सर्कसघरको डल्फिन जीवन

सर्कसघरको डल्फिन जीवन

'तर विचरा डल्फिनलाई थाहा छैन
कि त्यो साँघुरो परित्यक्त
पानीको सर्कसघरमा
मात्र मानिसहरूका लागि
किन बुद्धिमान भइरहेछन् उनीहरू ? '

–भूपाल राई


१२ वर्षपछि कवि भूपाल राईसँग भेट भयो हङकङमा ।
'म हङकङ आको तिमीलाई था'छैन ? ' समीक्षक समाजको एघारौं शृंखलामा गीति विमर्श गर्न हङकङ आएका उनले सुरुमै कडा प्रश्न तेस्र्याए । 'हेहे' गरेर हाँस्नुभन्दा उपयुक्त उत्तर मसँग तत्काल थिएन । 'एअरपोर्टमा ओर्लिनेबित्तिकै अगाडि दिनेशजी, मनु बहिनी र मेरो सालो केटो अन्तिमलाई देखेँ ।

तिमीलाई देखिनँ । अनि दिनेशजीलाई सोधेँ खोइ त्यो हाङयुग ? ' आगोले जन्मोत्सव मनाउँदैन भन्ने कविले अझै थपे वजन । मैले भनेँ, 'हाउ दाजु किन थाहा नहुनु नि ? तर छुट्टी नै नभएर पो त । अन्तिम र समीक्षक समाजका साथीहरूसँग कुराकानी भई नै रहेको छ नि ।' 'ल त्यसो हो भने ठीक छ', उनले बढेको प्रेसर तल झार्दै भने । बल्ल ढुक्क भएँ म ।

पहिलो हरफ शिरबन्दीका सर्जकले भने, 'अल्सरले गर्दा रक्सी खान छोडिहालेँ । धेरै बोल्न पनि हुँदैन, आवाज भासिन थाल्छ ।' 'मैले पनि पिउन छोडेँ नि दाइ ।' – आँखा चम्काउँदै हतारहतार भनेँ मैले पनि । उनले तुरुन्तै भने, 'उसो भए तिमी बिग्रेछौ ।' त्यसपछि गटटट हाँस्यौं हामी । अस्ति भर्खरै मित्र खेम बित्यो, रक्सीकै कारण भन्ने सुनियो ।

सायद त्यो घटनाले होला, मैले नेपालका मित्रहरू सम्झिन थालेँ । त्यही क्रममा राजन मुकारुङलाई भनेँ, 'तपाईंलाई खगेन्द्र संग्र्रौलाले बिगारिसकेको छ । चुरोट र रक्सी छोड्नुस् । त्यो खेमले पनि कलेजो बिगारेकै हो ।' राजनको उही शैली छ, त्यो शैलीको म ठूलो फ्यान पनि हुँ, भन्यो, 'राष्ट्रकवि माधव घिमिरेजस्तो आफैंले बोलेको आफैंले नबुझिने उमेरसम्म पनि के बाँच्नु हाउ ? '

उहिले इन्द्र भगवान् सोमरस पिउँथे । त्यो सोमरस भनेको च्याउको रक्सी रहेछ । हाम्रा किराँतका देवताहरूलाई तोङ्बामा जाँड र चिन्डोमा रक्सी राखिदिएनन् भने रिसाउँछ्न् । तर किराँतका देवताहरू सन्तोषी छन्, अलिकतिले पुग्छ । तर, भक्तहरूलाई घ्याम्पो नै चाहिने रहेछ । उपेन्द्र सुब्बाले भन्यो, 'हाउ प्रकाश र सुन्दर कुरूप जति खाए पनि मात्दैनन् त ।

सम्झाउँछु मान्दैनन् । तिनीहरू नमातेको देख्दा हार खान्छु ।' उहिले कवि भूपाल राई पनि नमात्ने देवतै थिए तर रोगले च्याप्दै ल्याएपछि अहिले फिका चियाले मस्तिष्कलाई ऊर्जा दिनुपर्ने अवस्थामा पुगेका रहेछन् ।

