ब्रिटिस कलेजमा दीक्षान्त
काठमाडौं: बेलायतका दुई विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भइरहेको द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । बिहीबार काठमाडौंस्थित हायात होटलमा आयोजित कार्यक्रममा कलेजले एक सय ३८ विद्यार्थीलाई दीक्षित गरेको हो ।
बेलायतको युनिभर्सिटी अफ दी वेस्ट अफ इंगल्यान्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धनमा सन् २०११ देखि ब्रिटिश कलेज सञ्चालनमा आएको हो । दीक्षान्त समारोहमा लिड्स वेकेट युनिभर्सिटीको पाठ्यक्रम बीएससी अनर्स कम्प्युटिङ अध्ययन गरेका ८६ जना र युनिभर्सिटी अफ दी वेस्ट अफ इंगल्यान्डको पाठ्यक्रम बीबीए अध्ययन गरेका ५२ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
दीक्षान्त समारोहमा बेलायतका हाउस अफ लर्डस्का प्रतिनिधि एघारौं अर्लअफ स्यान्डविच जोन एडवर्ड हलिस्टरले ब्रिटिस कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको विकासमा प्रशस्त योगदान गर्न सक्ने बताए । उनले विद्यार्थीले कलेजबाट हासिल गरेको ज्ञान विद्यार्थीले नेपालको विकासमा लगाउने आशा व्यक्त गरे । लिड्स वेकेट युनिभर्सिटीका प्रतिनिधि प्रा. लेस्ले अर्लीले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गराए ।
नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले अध्ययन पूरा गरेको विद्यार्थीलाई बधाई दिँदै नेपालमै गुणस्तीय शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपाली व्यावसायिक क्षेत्रलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सहयोग गर्न सक्ने बताए ।