निर्देशित सरकारको पटकथा
जसरी चेसका खेलाडीहरू खेल अवधिभरि भिन्नाभिन्नै रंग, ढंग र आकारप्रकारका गोटीहरू भिडाउँछन्, मराउँछन् र प्रयोजन सकिएपछि एउटै बट्टामा हालेर थन्काउँछन्, त्यसरी नै विदेशी शक्तिहरूले पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काँधमा बन्दुक थमाएर १८ हजार निर्दोष नेपालीको अकाल मृत्यु गराएर मात्र नपुगेर एमालेविरुद्धमा एक ठाउँमा उभ्याइदिएका छन् ।
विगतमा गिरिजा–प्रचण्डबीचको आवश्यकताभन्दा बढी हेलमेल र आज दाहाल–देउवाको अस्वाभाविक हिमचिम कांग्रेस र केन्द्र दुवैको वैचारिक, राजनीतिक र जनमतसमेतको हिसाबले टाट पल्टाइको उदाहरण हो ।
हिजो कोइराला एमालेलाई खनेको खाडलमा आफैँ परे । बरु एमाले त्यसपछि पनि फेरि उठ्न सकेको छ तर २०४८ पछिको सत्ता प्राप्ति छिनाझपटीमा अविजित मानिने कोइरालाको हालीमुहालीमा २०६५ सालको सुरुआतबाट सदाका लागि पूर्णविराम लाग्यो । ताल फुटेर आएको बाढीले महानदीको बहाब रोकिदिएजस्तै २०६४ तिर उत्कर्षमा रहेको माओवादीले एमालेको गतिमाथि अवरोध अवश्य पुर्याएको थियो ।
आज एमाले हिउँदमा घटेको नदी साउन–भदौमा उर्लिएर आएजस्तै ६० को दसकका आन्तरिक र बाह्य शक्ति ऐंठनका अभ्यासलाई विफल तुल्याउँदै उत्कर्षमा छ । माओवादीको हालत सीमित संख्याका मन्त्री र सांसदहरूको भागमा परेको सदाबहार चाडलाई अपवादमा राख्ने हो भने पानीको हाहाकारको अकल्पनीय संकट खेप्नुपरेको फुटेको तालको जस्तो रहेको छ ।
लोप भएको तालमा बँचेखुचेका जलचरको जस्तो उफ्राउ र छटपटी केन्द्रका हर्ताकर्तामा देखिनु अनौठो होइन, तर एमालेसँग दूरी र दुस्मनी बढाउने कांग्रेसी रहर अचम्मको छ । कोइराला शैलीलाई निरन्तरता दिँदै एमालेविरुद्ध माओवादी उपयोग गर्ने देउवाको अदूरदर्शिता फेरि पनि कांग्रेसलाई महँगो पर्नेछ । समीकरणको फस्टाउँदो खेती कुम्ल्याउन सफल केही थान मन्त्री र लैनचौरजीवीलाई अपवादमा राख्ने हो भने निष्ठाको राजनीतिको गला रेट्ने यस प्रकारको निर्देशित राजनीतिले मूल्यमान्यतामा अडिने र राजनीतिमा जनसमर्थनको महत्तालाई सिरानीमा राख्ने कांग्रेसजनलाई उकुसमुकुस पारेको छ ।
यसले लोकतन्त्र कमजोर हुने, विकृति बढ्ने, संविधान कार्यान्वयनमा समस्या थपिने, चालू आर्थिक वर्षको बजेटमा रहेका जनमुखी कार्यक्रम लागू नहुने, अस्थिरता र हस्तक्षेप बढ्ने खतरा निम्त्याउँदै छ । एमालेको उदय, उत्कर्ष र जनमतप्रतिको जलन र हतासले गर्दा कठपुतली सरकारको जन्म भएको छ । विभीषण सरकारसँग न टेक्नलाई जनसमर्थनको जमिन छ न उभिनलाई स्वाभिमानको मेरुदण्ड छ । पालना गर्न प्रभुबाट भक्तलाई निश्चित राजनीतिक पटकथा प्रदान गरिएको छ, जो यस प्रकार छः
देन होइन दोहन
एमालेको देखासिकीलाई छोडिदिने हो भने कांग्रेस र केन्द्रको रसायन कमाउवादी हो । झापाली क्रान्तिकारीहरूले २०२८ तिर बुर्जवा शिक्षा बहिस्कार, भूमिगत राजनीति, पूर्णकालीन कार्यकर्ता, स्वावलम्बी अर्थतन्त्र, सशस्त्र संघर्षको माध्यमबाट पञ्चायतको ओठतालु नसुकाएको भए २०४६ सालको जनआन्दोलनका लागि आधार खडा हुने थिएन । कांग्रेसभन्दा दरिलो राजनीतिक दलका रूपमा तत्कालीन माले वा आजको एमालेको विकास हुनु इतिहासको माग थियो ।
एमाले नभएको भए बीपी र पुष्पलालले जस्तै गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका दिन पनि सत्ता र शक्तिको कोपभाजनमा परेरै बित्ने थिए । एमालेले यसरी पञ्चायतको तख्ता उल्टाउने तयारी थाल्दा कांगे्रसको आजको नेतृत्व धनी बाबुको पुल्पुलिएको छोराकै तहमा थियो ।
जनताले धेरै आशा र भरोसा गरेको दल कांग्रेस विगतका दसकमा सरकार निर्माण गर्ने र ढाल्ने मेसिनमा पतन हुनु देशको वरवादीको सुरुआत थियो । अझै पनि कांग्रेस नेतृत्व इतिहासबाट पाठ सिक्न चाहँदैन ।
खुरुखुरु पढ्नु, जता पनि ठिक्क पर्नु, चारैतिर चहार्नु, मनग्य नाफा कमाउनु, यसो कांग्रेसका पाका नेता पनि भेटेर सँगै फोटो खिचाउनु, कांग्रेसको चवन्नी सदस्यता पनि लिनु, सेटिङ मिलाएर विदेश पढ्न जानु, कांग्रेस बलियो भएपछि चन्दा दिएर पार्टीको टिकट किन्नु, मन्त्री भएर खर्च असुली र नाफा आर्जन गर्नुको सजिलो र फास्ट ट्र्याक भएर कांग्रेस नेतृत्वको ठूलो हिस्सा आएको छ ।
जनतासँग नङ र मासुको जस्तो सम्बन्ध राख्न कांगे्रसले कहिल्यै जरुरी ठानेन । अझ जनताबीच घुलमिल हुने कांग्रेसजन आन्तरिक प्रतिस्पर्धामा उठ्नै नसक्ने सिलसिला रोकिएन । दुःख गरेका कांगे्रसजन कि त दरिद्री र इमानका कारण तलै खादिएका छन् कि त बाहिरिसके । अर्जुननरसिंह केसी, केशवकुमार बुढाथोकी पञ्चायतदेखि हालसम्मको सत्ता राजनीतिमा सदाबहार रूपमा सान्दर्भिक रहनु तर सयौं दुर्गा सुवेदीहरू पाखा पर्नुलाई उदाहरण मान्न सकिन्छ ।
माओवादीमा त्यस्तैका दिन छन्, जसले द्वन्द्वकालमा लुटेको कालो धन र लडाकु शोषणको दौरान काम्लो ओढेर घ्यु खाने सूत्र प्रयोग गरी सहकर्मी, पार्टी, राष्ट्र र जनताका आँखामा छारो हाली गाँठीमुठी हात पारेर आफ्नो वर्ग वृद्धि गर्न सकेका छन् । निर्देशित सरकारको मुड देश निर्माण गर्नतिर छैन ।
सत्ताधारीलाई प्रभुले दिएको पटकथाको सार र सीमा यस्तो छ–समीकरणको खेती गर, सरकारमा टाक्सिएर बस, एमालेलगायतका देशभक्तविरुद्ध रक्तहीन कोतपर्व रच, देशको दोहन गर्ने परचक्री मुद्दालाई सघाऊ र नाममिश्रित नाफा कमाऊ ।
