‘कांग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन’
काठमाडौंः नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले कांग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन्।
उनले भने,‘विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेसीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार काँग्रेसलाई छैन्।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले भने,‘कसैका लागि आवश्यक नभएको विषयमा काँग्रेस किन रुची राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन्।’
उनले भने,‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ? निधिले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन।’
संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाइएको आरोप लगाउँदै उनले भने,‘मधेसी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधको लागि मात्र हो, एजेण्डामा होइन्।’ पोखरेलले मधेसी मोर्चाले भन्ने बित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने अडान लिए।