चीनले बनायो सामागाउँको सीमासम्म सडक
गोरखाः तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत, पूजामा सहभागी हुन गएका गोरखा सामागाउँका बासिन्दा पूजा सकेर गाउँमा गाडी चढेर फर्किए । तिब्बती क्यालेण्डर अनुसार छ महिनाको ४ गतेका दिन आयोजना भएको ब्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना सामागाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमानाको ३५ नम्बर पिलरसम्म आउन पाउँदा खुशीको सीमा रहेन ।
‘गाउँका मान्छे पहिलो पटक गाउँमा मोटर चढ्न पाउँदा धेरै खुशी भए’, साम्दोका निमा दोर्जेले भने, ‘गाउँमै यसरी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन । तर चीन सरकारले गाउँको सीमानासम्म मोटर बाटो बनाएर गाडी कुदायो । हाम्रा गाउँले पनि चढ्न पाए ।’ उनीहरु रुईढाप्केदेखि सामागाउँ र तिब्बतको सीमानामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन् । गत वैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जीप, मोटरसाइकल चल्ने गर्छ ।
चीन सरकारले गोरखाको सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म मोटरबाटो निर्माण गरेको छ । यहाँ चीन स्वशासित क्षेत्र तिब्बतको जोङ्गा जिल्लाको कोङदाङ सहरबाट सडक निर्माण गरिएको हो ।
जोङ्गा जिल्लाबाट दुई बर्षअघि निर्माण कार्य सुरु गरिएको मोटरबाटो गत बैशाख महिनामा रुईसम्म जोडिएको हो । यो सडक कालोपत्रे भने गरिएको छैन । ‘दुईबर्षअघि नै सडक खनेको थियो । गतबर्ष भुइँचालोले त्यता पनि असर ग¥यो त्यही भएर काम रोकिएको थियो’ सम्दोका निमा दोर्जेले भने ‘यो बर्षचाहिँ बैशाख महिनामा रुई गाउँ हुदै हाम्रो सीमानाको ३५ नंबर पिलरसम्म सडक बनायो ।’ अहिले ठाउँ ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको पनि उनले बताए ।
रुई नजिकै गोरखाको साम्दो गाउँ पर्छ । ३५ नंबर पिलर साम्दोबाट करिब १२ किलोमिटर पर छ । अहिले यो सडकमा मोटरसाइकल, ट्रक, जीप सञ्चालनमा छ । यहाँ हिउँदमा हिउँ परेका कारण सवारी बन्द हुन्छ । स्थानीयका अनुसार बर्खा महिनामा मात्र यो सडक सञ्चालन हुने गर्छ ।
यो बाटो गोरखाको सामागाउँसम्म ल्याउने उद्देश्यका साथ निर्माण गरिएको स्थानीयबासीले अनुमान गरेका छन् । सामागाउँसम्म आइपुग्न अझै करिब १५ किलोमिटर खन्नुपर्छ । नेपाल सरकारको अनुमति पाएमा छिट्टै बाटो निर्माण गरिदिने त्यहाँको स्थानीय सरकारको भनाइ उद्धृत गर्दै साम्दोका निमा दोर्जेले बताए ।
स्थानीय लाक्पाडुण्डुप लामाका अनुसार चीन सरकार रुईबाट गोरखाको साम्दो र सामागाउँसम्म सडक जोड्न चाहन्छ । ‘नेपाल सरकारले अनुमति दियो भने सामागाउँसम्म चीन सरकारले सडक निर्माण गरिदिन्छ’ उनी भन्छन् ‘किनभने साम्दोबाट गोरखा सदरमुकामसम्म र साम्दोबाटै मनाङको भिमथाङ, धारापानी, लम्जुङको बेशीसहर र पोखरासम्म सडक जोड्न सजिलो पर्छ ।’ तर नेपाल सरकारले भने पश्चिमभोट सामागाउँ भन्दा पूर्वीभोट छेकम्पार हुदै तिब्बतसंग सडक जोड्ने काम अघि बढाएको छ ।
जिल्लास्थित सडक कार्यालयले बेनिघाट, आरुघाट लार्के नामक आयोजना सञ्चालन गरेर सडक निर्माणको काम सञ्चालन गरिरहेको हो । लार्के सामागाउँ गाविसमा नै पर्छ । यो साम्दोबाट केही पर तिब्बतको नजिकै पर्ने ठाउँ हो । जिल्लास्थित सडक योजना कार्यालयका अनुसार यो सडक बनेमा यो सडक १६२ किलोमिटर लामो बन्नेछ । काम अति ढिलो सञ्चालनमा छ ।
लार्केबाट भन्दा छेकम्पारबाट तिब्बत सडक जोड्न चाहेकाले नेपाल सरकारले छेकम्पारसम्म तीनबर्ष अघि हेलिकोप्टरद्वारा डोजर बोकेर लगी सडक खनिरहेको छ । छेकम्पार गाविस रसुवा जिल्लासंग जोडिएको गाविस हो । तीनबर्ष अघिदेखि सुरु भएको यो सडक अहिलेसम्म छेकम्पारको म्हु गुम्बासम्म मात्र १६ किलोमिटर मात्र खनिएको सडक योजना कार्यालयका प्रमुख प्रेमप्रकास खत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !