बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा एमालेले दियो ५० लाख
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पारे।
एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले कोषमा पचास लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !