भविष्य निर्माणको आधारस्तम्भ 'पवन प्रकृति'
![भविष्य निर्माणको आधारस्तम्भ 'पवन प्रकृति'](https://annapurnapost.prixacdn.net/media/albums/School-57d4f94d3de3d3.03568195_ejjguKBKfN.jpg)
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा.नं १० इमाडोलमा रहेको पवन प्रकृति उच्च माध्यमिक विद्यालय २०४८ सालमा स्थापना भएको विद्यालय हो । यो विद्यालय आफ्नै जग्गा तथा भवनमा छ । विद्यालयमा १ देखि १२ कक्षासम्म अध्यापन गराइन्छ । विद्यालयमा हाल एक हजार दुई सय विद्यार्थीले अध्ययन गर्छन् ।
'शिक्षा, समाज विकासको मूल आधार हो' भन्ने मूलमन्त्रलाई आत्मसात् गरी स्थापना भएको यो विद्यालय आज ललितपुर जिल्लाकै नमुना विद्यालयको रूपमा विकसित भएको छ । यस विद्यालयमा अध्ययन गरेर गएका विद्यार्थी आज समाजको विभिन्न प्रतिष्ठित क्षेत्रमा कार्यरत हुनु यसको ज्वलन्त उदाहरण हो ।
विद्यार्थीको मनोभावना बुझी विद्यार्थी केन्द्रित वातावरणको निर्माण गरी अध्यापन गराइने यो विद्यालय वास्तवमै विद्यार्थीको भविष्य निर्माणको आधार बनेको छ । शिक्षा भनेको सिकेको कुरा व्यवहारमा उतार्नु हो । जबसम्म विद्यार्थीले समाजको आवश्यकता पहिचान गर्न सक्दैनन्, तबसम्म जीवन र शिक्षा अधुरो रहन्छ भनी हाम्रो विद्यालयका संस्थापक प्रिन्सिपल उत्तरकुमार राई भन्नुहुन्छ । यो हाम्रो विद्यालयको गहना हो भन्दा पनि फरक पर्दैन ।
विद्यालयको यो अभियानका कारण विद्यालयमा पढ्ने बानी छुटेका र अभिभावकको टाउको दुखाइ बनेका नानीहरूसमेत यस विद्यालयमा आएपछि असल मानिस बनेको थुप्रै उदाहरण छन् । यसकारण पनि पवन प्रकृति उच्चमावि धेरै अभिभावकको पहिलो रोजाइको विद्यालय हुन पुगेको छ ।
यस विद्यालयमा विगतका वर्षहरूमा धेरै राम्रो अंकका साथ प्रवेशिका परीक्षा उत्तीर्ण सफल विद्यार्थी आज उच्च शिक्षामा अध्ययनरत छन् । यस विद्यालयबाट अध्ययन गरी गएका विद्यार्थी चिकित्सकको रूपमा समेत कार्यरत रहेका छन् ।
उदाहरणको रूपमा डा.विपना वज्राचार्य, डा.शैलेन्द्र महर्जन, डा.सीता थापा, डा.जिसन राई, डा.गौतम साह विभिन्न अस्पतालमा चिकित्सकको रूपमा कार्यरत छन् भने अन्य धेरैजना चिकित्साशास्त्र अध्ययनरत छन् । यसैगरी प्रज्वलराज वाग्ले पूर्ण छात्रवृतिका साथ विदेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छन् ।
गत वर्षको प्रवेशिका परीक्षामा ९३ प्रतिशत अंक प्राप्त गरेका यस विद्यालयका छात्र धीरेन्द्र राई कक्षा १२ मा निःशुल्क अध्ययन गरिरहेका छन् । यसैगरी नेपाली सेनाको लेप्टिनेनको रूपमा समेत यस विद्यालयका पूर्वविद्यार्थी मनीषा थापा र सुधीर केसी कार्यरत हुनु अर्काे गौरवको कुरा हो । श्रेया कार्की अहिले चर्चित नायिकाको रूपमा कार्यरत छिन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलरको रूपमा कार्यरत रूपचन्द्र केसी यही विद्यालयको उत्पादन हुन् । चिकित्सक, इन्जिनियर, शिक्षक, शिक्षिकामात्र नभई आधुनिक तथा प्रगतिशील कविको रूपमा पूर्वविद्यार्थी 'नाकिमा' को नामसमेत चर्चित रहेको छ ।
यो सफलता यसमा कार्यरत शिक्षक तथा शिक्षिका योग्य तथा तालिम प्राप्त भएको कारण नै भएको हो । शिक्षा र समाज एकअर्काका परिपूरक हुन् भन्ने विचारलाई आत्मसात् गरेको यो विद्यालयले समाज सुधारका धेरै कार्य गरेको छ । बालबालिकालाई नै परिचालन गरी सामाजिक काममा समेत सक्रिय बनाउनु विद्यालयको अर्को राम्रो पक्ष रहेको छ ।
हामी विद्यार्थीले फुड स्टल तथा अन्य शीर्षकमा पैसा संकलन गरी समाजसेवाको कार्यसमेत यस विद्यालयमार्फत गर्दै आएका छौं । पवन प्रकृतिको अर्को विशेषता विद्यार्थीका लागि आवासको व्यवस्था पनि हो । यस विद्यालयमा देशको ७५ वटै जिल्लाको विद्यार्थी अध्ययन गर्छन् । राम्रो वातावरण तथा उचित शिक्षाका कारण यो विद्यालय ओजपूर्ण विद्यालयको रूपमा स्थापित भएको छ ।
दैनिक पठनपाठनमा त यो विद्यालय अब्बल छँदैछ । योभन्दा बढी अतिरिक्त क्रियाकलापमा समेत यो विद्यालय ललितपुरकै एक नम्बर विद्यालयको रूपमा रहेको छ । यसको उदाहरणको रूपमा विगत तीन वर्षदेखि नियमितरूपमा ललितपुर जिल्लास्तरीय राष्ट्रपतिकप रनिङ सिल्ड जितेर यो विद्यालय ललितपुर च्याम्पियन बनेको छ । यो विद्यालयको महत्त्वपूर्ण विशेषता भनेको नै यसले विद्यार्थीको क्षमतालाई पहिचान गरी सोही क्षेत्रमा लाग्न प्रेरित गर्दछ ।
विगतका वर्षमा यस विद्यालयमा उत्पादित विद्यार्थी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा खेलाडीका रूपमा कार्यरत रहेका छन् । विद्यार्थीको क्षमता तथा दक्षताको पहिचान गरी भावी जीवनयापनमा सहयोगी यो विद्यालय आज विद्यार्थीको पहिलो रोजाइको विद्यालयमा पर्न थालेको छ । विद्यालयको शान्त वातावरण, सहयोगी शिक्षक शिक्षिका, योग्य तथा तालिम प्राप्त शिक्षक यसको थप विशेषताको रूपमा रहेको छ ।
प्रजिता केसी, कक्षा: १०
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)