तिमी महिला भन्दै बलिउड अभिनेता अमिताभले नातिनीलार्इ लेखेको चिठ्ठी

तिमी महिला भन्दै बलिउड अभिनेता अमिताभले नातिनीलार्इ लेखेको चिठ्ठी

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले सोमबार आफ्ना नातिनीहरूलाई सम्बोधन गरी लेखेको पत्र अहिले भाइरल बनेको छ । आफ्ना छोरा अभिषेक र बुहारी ऐश्वर्याबाट जन्मेकी नातिनी आराध्या एवं छोरी श्वेता र ज्वाइँ निखिलबाट जन्मेकी नातिनी नव्यालाई सम्बोधन गरी लेखेको यो पत्रमा बच्चनले लैंगिक विभेदविरुद्ध आफूलाई उभ्याएका छन् । प्रस्तुत छ, बच्चनको पत्रको नेपाली अनुवादः

-मेरा प्रिय नव्या र आराध्या
तिमीहरूले आफ्ना कलिला काँधहरूमा निकै मूल्यवान् विरासत बोकेका छौ । आराध्या तिम्रो काँधमा तिम्रा जिजुबाजे डा. हरिवंश राय बच्चनको विरासत छ भने नव्या तिम्रोमा श्री एचपी नन्दाको । तिमीहरू दुवैका जिजुबाजेले तिमीहरूलाई प्रख्यात यश, प्रतिष्ठा र मान्यता भएको थर दिनुभएको छ ।

तिमीहरू दुवै नन्दा वा बच्चन हौ तर तिमीहरू केटीहरू पनि हौ... महिलाहरू !

र तिमीहरू महिला भएकैले मानिसहरूले आफ्ना विचार र बन्धनहरू तिमीहरूमाथि थोपर्नेछन् । उनीहरूले तिमीहरूलाई भन्नेछन्- के लगाउने, कसरी लगाउने, कसरी व्यवहार गर्ने । उनीहरूले निधो गर्नेछन्- तिमीहरूले कसलाई भेट्न हुन्छ, कहाँ जान हुन्छ, कहाँ हुँदैन । मानिसहरूको धारणाको छायामा नबाँच । आफ्नै ज्ञानको प्रकाशमा आफ्नो रुचि आफैं बनाऊ ।

कसैलाई पनि तिमी आफ्नो स्कर्टको लम्बाइमा आफ्नो चरित्र नाप्छौ भन्ने नगराऊ । कसैलाई पनि तिम्रो साथी को हुनुपर्छ भन्ने धारणा बनाउन वा कोसँग तिमीले मित्रता गाँस्नुपर्छ भन्ने निर्णय गर्न नदेऊ ।

तिमीले विवाह गर्न चाहनेबाहेक अरू कुनै पनि कारणले विवाह नगर । मानिसहरूले कुरा काट्नेछन् । उनीहरूले सम्भवतः भयानक कुरा गर्नेछन् । तर, यसको अर्थ तिमीले सबैको कुरा सुन्नुपर्छ भन्ने होइन । 'मान्छेले के भन्लान्' भन्नेमा कहिल्यै चिन्तित नहोऊ ।

तिम्रा हरेक कामको अन्त्यमा त्यसको परिणामसँग जुध्ने तिमी नै हुनेछौ, त्यसैले तिमीबारेको निर्णय अरूलाई गर्न नदेऊ ।
नव्या- तिम्रो नामसँग जोडिएको थरले दिने सेवासुविधाले तिमी महिला भएकैले सामना गर्नुपर्ने समस्याहरूबाट जोगाउने छैन ।
आराध्या- तिमीले यो पत्र पढ्ने र बुझ्ने बेलाको हुँदासम्म सम्भवतः म रहनेछैन । तर मलाई लाग्छ, मैले आज भनेको त्यति बेला पनि सान्दर्भिक हुनेछ ।

यो संसारमा महिला हुनु गाह्रो छ । तर मलाई विश्वास छ, तिमीहरूजस्तै महिलाले यो संसार फेर्नेछौ । आफ्ना सीमा आफैंले तोकेर, आफ्नो निर्णय आफैंले गरेर, मानिसहरूको धारणाबाट माथि उठेर यो काम गर्न त्यति सजिलो हुनेछैन । तर, तिमीहरू... तिमीहरू जहाँसुकैका हरेक महिलाका निम्ति उदाहरण बन्न सक्नेछौ ।

यसै गर र यस्तो गर्दा तिमीहरूले मैले अहिलेसम्म गरेभन्दा धेरै गरेको हुनेछौ । र, त्यति बेला अमिताभ बच्चनभन्दा पनि तिमीहरूका हजुरबुवा भनेर चिनिँदा मलाई बढी सम्मान हुनेछ ।

मेरो सम्पूर्ण मायासहित ।
तिमीहरूका दादाजी... तिमीहरूका नाना ।
अनुवादः लक्ष्मण श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.