमा पुगेका नेमारबाट ब्राजिलको ठूलो अपेक्षा गरेको छ ।

नेमारले हालसम्म सिनियर राष्ट्रिय टोलीका लागि पनि उपाधि जित्न सकेका छैनन् । नेमार क्वार्टरफाइनलमा गम्भीर घाइते भएपछि गत सिनियर विश्वकपका अघिल्ला खेलमा उनको साथ नपाएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएको थियो । सिनियर विश्वकपमा सर्वाधिक ६ पटकको विजेता ब्राजिलले ओलम्पिक फुटबलमा भने हालसम्म स्वर्ण पदक जित्न सकेको छैन ।

ओलम्पिक फुटबलमा ब्राजिलले हालसम्म तीन पटक रजत र दुई पटक कांस्य जितेको छ । लन्डन ओलम्पिकमा ब्राजिल उपविजेतामै सीमित भएको थियो । त्यतिबेला नेमारले निकै चर्चा कमाए पनि फाइनलमा जम्न सकेनन् । यस पटक ओलम्पिकमा ब्राजिलको सुरुवात राम्रो हुन सकेको थिएन ।

समूगहत चरणको अघिल्ला दुई खेलमा बराबरीमा सीमित भएको घरेलु टोली समूहगत चरणको अन्तिम खेलमा डेनमार्कलाई ४-० गोलले हराएर अन्तिम आठमा पुगेको हो । ब्राजिलले सेमिफाइनलमा होन्डुरसको सामना गर्नेछ । होन्डुरसले क्वार्टरफाइनलमा दक्षिण कोरियालाई १-० गोलले हरायो । होन्डुरसको जितमा अलबर्थ एलिसले ५९ औं मिनेटमा निर्णायक गोल गरे । होन्डुरस ओलम्पिक फुटबलमा पहिलो पटक सेमिफाइनल पुगेको हो ।

यसैगरी विश्वकप विजेता जर्मनी र अफ्रिकी टोली नाइजेरिया पनि अन्तिम चारमा पुगेका छन् । जर्मनीले युरोपियन च्याम्पियन पोर्चुगललाई ४-० गोलले हरायो । डेनमार्कविरुद्धको खेलमा नाइजेरिया २-० गोलले विजयी भयो । जर्मनीको जितमा सर्ज जिनाब्री, म्याथियस गिन्टर, डेभी सेल्क र फिलिप म्याक्सले एकएक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेको जर्मनीले मध्यान्तरपछि तीन गोल थपेको हो । ओलम्पिक फुटबलमा जर्मनी हालसम्म फाइनलसम्म पनि पुग्न सकेको छैन ।

जर्मनीले सेमिफाइनलमा नाइजेरियाको सामना गर्नेछ । डेनमार्कविरुद्ध नाइजेरियालाई जिताउन जोन ओबी मिकेल र अमिनु उमारले एकएक गोल गरे । २९ वर्षीय अनुभवी खेलाडी मिकेलले १६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । मिकेलकै पासमा उमारले ५९ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । नाइजेरियाले सन् १९९६ को एट्लान्टा ओलम्पिकमा स्वर्ण र सन् २००८ को बेइजिङ संस्करणमा रजत पदक जितेको थियो ।

महिलातर्फको क्वार्टरफाइनलमा ब्राजिलले अस्ट्रेलियालाई सडन डेथमा पराजित गर्‍यो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा दुवै टोलीले सुरुका चार प्रहारमा गोल गरे पनि पाँचौं प्रहार असफल भयो । त्यसपछि दुवै टोलीले लगातार दुई प्रहारमा गोल गरे । आठौं प्रहारमा ब्राजिलले गोल गरे पनि अस्ट्रेलिया असफल बन्यो । अस्ट्रेलियाका अलान्ना केन्नेडीको प्रहार गोल हुन सकेन ।

ओलम्पिक महिला फुटबलमा पनि ब्राजिलले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन । सन् २००४ र सन् २००८ को संस्करणमा फाइनलसम्म पुगे पनि ब्राजिल रजत पदकमै सीमित भएको थियो । ब्राजिलले सेमिफाइनलमा स्विडेनको सामना गर्नेछ । अर्को सेमिफाइनलमा जर्मनीले क्यानडाको सामना गर्नेछ । अर्को खेलमा क्याडनाले फ्रान्सलाई १-० गोलले हरायो । क्यानडाकी सोफी स्मिटले ५६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । क्यानडाले अघिल्लो ओलम्पिकमा जितेको कांस्य पदक नै महिला फुटबलको हालसम्मकै ठूलो सफलता हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.