चम्पाको चलाखी
![चम्पाको चलाखी](https://annapurnapost.prixacdn.net/media/albums/bal-katha-57d4f6f562d840.61206439_zshtzFwlLM.jpg)
तीजको रमझम मनाउन चम्पाका बाबा, आमा र दिदीहरू सबै छतमा गएका थिए । घरभरि तीज मान्न भनेर पाहुनाहरू पनि आएका थिए । चम्पाको घरको छतमा धूमधामसँगले क्याटरिङको समेत बन्दोबस्त गरिएको थियो । राताराता कपडा अनि सुन्दर गरगहनामा सजिएर चटक्कै परेर सबै फुपू र काकीहरू चम्पाकै घरमा आएका थिए । घरभरि मान्यजनको उपस्थितिले छुट्टै उल्लास छाएको थियो । घरमा सबैको अनुहार उज्याला अनि हँसिला थिए ।
छतमा चर्को स्वरमा तीज गीत घन्किरहेको थियो । गीतको तालमा आमा, दिदी, काकी,फुपू सबै नाचिरहेका थिए । रातो घाँगरमा चटक्क परेर सजिएकी चम्पा पनि गएर एकछिन् नाचिन् । चम्पा नाच्दा सबैले थप्पडी बजाएर हौस्याइदिए । तीजको भाकामा कम्मर मर्काउँदै नाच्दानाच्दै चम्पा थाकिन् । उनी छम्छमी पाउजु बजाउँदै घरतिर झरिन् ।
कुन्नि किन हो उनलाई त्यति जाँगर लागेन । चम्पालाई त तीजको गीतभन्दा पनि टेलिभिजन हेर्ने पो रहर लाग्यो । एक्लै भए पनि तल कोठामा आएर उनी टेलिभिजन हेर्न थालिन् । खुब चाख लगाएर हेर्दा हेर्दै विज्ञापन झप्पै आयो । त्यहाँ विज्ञापन आएपछि उनलाई फेरि अल्छी लागेर आयो । चम्पा छेवैमा भएको मोबाइलमा गेम खेल्न थालिन् ।
त्यही बेला अनौठो अनुहारको व्यक्ति कोठामा पस्दै गरेको उनले देखिन् । उनी केही बोलिनन् । पार्टीमा आएकै कोही पाहुना वा क्याटरिङको मान्छे होला भन्ने सोचिन् उनले । तर त्यो मानिस सुरुसुरु जुत्ता नखोली बैठक कोठातिरै आयो । उसले एक सेकेन्डमै चारैतिर आँखा दौडायो । त्यसपछि भने कताकता चम्पाका मनमा डर लाग्यो । तर नहडबडाइ उनले उक्त व्यक्तिको सबै व्यवहार अवलोकन गरिन् ।
त्यो मानिसको अनुहार देखिँदैनथियो । उसले माक्स लगाएको थियो । आँखामा कालो चस्मा लगाएको थियो । उक्त मान्छे चिन्नै नसक्ने किसिमको थियो ।
चम्पाको मनमा हिजो विद्यालयमा मिसले चोरहरू घरमा आएको बेला बालबालिकाले के गर्न सक्छन् भनेर सिकाएको कुराको याद आयो । चम्पाले उक्त मान्छेले दराज र पलङमा सामानहरू खोज्दै गरेको देखिन् । यस्तो देख्नासाथ गेम खेल्दै गरेको मोबाइलबाट हतारहतार पुलिसको सम्पर्क नम्बरमा फोन गरिन् । धन्न तीजका गीतको चर्को स्वरले उनलाई सजिलो बनाइदियो । चम्पाले फोन गरेको कुरा चोरले चालै पाएको थिएन ।
ऊ त सामानहरू खोज्नमा व्यस्त थियो । उसले दराज खोतल्दै गर्दा पुलिसको भ्यानबाहिर आएर साइरन बजाउन थाल्यो । त्यो आवाज सुन्नासाथ त्यहाँबाट चोर भाग्न खोज्यो । बाहिर गेटमा पुलिसहरू आइसकेकाले गेटमा नपुग्दै उसलाई पक्रिहाले । अनौठो व्यक्ति डरले लुगलुगी काप्न थाल्यो । उसले हात जोडेर माफी माग्न थाल्यो ।
यस्तो दृश्य देखेर माथि छतमा नाच्दै रमाउँदै गरेका बाबा, आमा र फुपूहरू दौडदै तल आए । वरपरका छिमेकीहरू पनि केको हल्लाखल्ला भन्दै बुझ्न आए । दुवै हातमा फलामको डोरीले हात बाँधेको एउटा व्यक्ति पुलिसको घेराभित्रबाट भाग्न खोजिरहेको थियो ।
त्यही भीडको बीचबाट पुलिसले भने 'हामीलाई धन्न समयमा नै खबर गर्नुभयो । यस्तो काम गरेकोमा तपाईंहरूलाई धन्यवाद छ । नत्र यसले धनमाल सबै सखाप पारिदिने थियो । हिजो पल्लो गाउँमा पनि चोर उम्केको थियो । यस्ता चाड पर्वमा तपाईंहरू आफैं सचेत भएर बस्नुपर्छ । आफूले दुःख गरेर कमाएको सम्पत्ति यस्ता बदमासहरूले एक सेकेन्डमा उडाइदिन बेर लगाउँदैनन् ।' पुलिसको कुरा भुइँमा पर्नासाथ रुन खोज्दै बाबा र आमाले एकै स्वरमा भन्नुभयो, 'कसले फोन गर्यो सर ? हामीले त होइन ।' भीडबाट जुरुक्क उठेर चम्पाले भनिन्, 'पुलिस अंकललाई मैले फोन गरेकी थिएँ । म बाबाको मोबाइलमा गेम खेल्दै कोठामा बसेको थिए नि त ।' छोरीको यस्तो चलाखी देखेर बाबा र आमाका आँखाबाट हर्षका आँसु झरे । चम्पाको बहादुरीलाई देखेर उनलाई सबैले स्याबासी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)