बिमारी घर
आमा ओछ्यान परेकै दिनदेखि
आमाका पखेटा चल्दा
पिँढी र भित्ता भत्किएको घरले
खोजिरहेको छ गोबर–माटोको स्पर्श
पानी पिउन नपाएर गोठमुन्तिर सागबारी
त्यसै–त्यसै मुर्झाएको छ
बाख्रा र पाडाका टाट्नाहरूले
पर्खिरहेका छन् घाँसको स्वाद।
नीला परेवाहरू
छानाबाट आँगनमा ओर्लिन छोडेका छन्
पहेँला आँखा भएको कालो बिरालो
चिसो चुल्होमा पसेर सुतिरहेको छ।
कोही छैन, कोही पनि छैन
मझेरीभरि पोखिएको अँध्यारोलाई
बिहान सबेरै झाडुले बढारेर
संघार बाहिर लैजाने कोही छैन।
मगमगाउन बिर्सिएका छन् फूलहरूले
बहन बिर्सिएको छ वासन्ती बतास
न खुल्न सकेको छ
न बर्सिन सकेको छ
धुम्मिएको आकाश।
मधुरो सुनिँदै गएको छ
आशीर्वादको गीत
लय बिग्रिएको छ
जीवनको संगीत।
घर भनेको चार दिवार रहेनछ
आगन, पिँढी, छानो र धुरी पनि रहेनछ
घर भनेको आमा रहेछ
आमाको पौरख रहेछ
आमा बिमारी हुनु भनेको
सिंगैै घर बिमारी हुनु रहेछ।