संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
काठमाडौँः आइतबारको व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद एवम् संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।
अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा कार्यजोजना लागू गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गरेका हुन् ।
प्रस्ताव पेश गर्दै अधिकारीले सडक दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, कच्ची सडक र सिन्डिकेट भएको बताए । अधिकारीले पछिल्ला दिनमा सडक दुर्घटनाका गम्भीर दृश्य देखिएकाले यो महत्वपूर्ण विषयमा संसदमा छलफल गर्नुपर्ने अवस्था आएको बताए ।
अधिकारीले सार्वजनिक यातायातलाई भरपर्दो बनाउनुपर्नेमा समेत जोड दिए खराब सडकका कारण भएका दुर्घटनामा चालकलाई दोष दिएर मात्र नहुने समेत अधिकारीको भनाइ छ ।
अधिकारीले संसदमा पेश गरेको प्रस्तावको एमालेकै सांसद गणेश पहाडी र संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले समर्थन गरेपछि छलफल सुरु भएको छ ।