सहरबाट गाउँ सर्दै चरा

सहरबाट गाउँ सर्दै चरा

काठमाडौं: काठमाडौं उपत्यकामा साँझबिहान अचेल पहिलेजस्तो धेरै चराचुरुंगी चिर्बिराउँदैनन् । घरको छत र बारमा झुम्मिने भँगेरा र कागको संख्या पनि त्यतिसारो देखिँदैन । चराविद्को एउटा टोलीले पनि काठमाडौं उपत्यकामा पाइने चराको संख्या सहरीकरणले घट्दै गएको तथ्य पत्ता लगाएको छ । उपत्यकामा गरिएको चरा गणनामा सबैभन्दा धेरै मलेवा फेला परेको छ । यसअघि धेरै पाइने भँगेरा भने दोस्रो स्थानमा झरेको छ । तेस्रोमा घर काग र चौथोमा रुप्पी (सारौं) छ ।

उपत्यकाको मुख्य सहर, सहरोन्मुख र ग्रामीण भेगमध्ये सबैभन्दा धेरै चरा ग्रामीण भेगमा पाइएका छन् । 'सहरमा पाइने चरा भने आधा कम छन्,' चराविद् हेमबहादुर कटुवालले अन्नपूर्णसँग भने, 'मान्छे र भौतिक संरचनाको भीडले चरा विस्थापित भएका छन् ।' उपत्यकामा पाइने चरामध्ये पाँचौंदेखि दसौंसम्म क्रमशः बस्तु बकुल्ला, रूख भँगेरा, घर गौंथली, वन रुप्पी, जुरेली, कालो चील र धोबिनी चरा छन् ।

यिनीहरूको संख्या पनि ग्रामीण भेगमा बढी छ भने सहरमा आधा मात्रै । जाडो र गर्मी दुई मौसममा गरिएको अध्ययनमा एक सय दुई प्रजातिका १३ हजार सातसय ४९ चरा भेटिएका छन् । यसमध्ये जाडोका बेला ८५ प्रजातिका ६ हजार चार सय ९६ चरा भेटिए भने गर्मीमा ६३ प्रजातिका सात हजार दुई सय ५३ भेटिए । यीमध्ये धेरै ग्रामीण भेगमा छन् । यसअघिका विभिन्न सानाठूला अध्ययनले सहरी क्षेत्रमा चराको संख्या बढी भेटिएको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको समेत संलग्नतामा गरिएको अध्ययनले सहरीकरणको गतिसँगै चराबारे नसोचिए धेरै चरा उपत्यकाबाट विस्थापित हुने चेतावनी दिएको छ । गोमायु महाचील जस्ता कतिपय संकटमा रहेका चरा पनि काठमाडौं उपत्यकामा भेटिएको जानकारी कटुवालले दिए । 'जाडोयाममा जाडो छल्न आउने तथा गर्मीमा बच्चा कोरल्न आउने चराका लागि पनि काठमाडौं राम्रो स्थान हो तर यसका लागि अव्यवस्थित सहरीकरण समस्या भइरहेको छ,' कटुवालले भने ।

काठमाडौंसहित देशका विभिन्न भागमा जाडो छल्न तथा बच्चा कोरल्न दर्जनौं प्रजातिका हजारौं चरा नेपाल आउँछन् । एउटा अर्को अध्ययनअनुसार सन् २००८ मा काठमाडौंमा पाँच सय प्रजातिका चरा भेटिएका थिए । सहरभित्रबाट चरा घट्नुमा सहरीकरण बढ्नु, अग्ला घर निर्माण हुनु, वायु तथा ध्वधि प्रदूषण बढ्नु तथा हाइटेन्सन लाइन जथाभाबी हुनु मुख्य कारण हुन् । उपत्यकामा अहिले पनि फिरन्ते चराको उपस्थिति बाक्लो छ ।

नेपालमा आठ सय ८७ प्रजातिका चरा पाइन्छन् । यीमध्ये ६ सय प्रजातिले नेपालमै बच्चा कोरल्छन् । विश्वै दुर्लभ भइसकेका ३७ प्रजातिका चरा नेपालमा पाइन्छन् । अध्ययनमा संलग्न विज्ञहरूका अनुसार मरुभूमीकरण, सिकार सबैभन्दा ठूलो चुनौती हो । सीमसार क्षेत्र घट्दै जानु तथा औद्योगिक तथा अन्य विभिन्न स्रोतबाट हुने प्रदूषणले चराचुरुंगी संकटमा पारेको हो । जलवायु परिवर्तनका कारण पनि चराको आवतजावतमा समस्या परिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.