कस्तो छ तपाईंको शौचालय ?
![कस्तो छ तपाईंको शौचालय ?](https://annapurnapost.prixacdn.net/media/albums/Toilet-at-Baitadi-57cbc99faf5423.76963519_lbpFXjKCJp.jpg)
बैतडीः कुनै पनि घरपरिवारबारे थाहा पाउन भान्छाकोठा र शौचालय हेरे पुग्छ । सामान्यतया भान्छाकोठा प्रायः सबैले राम्रै राख्छन् तर शौचालयलाई धेरैले उत्ति महत्त्व दिँदैनन् । अझ दुर्गमतिरका गाउँघरमा त कतिपय घरले शौचालय नै बनाउँदैनन् । बनाइहाले पनि प्रयोगमा हुँदैन । प्रयोग गरे पनि सफा नहुन सक्छ ।
प्रयोग हुने शौचालयमा कि पानी हुँदैन कि त ढोका हुँदैन । भित्री भाग सफा गरे शौचालय वरिपरि फोहोर हुन्छ । यस्तै समस्याहरू देखेपछि बैतडीस्थित सिद्धेश्वर गाउँ विकास समितिका बालबालिकाले अभियान नै चलाएका छन्, 'सफा शौचालय सम्पूर्ण सुविधायुक्त शौचालय ।'
वडा बाल क्लबका अध्यक्ष सिद्धेश्वर ७ रागा जुजौनाका राकेश महरा साथीभाइ बटुलेर अचेल यसरी नै गाउँभरिका घरघरमा पुग्ने गरेका छन् । राकेश छरछिमेकका घर पुग्नासाथ सोध्ने गर्छन्, 'तपाईंको घरमा शौचालय छ ? प्रयोग भएको छ, छैन ? सफा छ कि फोहोर ? पानी र साबुनको प्रयोग गर्नुहुन्छ ? ' क्लबका पदाधिकारीहरू घरधनीले दिएको उत्तरले मात्र विश्वस्त हुँदैनन् । शौचालय भए पुगेरै सबै अवलोकन गर्छन् ।
उनीहरूसँग सफा र सुविधायुक्त शौचालयका लागि सोध्ने प्रश्नहरू अरू पनि छन् । शौचालय कच्ची छ कि पक्की, ढोका छ कि छैन, वरिपरि सफा छ, छैन र सफा भए फोहोर फाल्ने खाल्डो छ कि छैन ? भनेर सबै तथ्यांक टिप्छन् । सबै प्रश्नको सही जवाफ आए वा नआए पनि उनीहरूको अन्तिम प्रश्न हुन्छ, 'के तपाईंको घरका बालबालिकामा सरसफाइ पर्याप्त छ ? '
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभरका स्थानीय निकायमा लागू गरेको बालमैत्री स्थानीय शासनका सूचकहरू पूरा गर्ने क्रममा सिद्धेश्वर गाविसका बालबालिका यसरी लागिपरेका हुन् । गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिहरू बालमैत्री हुन सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक एवं क्षमता विकासलगायतका क्षेत्रमा तोकेका ३९ वटा सूचक पूरा गर्नुपर्ने हुन्छ ।
युनिसेफसँगको सहकार्यमा मुलुकभर बालमैत्री गाविस, नगरपालिका वा जिविस घोषणा गर्ने क्रममा भइरहेका प्रयासमध्ये सिद्धेश्वर पनि चाँडै बालमैत्री घोषणा हुन लागेको छ । बालबालिकाको जिज्ञासामा स्थानीय शेरसिंह महराले भने, 'कच्ची शौचालय प्रयोगमा छ तर पानी छैन, ढोका छैन, साबुन प्रयोग हुँदैन, भित्र र वरिपरि सफा छैन, फोहोर फाल्ने खाडल पनि छैन अनि बालबालिकाको व्यक्तिगत सरसफाइ पनि छैन ।' क्लबका पदाधिकारीहरूले एकैपटक भने, 'सरकारले बालमैत्री गाविस घोषणा गर्दैछ, हामी सात दिनभित्र आउँछौं, यी सबै समस्या समाधान नभए घोषणा गर्न मिल्दैन । यो तपाईंकै परिवारको स्वास्थ्यका लागि नै बढी आवश्यक हो ।'
क्लबले दिएको समयभित्र सूचकहरू पूरा नगरे सम्बन्धित अभिभावकलाई मासिक बैठकमा बोलाउँछ र पुनः सम्झाउँछ । वडा नागरिक मञ्चकी अध्यक्ष लक्ष्मी महराले बालबालिका शौचालयका लागि घर घरमा पुग्दा कतिपय अभिभावकले उल्टै गाली गरेर पठाउने गरेको बताइन् ।
उनले भनिन्, 'कोही बालबालिकालाई शौचालय बनाइदिन्छौ ? बनाउन पैसा दिन्छौ ? ए तिमेरुले सरसफाइ गरिदिने हो ? जस्ता उल्टापाल्टा प्रश्न गर्छन् ।' गाविससचिव प्रेम विष्टले बालमैत्री गाविस बनाउन पूरा गर्नुपर्ने सूचकमध्ये स्वास्थ्य एक प्रमुख भएको बताए । सरकारले २०६८ सालमा मुलुकभरका स्थानीय निकायलाई बालमैत्री बनाउने घोषणा गरी प्रत्येक स्थानीय निकायले कम्तीमा १५ प्रतिशत बजेट छुट्याएर बालबालिकालाई नै योजना छनोट गर्न लगाई ३९ वटा सूचक पूरा गर्ने र सूचक पूरा भएपछिमात्र बालमैत्री घोषणा गर्ने घोषणा गरेको थियो ।
उनले अन्नपूर्णसँग भने, 'पहाडी जिल्लाका दुर्गम बस्तीहरूमा बालमैत्रीको अवधारणा प्रष्टसँग नपुग्दा पनि समस्या भएको छ तर सिद्धेश्वर गाविसले बालमैत्री घोषणाका लागि अन्तिम तयारी गरिरहेको छ ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)