माओलाई चिठी लेख्ने ठिटो

माओलाई चिठी लेख्ने ठिटो

उमेरले ८० दशक पार गरिसक्यो । बुढ्यौलीले अनुहारमा चाउरी परेको छ, औंला पनि बांगिसकेका छन् । तर पनि छाओ चियान्स्थ्य्विन्को जोश भने जवान नै छ । करिब तीन साताअगाडि नेपाल आएका चीनका राष्ट्रिय स्तरका प्रथम श्रेणीका यी साहित्यकारले नेपाल बसाइकै क्रममा आफूलाई करिब २० वटा रचना लेख्न पुग्ने अनुभव र विषयवस्तु सँगालिसकेका छन् ।

नेपालमोह

हुन त उनले आफ्नो ६ वर्षे प्राथमिक विद्यालयमा पढ्दा नै भूगोलको कक्षामा जीवनमा पहिलोपटक चीनको दक्षिणपश्चिममा रहेको छिमेकी राष्ट्र नेपालको नक्सा उतारेका थिए । त्यति बेला उनलाई नेपाल भनेपछि अग्ला सुन्दर पहाडहरू र उर्वर जमिन भएको मेहनती, ज्ञानी एवं वीर नेपाली जनताले बसोबास गर्ने देश भन्ने छाप परेको थियो ।

यसबाहेक नेपालले पनि चीनले जस्तै साम्राज्यवादी शक्तिको आक्रमणको दुःख र अपमान भोग्नु परेको थियो भने चिनियाँ जनताले जस्तै नेपाली जनताले पनि वीरतापूर्वक उक्त शक्तिसँग लडेका थिए भन्ने ज्ञान उनले पाएका थिए । त्यसैले नेपाली जनताप्रति आफ्नै दाजुभाइको जस्तै स्वभाविक आत्मीय भावना रहँदै आएको उनले बताए । पछि माध्यमिक विद्यालय, विश्वविद्यालय एवं समाजमा आफ्नो काम सुरु गरेपछि उमेर, ज्ञान र अनुभवमा वृद्धि हुन थाल्यो र नेपाल चीनको असल छिमेकी राष्ट्र हो भन्ने बुझ्दै गए । त्यसपछि उनको आत्मीय भावना आदर भावमा बदलियो ।

उमेरले असी टेक्दा पनि नेपाल आउनुले उनमा रहेको नेपाल मोह बताउँछ । उनका छोरीहरूले नजाने सल्लाह दिँदादिँदै पनि उनी आए । 'म नेपालको साहित्यको अध्ययनका लागि आएको हुँ', मुड चलेको बेलामा अझै पनि लगातार दुर्ईतीन दिनसम्म लेखिरहने छाओले भने, 'यहाँ आएपछि नेपाली जनता उस्तै सहृदयी, सद्भावयुक्त र दयालु लाग्यो । हामी दुई देशका जनताबीचको सौहार्द सम्बन्ध यसरी नै कायम रहोस् ।'

माओलाई चिठी

छाओ सहिद परिवारका एक सदस्य थिए । उनका दाजुले त माओलाई भेटेका पनि थिए । हरेक किसान परिवारले आफ्नो उत्पादनको केही प्रतिशत सरकारलाई बुझाउनुपर्ने नियम लागू भए पनि एकपटक उनका अन्न सबै पानीले भिजेकाले त्यसलाई सुकाएर छान्नु परेको थियो । यही विषयमा सन् १९५२ मा छाओले आफू कक्षा १० मा पढ्दै गर्दा 'अध्यक्ष माओलाई पत्र' लेखेर 'नवयुवा पत्र'लाई हुलाकमार्फत पठाउँदा त्यो छापिएको थियो । उनको लेख देशकै ठूलो दैनिक पत्रिकामा छापिएपछि विद्यालयमै हल्लीखल्ली मच्चिएको थियो । पछि त्यसको पारि श्रमिक पनि हुलाकमार्फत नै आफूकहाँ आएपछि उनलाई लेखनमा झन् हौसला मिलेको थियो ।

