अध्यात्म जीवनको तेस्रो आँखा
फरक आयामभित्र फुल्दो रहेछ जीवन, फरक दृष्टिकोणसँगै रम्दो रहेछ जीवन । भौतिक सुखमा मात्र आनन्द महसुस गर्दैन रहेछ जीवन । यसलाई आत्मसात् गर्दै मेरो मन्दिर अर्थात् स्मल हेभन मोडेल स्कुलले गत महिना 'ह्यापिनेस एन्ड ट्युन अप' नामक बृहत् आध्यात्मिक कार्यक्रमको आयोजना गर्यो ।
उक्त दुईदिने कार्यक्रम विशेषगरी कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि केन्द्रित रहेको थियो । उक्त अवसरमा हामी निकै लाभान्वित भयौं । मुख्य प्रशिक्षकका रूपमा रहनुभएका समाजसेवी रामजी अधिकारीले हाम्रा खाली मस्तिष्कहरूमा संस्कार र आध्यात्मिक चेतना भर्दै जानुभयो । संगीत, अध्यात्म र श्रव्यदृश्यको सम्मि श्रण यस कार्यक्रमभित्र हरेक विषयवस्तुको गहन व्याख्या गरिएको थियो ।
हामीले यहाँ थुप्रै ज्ञानगुनका कुराहरू सिक्यौं । जीवनको वास्तविक ईश्वर अर्थात् आमाबुबा जसलाई हामी सामान्य रूपमा लिन्थ्यौं तिनका महत्त्वका बारेमा हामी खासै जानकार थिएनौं । तर यहाँ 'मातृदेवो भवः पितृदेवो भवः'भन्ने उक्तिलाई मेरो सानो मस्तिष्कले सहज रूपमा टिप्यो । उहाँहरूले सहनुभएको दुःख, पीडा र वेदनाका पलहरूसँग मैले साक्षात्कार गर्ने अवसर पाएँ ।
आमाबुवाप्रति हामीले गर्नुपर्ने व्यवहार प्रशिक्षकले भनिरहँदा मेरा आँखाहरू आँसुले भरिए । उहाँहरूको खुसी र सपनालाई साकार पार्नु वा उहाँहरूलाई सत्कार र आदरभाव दिनु, केही गरेर देखाउनु, उहाँहरूप्रतिको सच्चा सम्मान रहेको कुरा मैले बुझेँ ।
त्यसैगरी मैले 'सेवा नै मानवताको मूल धर्म हो' भन्ने कुरा पनि मनन गरेँ । जीवनले पन्ध्रौं वसन्त पार गरे तापनि आज मात्र यसभित्रको फरक आवरणलाई मैले साक्षात्कार गर्ने अवसर पाएँ । अप्ठ्याराहरूसँग लड्नुपर्ने, विषम परिस्थितिहरूसँग जुध्दै हाँसो र खुसीसँग सहयात्रा गर्नुपर्ने विविध पक्षहरू छर्लंग भए ।
भर्खर सात वर्ष पुगेका क्यानाडामा बसोबास गर्ने एक बालकले अफ्रिकामा हजारौं मानिस सफा र स्वस्थ्य पानी पिउन नपाएर मरिरहेका रहेछन् भन्ने कुरा थाहा पाएपछि आफूले दिनरात काम गरेर पैसा जम्मा गरी त्यति ठूलो महाराष्ट्रको मरुभूमिस्थित बसोबास गर्नेहरूका लागि इनारको व्यवस्था गरिदिएको तस्बिरले म छक्कमात्र परिनँ बरु ममा नयाँ उत्साह भरियो ।
यति कलिलो बालकले त यति ठूलो काम गर्न सक्दो रहेछ भने हामीले किन नसक्ने ? भन्ने सकारात्मक भावको सम्प्रेषण भयो म र मेरा साथीहरूमा । यस्तैमा आफ्नो क्षमता नचिन्ने व्यक्तिहरू पनि यस संसारमा धेरै भेटिन्छन् तर दुई खुट्टा र हात नभएका अशक्त व्यक्तिहरूले पनि ओलम्पिक उपाधि हात पारेको थुप्रै उदाहरणहरू हामीसामु छन् ।
यो कुनै सामान्य कुरा होइन । उनीहरूको निरन्तर अभ्यास र प्रयासले गर्दा नै आज उनीहरूलाई विश्वभरि प्रख्यात बनाएको छ । यस कार्यक्रमहरूबाट हामीले ज्ञानको क्षितिज फराकिलो पार्यौं । कतिले त्यसलाई दैनिकीमा उतारे होलान् र कतिले एउटा कानले सुनी अर्को कानले उडाए पनि होलान् ।
तर मानवता भाँच्चिएको र संस्कार खोक्रिएको यस आधुनिक सतही समाजमा विद्यालय तहमा अध्ययनरत हामीबाट संस्कारको बीजारोपण गर्नु, मानवताको आधारशिला खडा गर्नु यस कार्यक्रमको मूल अभीष्ट हो जस्तो महसुस मसँगै मेरा साथीहरूले गरे ।
यस्ता कार्यक्रमहरूले मानिसमा धेरै परिवर्तन ल्याउन सक्ने रहेछन् । हामी दैनिक रूपमा सबैलाई नमस्कार गर्ने, आफ्नो रिस कम गर्ने प्रयासस्वरूप बिहान उठ्नेबित्तिकै योग तथा ध्यानको अभ्यास गरी सबैसँग मीठो बोल्दै आपसी सद्भाव बाँडदै मिलेर बस्नुपर्ने प्रेरणा मैले यस कार्यक्रमबाट प्राप्त गरेँ ।
यसरी विद्यार्थीले किताबी कोरा ज्ञानभन्दा नैतिक, व्यावहारिक तथा सामाजिक मूल्य र मान्यतालाई कायम राख्दै समयानुकूल चल्न सिकाउने अचुक औषधि रहेछ अध्यात्म । दुईदिने ध्यान तथा आध्यात्मिक शिविरबाट यस्ता ज्ञानवद्र्धक जीवनका फरक पक्षलाई फरक कोणबाट नियाल्ने अवसर पायौं हामीले ।
दुईदिने यस प्रशिक्षण कार्यक्रममा सहभागी हुँदा ध्यान, योग चेतना र अध्यात्म जीवनको अभिन्न अंग रहेछन् र भौतिक सम्पत्ति त बाहिरी आवरणमात्र रहेछ भन्ने कुरा थाहा भयो । त्यसैले जीवनको तेस्रो आँखा खोल्ने व्यक्तिको सर्वाङ्गीण विकास गर्ने यस्ता कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाइरहोस् ।
आरमिन्टा देवकोटा
कक्षाः ९
स्मल हेभन मोडेल स्कुल
भरतपुर-२, आँपटारी, चितवन ।