प्रधानमन्त्रीलाई खबरदारी

प्रधानमन्त्रीलाई खबरदारी

 काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ—काठमाडौं फास्ट ट्र्याक, नौमुरे जलविद्युत् परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरूले प्रधानमन्त्री दाहाललाई त्यस्तो निर्देशन दिएका हुन् । राष्ट्रियताको मामिलामा भारतसँग नचुक्न माओवादी नेताहरूले खबरदारी गरेपछि प्रधानमन्त्री दाहालले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीका नेताहरूको निर्देशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने प्रतिबद्धता व्यक्त गरे ।

माओवादी केन्द्रको सरकार सञ्चालन सहयोग समितिको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका सन्दर्भमा नौमुरे जलविद्युत् परियोजना र पुलिस एकेडेमी निर्माण गरिदिन भारतलाई प्रस्ताव गर्ने जानकारी गराएपछि नेताहरूले त्यसो नगर्न सचेत र सतर्क गराएका हुन् ।

एक नेताका अनुसार बैठकमा नेता देव गुरुङले आन्तरिक सुरक्षा मामिलामा विदेशी लगानी भित्र्याउन नहुने, नौमुरेको बिजुली र पानी नेपालले उपयोग गर्न नसक्ने अवस्थामा भारतलाई निर्माण गर्न दिने प्रस्ताव राष्ट्रहितविपरीत हुने तर्क गरेपछि दाहाल झस्किएका थिए ।

दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा २०६५ सालमा दुई सय ४० मेगावाट क्षमताको नौमुरे जलविद्युत् परियोजना उपहारस्वरूप बनाइदिने वचन भारतले दिएको थियो । भालुवाङमा बाँध बाँधेर कपिलवस्तु र दाङमा सिँचाइ सुविधा उपलब्ध गराई सिक्टा सिँचाइमा पानी आपूर्ति हुने गरीमात्र नौमुरे जलविद्युत् परियोजनालाई अगाडि बढाउन उपयुक्त हुने धारणा गुरुङले बैठकमा राखेका थिए । ‘ए, नौमुरेमा त पानीको मुद्दा पो मुख्य रहेछ’, दाहालले जबाफ दिएका थिए ।

भारत भ्रमणमा सतर्क रहने प्रधानमन्त्री दाहालको प्रतिबद्वता ।

पुलिस एकेडेमी पनि नेपालको डिजाइन र योजनामा बनाउन कुनै विदेशीले सहयोग दिन्छ भने त्यसलाई उपयोग गर्न सकिने भए पनि विदेशीलाई नै बनाउन दिने विषय राष्ट्रहितमा नहुने तर्क गुरुङले राखेका थिए । ‘प्रधानमन्त्री कस्ता मान्छेहरूसँग परामर्श गरिरहनुभएको छ, त्यो नै बुझिएन ।

उहाँ इमानदार हुँदाहुँदै पनि राष्ट्रहितमा भारतसँग चुक्ने गरी प्रस्ताव अगाडि बढाउन खोजेको देखियो’, एक नेताले अन्नपूर्णसँग भने, ‘हामी भारतसँग राष्ट्रिय हितका विषयमा चुकिदिए हुन्थ्यो भनेर एकथरी नेता र पार्टीहरू लागिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषयमा सचेत र सतर्क रहन खबरदारी गरिएको छ ।’

दाहालले नै बैठकमा आफू भारत जान लागेको प्रसंग उठाउँदै कुनकुन विषय उठाउने हो भनी नेताहरूलाई सोधेका थिए । ‘हामीलाई राष्ट्रिय हितका मुद्दामा सेबोटेज गराउन खोजिँदैछ । सतर्क रहनुस् भनेर हामीले भन्यौं । उहाँले पनि म सजग र सतर्क छु भन्नुभयो’, अर्का एक नेताले भने । कांग्रेस नेता शेरबहादुर देउवा र उपप्रधानमन्त्री विमलेन्द्र निधिले फास्ट ट्र्याक भारतीय कम्पनीलाई जिम्मा दिने प्रस्ताव अगाडि बढाइरहेको उल्लेख गर्दै माओवादी केन्द्रका नेताहरूले त्यस विषयमा पनि सचेत र सजग रहन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई कूटनीतिक पत्राचार गरिएको दाहालले प्रस्ट्याए । प्रमुख प्रतिपक्षी दल एमालेले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री दाहालले पठाएको पत्र सार्वजनिक गर्न आग्रह गरेपछि माओवादी केन्द्रका नेताहरूले पनि त्यो विषय उठाएका छन् । बैठकमा समितिका रहेका नेताहरूले प्रधानमन्त्री मोदीलाई पठाइएको पत्रको विषयवस्तुबारे प्रस्ट पार्न दाहाललाई आग्रह गरेका थिए ।

‘संविधान संशोधनका विषय र राजनीतिक कुरा त्यो पत्रमा छैन । कूटनीतिक पत्राचार मात्रै हो । आन्तरिक राजनीतिको विषय पत्रमा समेटिएको छैन’, दाहालले दिएको जबाफ उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने ।

‘संविधान संशोधन र भारत भ्रमणको अन्तरसम्बन्ध नै छैन । किन यस्तो बोलिराख्नुभएको छ ? ’ संविधान संशोधन प्रस्ताव दर्ता गरेर भारत जाने दाहालको भनाइ उद्धृत गर्दै नेता गुरुङले प्रश्न उठाएका थिए । ‘भारत भ्रमण कूटनीतिक सम्बन्धको कुरा हो भने संविधान संशोधन हाम्रो आन्तरिक राजनीतिक विषय हो । यसलाई जोड्नुपर्ने कुनै कारण छैन’, गुरुङले बैठकमा भनेका थिए ।

केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको समितिमा रामबहादुर थापा, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, नेताहरू मातृका यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार छन् । सरकारका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन सघाउने उद्देश्यले गठन गरिएको समितिमा प्रधानमन्त्री दाहालले अहिलेसम्म केही सकारात्मक कामको थालनी गरे पनि मुख्य, ऐतिहासिक र चुनौतीपूर्ण काम सुरु गर्न बाँकी रहेको बताएका थिए ।

‘जनतालाई राहत दिन केही सकारात्मक कामको थालनी भएको छ । चुनौतीपूर्ण रहेका मुख्य र ऐतिहासिक काम गर्न बाँकी छ’, श्रेष्ठले भने, ‘सरकारका कामलाई परिणाममुखी र प्रभावकारी बनाउन पार्टी र संगठनलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.