त्यसैले देशका निम्ति देन दिनु छैन । बरु देशको दोहन गर्ने अवसरवादी उत्पादन गर्ने नर्सरी निमार्ण गर्नु कांगे्रस–केन्द्र गठबन्धनको प्राथमिकतामा परेको छ । सुकेको ह्यान्डपम्पमा एक लोटा पानी हालेर चाहिएजति झिकेजस्तै चुनावी खर्च देऊ, टिकट किन र फेरि नाफा कमाउको चक्रभन्दा पर सोच्ने फुर्सद र आदेश म्यादी दाहाल सरकार र भावी देउवा सरकारलाई छैन ।
जनमुखी होइन भारतमुखी
अहिले कांगे्रस, केन्द्र, मधेसी मोर्चा र नयाँ शक्तिबीच भारत भक्तिको होड चलेको छ । फरक कति छ भने मोदीभक्तिको यो म्याराथनमा मधेसी मोर्चा र नयाँ शक्ति बढी बफादार भए पनि संसदीय अंकगणितका हिसाबले कमजोर रहेकाले थारो गाईजस्ता हुन् भने कांगे्रस र केन्द्र संसदीय अंकगणितका हिसाबले बलिया रहेकाले बेलामौकामा लात्ती हान्ने प्रकृतिका परे पनि लैनो भैंसीजस्ता हुन् ।
जनताको एकतालाई मजबुत पार्नु, देशलाई स्वाभिमानको मेरुदण्डमा उभ्याउँदै समृद्धि प्राप्त गर्नु, आशावादी हुनु, हैकम र हस्तक्षेपको विरोध गर्नु मोदी होइनन् ठूलो त मातृभूति हो भन्नु भनेको एमाले हुनु हो भनेर दुष्प्रचार गर्दै सत्तारुढ गठबन्धन जनता जनार्दनको सर्वोपरिता, व्यापकता र असीम भूमिका, चेतना र अजेय शक्तिसँग जिस्किँदै छ ।
जनजीविका होइन डिग्री खपत
नेपाल सम्पन्न भए सस्ता सेवकको रूपमा जितबहादुर मगरहरू नपाइने चिन्ता भारतेली शासक वर्गमा छ । त्यसैले नेपालको सत्तामा कठपुतली थमाउनु बाध्यता बनेको छ । देशमा अस्थिरता, सत्तासीन दलमा गोलमाल, समीकरणको खेती र संस्थापनविरुद्ध वागीको निर्माण, खोजी र परिचालन भारतीय नेपाल नीतिको चुरो हो ।
भारत चिढिँदा सडकमा पुर्याइदेला र एमाले जनताको बलमा उठ्दा बडा कष्टले पाएको सफलता दुई दिनको घामछायाँ होला भन्ने भयले गणेशमान सिंह, कृष्णप्रसाद, जीपी र सुशील कोइरालाहरूलाई सधैँ सताइरह्यो । त्यसैले कांग्रेसले उत्कर्षकाल वा एकाधिपत्य भएको बेला पनि देशको विकास र जनताको आर्थिक स्तर उकास्न चाहेन ।
०४८ र ०५६ को आम चुनावमा पाएको बहुमतलाई कांग्रेसले देश र जनताको अटल सौभाग्यको पक्षमा, दरिद्री र दुर्भाग्यको विपक्षमा प्रयोग गर्न सक्थ्यो । दरबार र दिल्ली रिझाउने, राप्रपा, सद्भावना पार्टी र साना वाम घटकलाई एमालेविरुद्ध उकास्ने सस्तो राजनीतिले पुगिहाल्ने कांग्रेसको आकलनकै कारण दूरगामी महत्त्वका भूमि सुधार, सुकुमवासी व्यवस्थापन, हलिया व्यवस्थापन, उद्योगमैत्री वातावरण, राष्ट्रिय महत्त्वका आयोजनाहरूको छनोट तथा समग्र विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, आर्थिक वर्षको सुरुआती महिनामै बजेटको निकासा, पारदर्शिता र प्रभावकारी अनुगमन, जनताको व्यापक सहभागिता जस्ता अहं महत्त्वका मुद्दाहरू तपसिलमा परे ।