रुसी साहित्यको प्रभाव

माध्यमिक तहमा नै रुसी र अंग्रेजी विषयमध्ये एक छान्नुपर्ने हुन्थ्यो । छाओलाई रुसमा मेकानिकल इन्जिनियरिङ पढ्न पठाउने तयारी भएकाले उनले विद्यालय पछि हार्पिन विश्वविद्यालयमा पनि रुसी भाषाकै अध्ययन गरे । त्यहीँ पढ्दै गर्दा उनले विश्वविद्यालयकै एक जर्नलमा आफ्नो पहिलो कविता छाप्न दिएका थिए । तर, त्यति बेला चीनमा सांस्कृतिक क्रान्ति सुरु हुन लागेकाले सायद आफ्नो कविता प्रकाशित भएन कि भन्ने अनुमान छ ।

पछि गएर उनले ऊहान विश्वविद्यालयमा चिनियाँ साहित्यको अध्ययन सुरु गरे पनि हार्पिनमा पढ्दा त्यहाँ रुसी भाषा पढाउने सर र म्याडमबारे पनि उनले लेखेका थिए । त्यति बेला उनी रुसी साहित्यमा रुचि राख्थे । उपन्यासकारमा उनी लियो टोल्सटोयका ठूलो प्रशंसक हुन् भने कथाकारमा एन्थोन चेखोव उनका प्रिय हुन् । त्यसैगरी पुस्किन, मायोकभ्स्की, एसेनिनय लगायतका कवि मन पराउने छाओ म्याक्सिम गोर्कीको नाम पनि छुटाउन चाहँदैनन् ।

उनी पढ्ने ऊहान विश्वविद्यालयमा रहेको दुई विभागमध्ये साहित्यको वर्गीकरण विभागमा परेकाले त्यति बेला उनले युरोपेली र अमेरिकी साहित्यसँग पनि परिचित हुने मौका पाए । होमर, सेक्सपियर, मार्क ट्वेन, ह्वाइट म्यानलगायतका साहित्यकारका कृतिबाट उनी निकै प्रभावित पनि भएका छन् ।

चार ऋतुको यात्रा

झन्डै ६ दशक लामो आफ्नो साहित्यिक यात्रामा गरेको संघर्ष, सफलता र असफलतालाई चार ऋतुमा समेट्न चाहन्छन् यी साहित्यकार । विद्यार्थी छँदा प्रकाशन गरेको आफ्नो पहिलो रचनाबाट सुरु भएर पूर्णकालीन लेखकहरूको समूहमा सम्मिलित हुन पुगेको समयसम्मको यात्रालाई वसन्तकालीन भन्न रुचाउँछन् ।

चार ऋतुको अन्त्यका रूपमा लिइने हिउँदको संकेत उनले सन् २००८ को जुलाईमै पाइसकेका थिए । आफ्नो ठूलो आन्द्राको क्यान्सरको अपरेसन गरेर करिब ३६ घन्टा सघन उपचार एकाइमा बिताएका छाओले आफ्नो जीवनका बाँकी दिनको गन्ती सुरु गरिसकेका थिए । त्यसपछि पनि 'बरु गाएर मर्छु, मौन रहेर बाँच्दिनँ' भन्ने सोचाइले उनलाई प्रोत्साहित गर्‌यो र उनले दैनिक दस घन्टाभन्दा बढी पुराना रचना केलाउने काम गरे ।

यथार्थवादी लेखक

चिनियाँ लेखक संघका सदस्यसमेत रहेका छाओ एक यथार्थवादी लेखक हुन् । उनका अनुसार एक लेखक सफल लेखक बन्न कि सम्बन्धित स्थानमा पुगेर त्यहाँको जीवनको प्रत्यक्ष अनुभव लिनुपर्छ, कि त विभिन्न पुस्तक र सञ्चारमाध्यममार्फत विषयवस्तुको जानकारी लिनुपर्छ । कल्पनाको भरमा लेखिने लेखन गतिलो नहुने उनको धारणा छ । भने, 'कल्पनाको भरमा लेखिएको साहित्यको म विरोधी हुँ ।'

एक लेखक सफल लेखक बन्न कि सम्बन्धित स्थानमा पुगेर त्यहाँको जीवनको प्रत्यक्ष अनुभव लिनुपर्छ, कि त विभिन्न पुस्तक र सञ्चारमाध्यममार्फत विषयवस्तुको जानकारी लिनुपर्छ ।

