बाबाको मुख हेर्न लस्कर
गत साता भदौ १६ गते बिहीबार कुशेऔंशी परेको थियो । कुशेऔंसी भनेको आफूलाई जन्मदिने बाबाको मुख हेर्ने दिन हो । त्यो दिन आफ्नो बाबालाई मनपर्ने खानेकुरा, मिठाई, राम्राराम्रा लुगा उपहार दिने चलन छ ।
हुन त हामीलाई सबै चाडपर्वबारे थाहा छ । त्यसमा पनि आमाको मुख हेर्ने र बाबाको मुख हेर्ने दिन त कण्ठै छ भन्दा फरक पर्दैन । किनकि हामीलाई सबैभन्दा माया गर्ने ममी र बाबा हुनुहुन्छ । हामीलाई शिक्षादीक्षा दिने, हाम्रो रेखदेख गर्ने बाबाममी साँच्चै आदरणीय हुनुहुन्छ ।
झन् हाम्रो दोस्रो र नयाँ घरमा त बाबाममी नै सबैथोक हो भन्दा फरक पर्दैन । उहाँहरूबाहेक हाम्रा आफन्त कम नै हुन्छन् । किनकि हामी एसओएस बालग्राम सानोठिमी घरका छोराछोरी हौं । हामीलाई जन्मदिने बाबाममी नभए पनि कर्म दिने बाबाममीको हामीले उच्च आदर गर्दै आएका छौं ।
गएको वर्षमाझैं यसपालिको कुशेऔशीमा बाबाको मुख हेर्न हामी बिहानैदेखि तयार भएका थियौं । बिहानै नुहाइधुवाइ सक्यौं । अनि उपहार लिएर हाम्रो घर 'दिव्य कुञ्ज'का १० जना छोराछोरी बाबालाई भेट्न हाम्रो घर नजिकैको उहाँको आवास गृहमा गयौं । अघिल्लो साँझ नै ममी रश्मि श्रेष्ठले बाबाको मुख हेर्दा दिइने खानेकुरा, फलफूल र उपहार तयार गरिदिनुभएको थियो । त्यसबाहेक हामीले बाबालाई दिन सानासाना फूलका गुच्छा र आफ्नै हातले शुभकामना कार्ड बनाएका थियौं ।
हामी बाबाकहाँ बिहान ९ बजेतिर पुग्दा बालग्रामका १५ वटा घरका अरू छोराछोरी पनि बाबालाई भेट्न लामबद्ध भइसकेका थिए । बालग्रामको सानोठिमीका १६ वटा घरमा म जस्तै एक सय ६० जना छोराछोरी बस्छन् । एउटा घरमा १० जना छोराछोरी बस्छौैं । हाम्रो रेखदेख गर्न एकजना ममी र ममीको अनुपस्थितिमा अन्टी आउनुहुन्छ ।
बाबा भने १६ वटा घरकै एकजना हुनुहुन्छ । उहाँलाई हामी सबैले बाबा भन्छौं । बाबाको नाम खगेन्द्रकुमार नेपाल हो । ममीले घरभित्र र हामी सबैको रेखेदख गर्नुहुन्छ भने बाबाले हाम्रा लागि चाहिने खर्च, पढाइलेखाइ, घुमफिर, लुगाफाटो, औषधिलगायतका विषयको खर्चको जोहो गरिदिने व्यवस्था गर्नुहुन्छ । त्यो सबै खर्च एसओएस बालग्राम नेपालले हाम्रो घरलाई दिन्छ ।
यसरी वर्षभरि हाम्रो चासो राख्ने बाबालाई भेट्न हामी बिहानैदेखि उहाँको आवासगृह बाहिर हातमा उपहार र फूल लिएर लामबद्ध भएका थियौं । हामीले उहाँलाई शुभकामना र उपहार दिएपछि उहाँले हामी सबैलाई आशीर्वाद दिँदै आइसक्रिम र मिठाई खान दिनुभयो । त्यो दिनभरि बाबालाई भेट्न आउनेहरूको लस्कर नै थियो । यो लस्कर हरेक वर्ष हुने गर्छ ।
आमा खुवाउने औंशीमा एउटा घरको १० जना छोराछोरी र त्यस घरबाट बिहावारी भएर बाहिर गएका छोराछोरी र नातिनातिनीमात्रै आउँछन् । तर बाबाको मुख हेर्ने कुशेऔंशीमा भने सिंगो बालग्रामका एक सय ६० जना छोराछोरी, ती घरबाट समाजमा पुनस्र्थापना भएका छोराछोरी, नातिनातिनी सबैजना आउँछन् । यसो गर्दा कम्तीमा दुई सयजनाभन्दा बढी बाबाको मुख हेर्न आउँछन् । अनि भएन त रमाइलो ? बाबालाई त त्यस दिन कति उपहार आउँछ कति ? उपहारभन्दा पनि बाबालाई भेट्न आउनेको लस्कर देख्दा नै कति रमाइलो लाग्छ ।
सरिता नेपाल
कक्षाः ६
(दिव्यकुञ्ज घरकी छोरी )
हर्मन माइनर उमावि, सानोठिमी, भक्तपुर ।