प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको १८ औँ बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल र विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ समेत आजै अर्थमन्त्री वाग्लेले दिनेछन्।
यस्तै बैठका मुख्य कार्यसूचीहरूमा अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ संसद्मा पेस गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट पारित भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नेछन्।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन का दुईवटा महत्त्वपूर्ण महासन्धि तथा प्रोटोकलहरू सदनमा पेस गर्ने कार्यसूची छ।
संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजै राष्ट्रिय सभाअन्तर्गतको ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को बैठक पनि बस्दैछ।
प्रतिक्रिया दिनुहोस !