आफ्नो यही यथार्थवादी लेखनका लागि उनले सिङचाङजस्तो अति विकट प्रदेशमा समेत ११ वर्ष बिताए । प्राकृतिक रूपमा धेरै विकट ठाउँहरूमा पुगेर त्यहाँका मानिससँगको संगत र त्यहाँ बिताएको समयको अनुभवलाई उनले आफ्नो साहित्यमा समेटेका छन् । त्यसैले त उनले आफ्नो कृति 'मन जब चराको गुँडबाट निस्केर उड्छ'को भूमिकामा आफ्ना छोरीहरूलाई सन्देश लेख्दै भनेका छन् ,'तिमीहरूका बाबु साहित्यमा अभिरुचि राख्ने साहित्यप्रेमीमात्र होइनन् , साहित्य नै मानवशास्त्र हो भन्ने कुरामा विश्वास गर्ने र यसलाई व्यवहारमा उतार्ने व्यक्ति पनि हो ।'

सन् १९७८ पछि चीनमा सुधार र खुलापनको नीति लागू भएपछि उनले धेरै रचना गरे । त्यसैले उनी आफूलाई नयाँ अवधिको पूर्णकालीन लेखक भन्न रुचाउँछन् ।

जबरजस्ती बनाइएका दक्षिणपन्थी

सन् १९३० को दशकदेखि आधुनिक चिनियाँ साहित्यको सुरु भएको थियो । त्यति बेलाका प्रतिनिधि साहित्यकार लु सुनले चीनमा रहेको सामन्तवादी साहित्यलाई परिवर्तन गर्दै विदेशी साहित्यलाई चीनमा परिचित गराएका थिए । सन् १९४९ को चिनियाँ क्रान्तिपछि समाजवादी यथार्थवादी साहित्य सुरु भएको र सन् १९७८ पछि साहित्यमा विविधीकरण भएको उनको अनुभव छ । योभन्दा अगाडिको समयमा लेखनमा पनि अंकुश लगाइने गरिएको र आफूले ती बन्देजलाई नमान्दा जबरजस्ती दक्षिणपन्थीको आरोप लगाई करिब दस वर्षसम्म शारीरिक र मानसिक रूपमा दुर्दशा भोग्नु परेको पनि उनले बताए ।

सधैं सक्रिय

सन् १९९० देखि सीधै कम्प्युटरमा रचना टाइप गर्ने गरेका छाओ आज पनि लेखनमा उत्तिकै सक्रिय छन् । कार्यालय जाने आफ्नी पत्नीले भान्छामा केही बसालेर उनलाई हेर्नु है भनेर हिँड्दा साहित्यमा एकोहोरो लागिरहँदा कैयौंपटक ती खानेकुरा डढेको उनी स्मरण गर्छन् । गोलो गोरो चम्किलो अनुहार भएका छाओको व्यक्तित्व जस्तै उच्च उनका विचार छन् ।

साहित्यका कुरा गर्दा घन्टौं नथाकी बताइरहने यी साहित्यकारले चिनियाँ साहित्यलाई दिएको योगदानको कदर गर्दै पहिलो श्रेणीको लेखकको दर्जा पाएका छन् । चीनमा यस्ता लेखक मुस्किलले दुई सयजना पनि छैनन् । यो तहमा पुगेपछि प्रान्तीय सरकार प्रमुखले पाएसरह सेवासुविधा र तलब उनले पाउँदै आएका छन् ।

उहान, सांघाई र बेइजिङ सहरबाट प्रकाशित हुने साहित्यिक पत्रिकामध्ये २८ वटा पत्रिका उनको घरमा उपहारस्वरूप आइपुग्छ । अन्य दुईवटाको भने उनी आफैं ग्राहक बनेका छन् । त्यसैले नियमित ३० वटा पत्रिका पढ्दा आधुनिक साहित्यको पनि उनी त्यतिकै जानकारी राख्छन् ।

 

असमान उमेरको मित्रता

चिनियाँ साहित्यकार छाओ चियान्स्य्विन्का निकटम मित्र हुन्, नेपालका नसारोग विशेषज्ञ डा. सर्वोत्तम श्रेष्ठ । श्रेष्ठ र उनको पहिलो परिचय करिब २७ वर्षअगाडि उहानमा भएको थियो । त्यति बेला सर्वोत्तम उहानको हुपेई मेडिकल युनिभर्सिटी (हाल ऊहानविश्वविद्यालय, मेडिकल कलेज)मा चिकित्साशास्त्रको स्नातक तहमा अध्ययन गरिरहेका थिए ।

