उच्च रक्तचापः जान्नै पर्ने कुरा

उच्च रक्तचापः जान्नै पर्ने कुरा

आधुनिकीकरणसँगै संसारमा नयाँनयाँ स्वास्थ समस्या देखिँदै गएका छन् । रक्तचाप अर्थात् ब्लडप्रेसर यसैको एउटा उदाहरण हो । पहिले आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या हाल प्रशस्तै देखिन थालेको छ । कतिपय २०-३० वर्षका युवाले समेत यसको नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये दुई, तीन प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

बदलिँदो जीवनशैलीसँगै मानिसहरूमा विलासको रहर बढेको छ । मीठोमीठो खानुपर्ने, मांसाहारी खाना बढी रुचाउने, रक्सी, सुर्तीजन्य नशाको सेवन, मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिँदै गएको देखिन्छ । फलस्वरूप हृदयाघात, प्यारालाइसिस् (मस्तिष्कघात), मिर्गौला तथा आँखामा क्षति आदि ह्वात्तै बढेको छ ।

ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका, भोगेकाले मात्रै बुझेका हुन्छन् । ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभर खानुपर्छ रे, साइडइफेक्ट गर्छ रे ! जस्ता अनेकौं भनाइ सुनिन्छन् । औषधि नखाई सधै हाई ब्लडप्रेसर लिएर हिँड्दा के कस्ता खतरा हुन्छन् भन्नेमा खासै ध्यान दिइएको देखिँदैन ।


 औषधि किन खाने ?

ब्लड पे्रसर उच्च भएका बिरामी सबैमा लक्षण देखिनैपर्छ भन्ने हुँदैन । कसैलाई माथिको (सिस्टोलिक) प्रेसर १५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने हुनपुग्छ । कोहीमा २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छ । बिरामीहरू प्रायः अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाई भएर पनि लक्षण नदेखिनु लक्षण देखिने प्रेसरभन्दा खतरनाक हुन सक्छ ।

लक्षण नदेखिँदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउन सक्छ । लक्षण नदेखिए पनि निरन्तर हाई प्रेसरले शरीरका अंगमा पुर्‍याउने क्षति पुर्‍याई नै रहेको हुन्छ- विशेषगरी मुटु, मिर्गाैला, आँखा र मस्तिष्कमा । यस्ता बिरामीमा एकैचोटि हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा आउने गरेको भेटिएको छ । ब्लडप्रेसर समयसमयमा जँचाइरहनु आवश्यक छ । भविष्यमा हुन सक्ने क्षतिबाट बच्न औषधि सेवन गर्नु आवश्यक छ ।

औषधि सधैं खानुपर्छ रे !

अरू समस्याका लागि औषधि खान खासै डराउँदैनन् तर ब्लडप्रेसरको औषधि भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्न सक्ने नोक्सानीबारे पर्यात ज्ञान नभएकाले नै मानिस हच्केको हुन सक्छ ।

हुन त, ब्लडप्रेसर धेरै हाई नभएको र शरीरका अंगमा क्षति नपुगिसकेको अवस्थामा पहिलोपल्ट देखिएको ब्लडप्रेसरका लागि केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर घटाउने कोसिस गर्न सकिन्छ । तर, यस्ता उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन । खानामा नुन, चिल्लोको मात्रामा कमी, दिनहुँ शारीरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने गर्नाले फाइदा हुन्छ ।

औषधि बन्द गर्न मिल्छ ?

औषधिको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लडप्रेसरलाई नियन्त्रणमा राखेर शरीरका अन्य अंगमा क्षति पुग्नबाट यसले बचाइरहेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाहबमोजिम खानामा सावधानी अपनाउँदा, नियमित व्यायाम आदि गर्दै गएमा ब्लडप्रेसर घट्दै जान सक्छ । बारम्बार नाप्दा पनि आवश्यकभन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम गर्ने वा औषधि नै बन्द पनि गर्न सकिन्छ ।

किड्नी खराब गर्छ रे नि !

‘साइडइफेक्ट’ सबै औषधिको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मिर्गाैला खराब गर्छ । खानेकुराको पनि आफ्नै किसिमको साइडइफेक्ट हुन्छ । चिनी, गुलियो धेरै खाए मोटोपना बढ्छ, नुन धेरै भए प्रेसर बढ्छ । चिल्लो धेरै खाए रगतमा कोलेस्ट्रोल बढ्छ र त्यसबाट मुटुरोगको खतरा हुन्छ ।

तर, यसो भनेर खानेकुरै नखान त सकिँदैन । ब्लडप्रेसरका औषधिको पनि आफ्नै किसिमका साइडइफेक्ट छन् । तर, ती सबै साइडइफेक्ट सधैं सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइडइफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०-३० वर्ष लगातार औषधि सेवनपछि देखिन्छन् ।

साइडइफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइडइफेक्टले गर्ने क्षतिबाट जोगिन सकिन्छ । तर, साइडइफेक्ट गर्छ भनेर औषधि सुरु नगरी सधैं ब्लडप्रेसर हाई लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मिर्गौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्नेजस्ता भयानक असर हुन सक्छन् ।

रक्सी, चुरोट छोड्नुपर्छ र ?