गीतकार रविन बान्तवा खाहोङ राईले भने, 'तपाईंलाई भूपाल राईले सारै माया गर्नुहुँदो रहेछ । हङकङ आएदेखि तपाईंलाई खोजेको खोजेकै, बल्ल आज तपाईंलाई भेटेपछि खुसी हुनुभो ।' मान्छे नस्टाल्जिक प्राणी पनि हो, त्यही नस्टाल्जियाले खुसी दिँदो रहेछ । खासमा म पनि खुसी भएँ ।

कवि भूपाल राईसँग उहिले नेपालमा बिताएको छोटो–सुन्दर तर गम्भीर पल सम्झेर म पनि द्रवीभूत भएँ । डिल्लीबजारको उकालोमा कविको डेरा थियो । सिर्जनशील अराजकताको अभियानका क्रममा म त्यहाँ पुगेकै हुँ । त्यति बेलै उनले साउती गरेका थिए महामन्त्र, 'मलाई जस्तै तिमीहरूलाई पनि जातिवादी, रेसिस्ट या विखण्डनकारीको आरोप लाग्नसक्छ । त्यसका लागि तयार हुनु तर यो आन्दोलन नछोड्नु । एजेन्डा ठीक छ । समय आएपछि हाम्रो विचार स्थापित हुनेछन् ।'

हङकङ हिँड्नुभन्दा अगाडि बैरागी काइँलाका प्रिय कविहरू भूपाल राई र श्रवण मुकारुङसँग बसेँ म अनामनगरमा ।संगीतकार दिनेश सुब्बाका अनुसार हरियो पर्दाभित्रै भनौँ । हरियो पर्दा अर्थात् भट्टी पसल । यी दुई आआफ्ना धारका शक्तिशाली कविहरूलाई सँगै राखेर मैले आफ्नो कविता 'आऊ सामूहिक आत्महत्या गरौं' सुनाएँ । माओवादी जनयुद्धले निकास नपाइरहेको अवस्थालाई गमेर त्यो कविता डिजाइन गरेको थिएँ ।

त्यो कविता रमण घिमिरेले 'नेपाल' मासिकमा छापिदिए । कविता सुनिसकेपछि श्रवण मुकारुङ 'मर्नुभन्दा बौलाउनु निको, म त बौलाउँछु पो' भन्दै कोटेश्वरतिर हाँकिए, भूपाल राई 'कालो प्रोफाइल' च्यापेर डिल्लीबजार हाइटतिर उक्ले अनि म 'सामूहिक आत्महत्याको प्रस्ताव' च्यापेर शान्तिनगरतिर लागेँ । अनि, शान्तिनगरदेखि हङकङ । हङकङमा नयाँ अध्याय सुरु गरियो ।

०००

१२ वर्षपछि उनै कवि भूपाल राईसँग भेट भयो हङकङमा । यो भेटमा उनले मलाई कविता सुनाए । यहीँ हङकङमा आएर, ओसियन पार्कमा डल्फिनको खेल हेरेर लेखेको कविताले मलाई झ्वाप्पै छोपिहाल्यो । डल्फिनको सत्य त समुद्र हो, त्यहीँनजिकै छ समुद्र तर डल्फिनको त्यहाँ पुग्ने बाटो काटिएको छ । हो, हङकङमा मान्छेहरू सर्कसको डल्फिनजस्तै बाँचिरहेका छौं । कति गजबले हङकङको सातो भेटे बिजुवा–नाक्छोङ कविले ? म त गम्भीर सोचमा डुबेँ ।

बैरागी काइँला, सरुभक्त, कृष्णभक्त श्रेष्ठ, श्रवण मुकारुङ, व्याकुल माइला, राजकुमार दिक्पाल, आहुति, राजन मुकारुङ, उपेन्द्र सुब्बाजस्ता दर्जनौं कवि आए तर हङकङको कविता कसैले लेखेनन् । तर कवि भूपाल राईले आएकै पर्सिपल्ट हङकङको कविता लेखे । कविको यो सिर्जनात्मक तीव्रता देखेर म दंग परेँ ।