त्यति बेला साइकल चढेर छाओ त्यही विश्वविद्यालयको बाटो ओहोरदोहोर गर्ने गर्थे । चीनबाट विदेशमा पढ्न गएका विद्यार्थीबारे थुप्रै रचना लेखिए पनि विदेशबाट चीन आएर पढ्ने विद्यार्थीबारे केही लेखिएको थिएन । त्यसैले छाओले विदेशी विद्यार्थीबारे उपन्यास लेख्ने अभिप्रायले उक्त विश्वविद्यालयसँग अनुमति लिएर कालो छाला भएका सर्वोत्तमलगायतका अन्य विदेशी विद्यार्थीसँग भेटघाट गरेका थिए । विभिन्न कारणले गर्दा छाओको चीनमा अध्ययनरत विदेशी विद्यार्थीबारे उपन्यास लेख्ने धोको पूरा हुन नपाए पनि आफूहरूबीचको असमान उमेरको मित्रताले भने दशकौं पार गरिसकेको डा. श्रेष्ठले बताए ।

आफ्नो अध्ययन सकाएर नेपाल फर्किसकेपछि पनि ऊहानर साङहाई जाँदा उनी प्रत्येकपटक छाओलाई भेट्न जान्थे । डा. श्रेष्ठलाई साह्रै माया गर्ने छाओले भेटघाटका क्रममा उनलाई आफ्ना रचनाहरूका बारेमा पनि अनुभव बाँड्थे । कैयौंपटक त डा. श्रेष्ठसँग भएका कुराकानीमै उनले आफ्नो रचना गरिसकेका हुन्थे ।

डा.श्रेष्ठले पनि निष्फिक्री रूरुपमा छाओका कृतिका बारेमा आफ्ना मनमा लागेका कुरा बताउँथे । कृति राम्रो लागे राम्रो भन्थे त कहिलेकाहीँ आलोचना पनि गर्थे ।

करिब चार वर्षपहिले छाओलाई उहानमा भेट्दा उनले आफ्नो आठ खण्ड भएको 'संकलित साहित्यिक रचनाहरू'एक सेट डा. श्रेष्ठलाई उपहार दिएका थिए । पहिलेपहिले पनि पुस्तक प्रकाशित भएपछि एक सेट उपहार दिँदै त्यसलाई फुर्सदमा आफ्नो देशको भाषामा अनुवाद गर भन्ने गर्थे । तर, बेफुर्सदीले श्रेष्ठलाई बाँधिरह्यो । त्यसैले उनले छाओसँग उहानकै भेटमा नेपाली पाठकका लागि अनुवाद गर्नुपर्ने कृतिहरूको सूची प्राप्त गरे । अनुवादका लागि एक वर्ष लागे पनि प्रकाशनका लागि थप तीन वर्ष कुरेका डा.श्रेष्ठद्वारा अनुवादित 'मन जब 'चराको गुँड'बाट निस्केर उड्छ' छाओकै हातबाट गत आइतबार विमोचित हुने साइत जुर्‌यो ।

कुनै पनि साहित्यिक कृतिको नजिकको पाठक त्यसको अनुवादक नै हुन्छ । डा. श्रेष्ठले पनि अनुवादकै क्रममा छाओलाई अझै नजिकबाट बुझ्ने अवसर पाए । तर, उनको कृति अनुवाद गर्नुमा भने आफूहरूबीचको चिनजान र मित्रता मुख्य कारण नभएको उनी स्पष्ट पार्छन् । साहित्यलाई आफ्नो सर्वस्व ठान्ने छाओलाई आफूले सधैं एक गम्भीर, यथार्थवादी, देश र समाजमा घटिरहेका घटनाप्रति संवेदनशील तथा देश र समाजप्रति जिम्मेवार साहित्यकारका रूपमा पाएको उनले बताए ।

छाओले नेपाली अनुवादका लागि छानेका रचनाहरूले पनि करिब एक शताब्दीको चीन र चिनियाँ समाजको यथार्थ चित्रण गरेको उनको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.