फोटो पत्रकारको बिमा शिखर इन्स्योरेन्स गर्ने
काठमाडौँः शिखर इन्स्योरेन्सले फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामेराको बिमा गर्ने भएको छ। बुधबार फोटो पत्रकार क्लब र शिखर इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार शिखरले बिमा गर्ने भएको हो ।
बुधबार क्लबका अध्यक्ष विकास कार्की र इन्स्योरेन्सका कार्यकारी निर्देशक दीपककुमार पाण्डेले दुर्घटनाको पाँच लाख, क्यामेराको तीन लाख र स्वास्थ्यको एक लाख बिमा गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि फोटो पत्रकार क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फोटो पत्रकारको क्यामेरा चोरी भएको अवस्थामा बिमा दाबी गर्न नसकिने र अन्य अवस्थामा गरिने बिमा दाबी क्लबको सिफारिसका आधारमा हुनेछ ।’
सम्झौतापछि फोटो पत्रकार क्लबका अध्यक्ष कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यबाट फोटो पत्रकारलाई ढुक्क भएर कार्यक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।