महेन्द्र मञ्जिलमा सरकारले बिजुली जोडिदियो
काठमाडौँ : सरकारले पूर्वमुमा बडामहारानी रत्न शाह बस्ने नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलमा आइतबार काटिएको बिजुलीको लाइन सोमबार अपरान्ह जोडिदिएको छ।
महेन्द्र मञ्जिलमा बिजुलीको लाइन काटेर सरकारले संवेदनहीनता प्रदर्शन गरेको भन्दै सबैतिरबाट विरोध र आलोचना भएपछि सोमबार लाइन जोडिएको हो। आजै अपरान्ह पौने पाँच बजे मुमा बडामहारानी बस्दै आएको महेन्द्र मञ्जिलमा बिजुलीको लाइन जोडिएको जानकारी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिए। काफ्लेका अनुसार पर्यटन मन्त्रालयले बाँकी बक्यौता तिर्ने प्रकिया सुरु भएको जानकारीसहितको पत्र उर्जा मन्त्रालयलाई पठाएपछि प्राधिकरणले पुन: बिजुली जोडिदिएको हो।
ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुस नतिर्ने ग्राहकको लाइन काट्ने अभियान सुरु गर्ने क्रममा आइतबार महेन्द्र मञ्जिलको लाइन काटेको थियो। सरकारी स्वामित्वअन्तर्गत रहेको महेन्द्र मञ्जिलको नाममा ३५ लाखभन्दा बढी बक्यौता देखिएको छ।
बिजुलीको लाइन काटिए पनि महेन्द्र मञ्जिलको स्वामित्व र यसको व्यवस्थापनको दायित्व भने सरकारकै नाममा छ। गणतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनको परिवारले नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम सरकारले आजीवन त्यहाँ बस्न दिने निर्णय गरेको थियो। पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको सम्पूर्ण व्यवस्थापन सरकारी निकायबाट हुँदै आएको छ ।
गणतन्त्र घोषणापछि महेन्द्रले उपहार दिएको महेन्द्र मञ्जिल पनि सरकारले हडपेर आफ्नो स्वामित्वमा लिएको थियो। सरकारको यो कदमको सामाजिक सञ्जालमा पनि चर्को विरोध भएको थियो।