रक्सी, चुरोट, सुर्ती सेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षतिबाहेक केही गर्दैन । धूमपान गर्ने मानिसलाई हाई ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सरलगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ ।

जाँड, रक्सी खाँदा हामीमध्ये कतिजनाको एउटा सीमामा रहेर खाने बानी छ ? मैले देखेको ब्लडप्रेसरका धेरै बिरामीमध्ये पाँच प्रतिशतमात्र संयमी भेटेको छु । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै भूमिका रहन्छ । केही अध्ययनमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरका बिरामीले नपिउनु नै ठीक हुन्छ ।

अधिकांश मानिस रक्सी भनेको ह्विस्कीमात्रै हो भन्ने ठान्छन् । तर बियर, वाइन, रम, जिन, भोड्का, ब्रान्डी यी सबै रक्सीकै वर्गमा पर्छन् । फरक यत्ति हो यर, वाइन आदिमा अल्कोहलको मात्रा कम हुन्छ, अरूमा बढी ।

किन प्रेसर घट्दैन

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, ओजन, साथमा रहेको अरू समस्या, खानपान, व्यक्तिले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुईतीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि । ब्लडप्रेसरको औषधि कति मात्राको खाने भन्ने व्यक्तिपिच्छे फरक हुन्छ ।

ब्लडप्रेसरको औषधि कुनै २.५ मिलिग्रामबाट सुरु हुन्छ, कुनै २५ बाट त कुनै २० बाट । एउटा किसिमको औषधिको २.५ मिलिग्राम बराबर अर्को किसिमको औषधिको २५ मिलिग्राम पनि हुन सक्छ । २५ मिलिग्राम भन्दैमा एकदम ‘हाई डोज’ भन्ने बुझ्नुहुँदैन ।
के गर्नु बिजनेस म्यान परियो, साँझ त यसो बस्नै पर्‍यौ नि !

व्यापारी व्यवसायी धेरैको निहुँ यही हुन्छ । ‘बिजनेस’ पनि चलाउनै पर्‍यो, बिजनेस चलाउन पार्टीको मन राख्नैपर्‍यो । अनि मन राख्न यसो बसिदिनैपर्‍यो । यता पैसा उठाऊ, उता झगडा गर, यता सामान सप्लाई, उताबाट सामान छुटाऊ, बिहान उठेदेखि फोन, यता जाऊ, उता जाऊ बेलुकी अफिस छुटेपछि पार्टीसँग मिटिड, राति घर आयो, नसुतुन्जेल फेरि फोन ।

उठ्नेबित्तिकै उही दैनिकी । सधैं तनावपूर्ण वातावरण, आरामको कमी, शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जाँचको कमी भएपछि तिनमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्छ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन्, स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा पाउँछन् तर पनि स्वास्थ्य परीक्षणका लागि समय छुट्ट्याउन सक्दैनन् । मेरो घर छेउको दाइलाई अलिअलि प्रेसर छ भन्थ्यो, आज त हिँड्दाहिँड्दै ढलेछ, अब त औषधि सुरु गर्नै पर्ने भयो ।

कतिपय अवस्थामा बिरामी जतिसुकै सम्झाउँदा पनि औषधि सेवन गर्न राजी हुँदैनन् । तर, जब छरछिमेकमा, आफन्तमा कोही ढलेको, प्यारालाइसिस भएको, हृदयाघात भएको अथवा कसैको स्वास्थ्यमा ब्लडप्रेसरको असर परेकोे प्रत्यक्ष देख्छन् त्यसपछि बिरामी पूर्ण तनावमा आउँछन् र जतिसक्दो छिटो औषधि सुरु गरिदिन डाक्टरलाई अनुरोध गर्छन् ।

खुट्टा सुन्निनु

माथि भनिएजस्तै ब्लडप्रेसरको औषधिका पनि केही साइडइफेक्ट हुन्छन् । कुनै औषधि खाँदा खुट्टा सुन्निने समस्या हुन सक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिनेभन्दा कम गराउन सक्छ । ब्लडप्रेसरकै कुनै औषधिले सुक्खा खोकी लाग्ने गर्छ ।

स्वाँस्वाँ सुरु भएको हुन सक्छ । कुनै औषधिले मिर्गौलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधिले लोग्ने मानिसको लिंगको उत्तेजनामा कमी, यौनेच्छामा कमी आउने आदि समस्या पनि गर्न सक्छ । ब्लडपे्रसरको औषधि सुरु गरेपछि पहिले नभएका समस्या देखापरेजस्तो लागे डाक्टरसँग सम्पर्क राखिहाल्नुपर्छ । साइडइफेक्ट औषधि खानासाथै सबैलाई सधैं हुने चाहिँ होइन ।

निरन्तर जाँच

धेरै बिरामी औषधि सुरु गरेपछि शरीर आराम भएको महसुस भएमा नियमित औषधि खाइरहे पनि डाक्टरसँग वर्षौंसम्म जाँच गराउँदैनन् न त पटकपटक रक्तचाप जँचाएरै हेर्छन् । कारण सोध्दा औषधि सुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँ समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता बहाना बताउँछन् । नियमित औषधि खानेलाई औषधिको साइडइफेक्ट पनि हुन सक्ने जोखिम रहन्छ । नयाँ समस्या केही नभए पनि डाक्टरसँग नियमित कम्तीमा ६ महिनामा एकचोटि जाँच गराउने गरे हुन सक्ने क्षतिबाट जोगिन सकिन्छ ।

के के जाँच नियमित गर्ने

प्रेसरका बिरामी तथा प्रेसरको औषधि खाने बिरामीले रगतमा सुगरको मात्रा, हेमोग्लोबिनको मात्रा, मिर्गौला तथा पिसाबको जाँच तथा कोलेस्ट्रोलको जाँच कम्तीमा ६ महिनामा नियमितरूपमा गरिरहनुपर्छ । साथै ईसीजी, इको जाँच, मुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहो¥याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे नरहेको पनि पत्ता लाग्छ ।

जाँच प्रविधि

समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसँगै ब्लडप्रेसर नाप्ने मेसिन, मोबाइल एप्लिकेसनहरू अचेल सजिलै उपलब्ध हुन थालेका छन् । तर, अस्पतालहरूमा भने एनोरोइड मेसिन नै बढी प्रयोगमा आउँछन् । यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मेसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा तुरुन्तै दोहोर्‍याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक देखिएको, सुनिएको छ ।

यस्ता मेसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिनेभन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मीकहाँ फेरि नापेर ‘कन्फर्म’ गरेको राम्रो हुन्छ । कोही कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधैं एकदम नर्मल भेटिने तर डाक्टर, नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक बढ्ने समस्या हुन्छ ।

डाक्टरहरूले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाई ब्लडप्रेसरका बिरामीमध्ये करिब २० प्रतिशत समूहमा यो समस्या देखापर्ने अध्ययनमा देखिएको छ । साँच्चिकै हाई हो वा इफेक्टमात्रै हो भन्ने पहिचान गर्न २४ घन्टा मेसिन लगाएर ब्लडप्रेसरको अध्ययन गर्ने एबीपी मेसिनको सहयोग पनि लिइन्छ ।

नुन मुखमा हालेकै छैन

ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नुनको मात्रा कम गर्न भनेका हुन्छन्, बन्द गर्न होइन । नुन कम गर्ने भनेको नुन भएको धेरै किसिमको परिकार नखाने भनेको हो । शरीरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नुन हो । त्यसभन्दा बढी ब्लडप्रेसरका लागि ठीक हुँदैन । केही मात्रामा नुन त शरीरका लागि पनि चाहिन्छ । नुन चटक्कै बन्द गर्नाले शरीरमा अन्य समस्या हुन सक्छ । नुन चटक्कै बन्द गर्न हुँदैन ।

दिनहुँ करेला ?

कति बिरामी औषधि नखाने तर करेला, मेथी, नीमको पात, घिउकुमारी खाने, आयुर्वेदिक उपाय गर्ने, योग, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपर्छ । माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन तर यी सबै गरे पनि ब्लडप्रेसर नाप्दै पनि गर्नुपर्छ । र, ब्लडप्रेसर नियन्त्रण भएन भने औषधि त खानै पर्छ ।

औषधि खाए डिप्रेसन !

एउटा वर्गको मानिसमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी पाइन्छ भन्ने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो हो तर पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पर्छ । कुनै रोगका बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्द, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने हुँदैन ।

अनि यो भनेको यसो होला भन्दै अनुमानमा अर्थ लगाउँदै त्यस विषयमा लेखिएका कुनै रोगका लक्षण आफैंलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्नेजस्ता निराशावादी सोचको विकास हुने आदि समस्या पनि पाइएको छ । त्यसैले कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुरा प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । हैन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ ।

कुनै कुनै व्यक्तिमा डाक्टरलाई जाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टरकहांँ गएपछि केही न केही देखाइहाल्छन्, यो नखानू, यो नगर्नू भन्छन्, औषधि खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ त भन्ने खालको सोचले उनीहरू जाँच नै गराउँदैनन् । यो राम्रो बानी होइन ।

ब्लडप्रेसरको नकारात्मक असरबाट जोगिन व्यक्ति स्वयं आफ्नो स्वास्थ्यका विषयमा सचेत हुनु जरुरी छ । साधारणतया ४० वर्षको वरिपरि पुगेपछि दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सुर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने जस्ता नियम पालना गर्नैपर्ने हुन्छ । उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगले छुन थाल्छन् । लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.