देशको वास्तविकता र जनताको दुःख नबुझेका केही थान डिग्रीधारीको खपतबाहेक कांगे्रससँग कुनै सपना, योजना र संकल्प छैन । आज पनि नेपालमा स्थिरता आउँदा, लगानी बढ्दा, मजदुर सुरक्षाको सुनिश्चिततासहित उद्योगमैत्री वातावरण बन्दा र हलो जोत्ने किसानले चाहिँदो खेतबारी, सहुलियत दरको ऋण तथा अन्य सेवासुविधा पाउँदा, रोजगार सृजना हँदा नेपाल दक्षिण एसियामा सुनको टुक्रा बनिहाल्छ कि भन्ने चिन्ता भारतेली शासक वर्गमा बाक्लै छ ।
नेपाल मात्र संसारमा यस्तो औद्योगिक हब हुने सम्भाव्यता बोकेको देश हो, जहाँबाट उत्पादित सामानले दुई अर्ब उपभोक्तासम्म सबैभन्दा चाँडो पुग्छ । कसैको बहकाउका पछि लागेर नेपालको यही उज्ज्वल पक्ष नष्ट पार्नु वर्तमान सरकारको प्राथमिकता र प्रयोजन हो ।
निष्कर्ष
जनताले धेरै आशा र भरोसा गरेको दल कांगे्रस विगतका दसकमा सरकार निर्माण गर्ने र ढाल्ने मेसिनमा पतन हुनु देशको वरवादीको सुरुआत थियो । अझै पनि कांग्रेस नेतृत्व इतिहासबाट पाठ सिक्न चाहँदैन । खालि दिमाग भूतको घर भने झैँ मुद्दाविहीन कांग्रेस हस्तक्षेपरूपी डढेलोका लागि घाँसे मैदान बनेको छ । अग्रजजत्तिकै उत्तराधिकारी हुने भए संसारमा कुनै पनि शक्तिको पतन हुने थिएन र शब्दकोशमा पतन शब्दले स्थान पाउने थिएन ।
महान् विचारक र स्वप्नद्रष्टा मानिने बीपीले हिजो साथमा सत्ता नभएर पनि कांग्रेसलाई आशा र भरोसाको केन्द्रका रूपमा उभ्याएका थिए । आजको नेतृत्वले निराशा र सन्देह प्रवाह गर्दैछ । माओवादी केन्द्रलाई दोष दिनुभन्दा पनि दया गर्नुपर्ने अवस्था छ । किनकि जो निराश र हतास छ, कर्तव्यच्युत हुनु उसको पोल्टामा पर्ने गर्छ । वैद्य, विप्लव र बाबुराम बाहिरिनु र पार्टीबाटको बहिर्गमनदेखि घर फिर्तीसम्मको अस्थिरताले गर्दा रामबहादुर थापा बादलको भूमिका र भरोसा संकोचनमा परेपछि अब माओवादी केन्द्र दल कम एक नेताको कम्पनी बढी हो ।
अवसरवादी चलखेलमा लागेर केन्द्रले अन्तिम भोज मजाउँदै गरेकाले राम राम भन्नुको विकल्प रहेन । आफैँ महादेव उत्तानो टाङ केको देलान् वरदान भने झैँ लोपोन्मुख केन्द्रले आशा र गुनासामाथिको पहँच गुमाइसकेको छ । तसर्थ कांगे्रसलाई पतनबाट बचाउन तृणमूल कांग्रेसजनलाई उठाउनु र लैनचौरजीवीलाई थचार्नुपर्छ । किनकि देशका आन्द्राभुँडी अरूको हातमा राख्ने समस्याको दिगो व्यवस्थापन आजको आवश्यकता हो । विदुर नीतिले भन्छ, विष पिउने एक्लै मर्छ, हतियारधारीले पनि एउटालाई मात्र मार्छ तर देशको मन्त्र भंग हुँदा राष्ट्र, जनता र शासक सबैको विनाश हुन्छ ।