सायद भूपाल राईले मनमनै भने होला, 'ए ! कवि, अब तिमी डल्फिन भएर बस्नु हङकङमा ।' म घाइते भएँ, दुख्यो मलाई । यो सहर सर्कसजस्तै छ जसले हामीलाई ओसियन पार्कको डल्फिनजस्तै बनाएको छ । हामी पौडिरहेछौं कि नाचिरहेछौं ? हामी गीत गाइरहेछौं कि चिच्याइरहेछौं ? भ्रममा बाँचेका छौं हामी यो मेट्रो सहरमा ।

'हङकङ आएको पर्सिपल्ट नै हङकङको जीवनबारे यति गजबको कविता कसरी लेख्नु भो हाउ दाजु ? ' मैले सोधेँ ।
'म त भारी बोकेर पिखुवाको उकालो हिँड्ने भुइँमान्छे, हवाईजहाजमा चढ्नेहरूले खासै देख्दैनन् मलाई । तर योचोटि आयोजकले हवाईजहाजबाट दूरबिन नै लगाएर हेरेजस्ता छन् ।' उनले भने, 'जमिन मान्छेले अतिक्रमण ग‌र्‌यो, त्यो ठीकै छ । तर हङकङमा त मान्छेले जमिनमुनि पनि अतिक्रमण गरेको रहेछ ।

यतिमात्रै कहाँ हो र ? अग्लाअग्ला बिल्डिङहरूले आकाशमा समेत अतिक्रमण गरेका रहेछन् । आकाश हेर्‌यो आकाश छैन । अनि ओसियन पार्कमा डल्फिन हेरेर आइयो र अठार तला माथिबाट तल बाटोमा हेरेँ, मान्छे सानासाना देखिन्छन् । अनि म त अत्तालिएँ । आफैं पो झ्यालबाट हाम्फाल्छु कि भनेर डर लाग्यो । र, यो डल्फिनको कविता लेखेर मनलाई थामेँ ।'

'दिनेशजीले मेरो स्वरको कहिले प्रशंसा गर्नुभएन, खालि शब्दको मात्रै प्रशंसा गर्नुभो । त्यही भएर पनि मैले गीत गाउन छोडेँ । मलाई थाहा भो, मेरो स्वरमा त्यस्तो कुनै दम छैन', उनले रेडियो नेपालको चौरमा घाम ताप्दै दिनेश सुब्बासँग गफ गरेको सम्झना गरे, 'रेडियो नेपाल त्यति बेला ठूलो शक्ति थियो । त्यही कारण हामी रेडियो नेपालमा झुम्मिने गथ्र्यौं ।'

मैले कवि भूपाल राईलाई डल्फिनको कविता मागेँ । समीक्षक समाजका संयोजक हेम लावतीले फिस्स हाँस्दै भने, 'अघिदेखि किन छटपटाउँछ भनेको त त्यो डल्फिनको कविताले मुटु कोट्याएछ र पो छटपटिएको रैछ ।' कवि निरज राई तोङ्बा उचाल्दै अर्को टेबुलतिर हाँस्दै दगु‍र्‌यो, 'पहिचान पेय पदार्थ, हेहेहे ।'

'नेपालमा को छ हाउ दाइ दमदार नयाँ कविहरू ? ' सोधेँ । उनले भने, 'राजु स्याङ्तेन, राबत, मुक्तान थेबाहरू आएका छन् । उता भारतमा राजा पुनियानी र मनोजहरूले लेख्दैछ्न् ।'

अनि रातको ११ बजेतिर हामी छुट्टियौं । म रातभर निदाउन सकिनँ । मेरो मनमस्तिष्कमा डल्फिन नाचिरह्यो, डल्फिन चिच्याइरह्यो । मलाई यो सहरदेखि सास थुनेर आयो, सास । उपेन्द्र सुब्बाले हङकङ सहरको कहालीलाग्दो जीवन देखेर भनेको कुरा याद आइरह्यो, 'विकासदेखि मलाई वाक्क लाग्न थालेको छ ।'

उफ् ! सर्कसघरको डल्फिन जीवन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.