चम्पाको चलाखी

चम्पाको चलाखी

तीजको रमझम मनाउन चम्पाका बाबा, आमा र दिदीहरू सबै छतमा गएका थिए । घरभरि तीज मान्न भनेर पाहुनाहरू पनि आएका थिए । चम्पाको घरको छतमा धूमधामसँगले क्याटरिङको समेत बन्दोबस्त गरिएको थियो । राताराता कपडा अनि सुन्दर गरगहनामा सजिएर चटक्कै परेर सबै फुपू र काकीहरू चम्पाकै घरमा आएका थिए । घरभरि मान्यजनको उपस्थितिले छुट्टै उल्लास छाएको थियो । घरमा सबैको अनुहार उज्याला अनि हँसिला थिए ।

छतमा चर्को स्वरमा तीज गीत घन्किरहेको थियो । गीतको तालमा आमा, दिदी, काकी,फुपू सबै नाचिरहेका थिए । रातो घाँगरमा चटक्क परेर सजिएकी चम्पा पनि गएर एकछिन् नाचिन् । चम्पा नाच्दा सबैले थप्पडी बजाएर हौस्याइदिए । तीजको भाकामा कम्मर मर्काउँदै नाच्दानाच्दै चम्पा थाकिन् । उनी छम्छमी पाउजु बजाउँदै घरतिर झरिन् ।

कुन्नि किन हो उनलाई त्यति जाँगर लागेन । चम्पालाई त तीजको गीतभन्दा पनि टेलिभिजन हेर्ने पो रहर लाग्यो । एक्लै भए पनि तल कोठामा आएर उनी टेलिभिजन हेर्न थालिन् । खुब चाख लगाएर हेर्दा हेर्दै विज्ञापन झप्पै आयो । त्यहाँ विज्ञापन आएपछि उनलाई फेरि अल्छी लागेर आयो । चम्पा छेवैमा भएको मोबाइलमा गेम खेल्न थालिन् ।

त्यही बेला अनौठो अनुहारको व्यक्ति कोठामा पस्दै गरेको उनले देखिन् । उनी केही बोलिनन् । पार्टीमा आएकै कोही पाहुना वा क्याटरिङको मान्छे होला भन्ने सोचिन् उनले । तर त्यो मानिस सुरुसुरु जुत्ता नखोली बैठक कोठातिरै आयो । उसले एक सेकेन्डमै चारैतिर आँखा दौडायो । त्यसपछि भने कताकता चम्पाका मनमा डर लाग्यो । तर नहडबडाइ उनले उक्त व्यक्तिको सबै व्यवहार अवलोकन गरिन् ।

त्यो मानिसको अनुहार देखिँदैनथियो । उसले माक्स लगाएको थियो । आँखामा कालो चस्मा लगाएको थियो । उक्त मान्छे चिन्नै नसक्ने किसिमको थियो ।

चम्पाको मनमा हिजो विद्यालयमा मिसले चोरहरू घरमा आएको बेला बालबालिकाले के गर्न सक्छन् भनेर सिकाएको कुराको याद आयो । चम्पाले उक्त मान्छेले दराज र पलङमा सामानहरू खोज्दै गरेको देखिन् । यस्तो देख्नासाथ गेम खेल्दै गरेको मोबाइलबाट हतारहतार पुलिसको सम्पर्क नम्बरमा फोन गरिन् । धन्न तीजका गीतको चर्को स्वरले उनलाई सजिलो बनाइदियो । चम्पाले फोन गरेको कुरा चोरले चालै पाएको थिएन ।

ऊ त सामानहरू खोज्नमा व्यस्त थियो । उसले दराज खोतल्दै गर्दा पुलिसको भ्यानबाहिर आएर साइरन बजाउन थाल्यो । त्यो आवाज सुन्नासाथ त्यहाँबाट चोर भाग्न खोज्यो । बाहिर गेटमा पुलिसहरू आइसकेकाले गेटमा नपुग्दै उसलाई पक्रिहाले । अनौठो व्यक्ति डरले लुगलुगी काप्न थाल्यो । उसले हात जोडेर माफी माग्न थाल्यो ।

यस्तो दृश्य देखेर माथि छतमा नाच्दै रमाउँदै गरेका बाबा, आमा र फुपूहरू दौडदै तल आए । वरपरका छिमेकीहरू पनि केको हल्लाखल्ला भन्दै बुझ्न आए । दुवै हातमा फलामको डोरीले हात बाँधेको एउटा व्यक्ति पुलिसको घेराभित्रबाट भाग्न खोजिरहेको थियो ।

त्यही भीडको बीचबाट पुलिसले भने 'हामीलाई धन्न समयमा नै खबर गर्नुभयो । यस्तो काम गरेकोमा तपाईंहरूलाई धन्यवाद छ । नत्र यसले धनमाल सबै सखाप पारिदिने थियो । हिजो पल्लो गाउँमा पनि चोर उम्केको थियो । यस्ता चाड पर्वमा तपाईंहरू आफैं सचेत भएर बस्नुपर्छ । आफूले दुःख गरेर कमाएको सम्पत्ति यस्ता बदमासहरूले एक सेकेन्डमा उडाइदिन बेर लगाउँदैनन् ।' पुलिसको कुरा भुइँमा पर्नासाथ रुन खोज्दै बाबा र आमाले एकै स्वरमा भन्नुभयो, 'कसले फोन गर्‌यो सर ? हामीले त होइन ।' भीडबाट जुरुक्क उठेर चम्पाले भनिन्, 'पुलिस अंकललाई मैले फोन गरेकी थिएँ । म बाबाको मोबाइलमा गेम खेल्दै कोठामा बसेको थिए नि त ।' छोरीको यस्तो चलाखी देखेर बाबा र आमाका आँखाबाट हर्षका आँसु झरे । चम्पाको बहादुरीलाई देखेर उनलाई सबैले स्याबासी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.