उद्यमीको दसैं

उद्यमीको दसैं

नेपालीको महान् चाड दसैं नजिकै आएको छ । गाउँसहरमा दसैंको रौनक देखिन थालेको छ । नेपालीहरू दसैंको तयारीमा जुटिसकेका छन् । दसैं मिठो खाने र राम्रो लगाउने चाडका रूपमा चिनिन्छ । तर अहिले धेरैलाई मिठो खान र राम्रो लगाउन दसैं कुर्नुपर्ने बाध्यता छैन । जुनसुकै बेला पनि राम्रो लगाएको देखिन्छ ।

नेपालीले आर्थिक हैसियतअनुसार दसैं मनाउँछन् । वर्षभरि पैसाको पछाडि दौडिने व्यवसायी पनि दसैंमा फुर्सद निकाल्छन् । यो फुर्सदमा वर्षभरिको ह्याङआउट गर्छन् । अन्नपूर्णकर्मी नविन अर्यालले केही उद्यमीलाई सोधे, दसैं कसरी मनाउनुहुन्छ ?

इन्ज्वाय गर्न मन लाग्छः सुरज वैद्य

दसैं परिवारसँग काठमाडौंमा मनाउँछु । बच्चाहरू विदेशमा छन् । यहाँ आमा, पत्नी, बहिनी, ज्वाइँमात्र हुनुहुन्छ । घरमै तास खेलिन्छ । म वर्षमा दुईपटक तास खेल्छु, दसैं र तिहारमा । म रोमान्टिक मान्छे हुँ । रमाइलो गर्न रुचाउँछु । पर्वमा पारिवारिक माहोल रमाइलो बनाउँछु । बढी रमाइलो गर्ने हुँदा प्रायः तासमा हार्छु । वर्षभरमा बढी फुर्सदिलो हुने समय दसैं हो । इन्ज्वाय गर्न मन लाग्छ ।

म खानेकुरामा सौखिन छु । दसैंमा मासुका परिकार बढी खाइन्छ । घरमा खाना आफैं बनाउँछु । आफन्त र साथीहरू बोलाएर खुवाउँछु । उनीहरूसँग पनि रमाइलो हुन्छ । घरमै बार्बी क्यु तयार पार्छु । साथीहरूलाई मदिरा गिफ्ट दिन्छु । विदेशी साथीलाई नेपाली ब्रान्ड र नेपाली साथीलाई ब्ल्याक लेबल दिन्छु ।

म लुगामा धेरै सौखिन छैन । पत्नी सौखिन छिन् । तर दुवैले दसैंमा किन्दैनौं । जतिबेला आवश्यक पर्यो, त्यतिबेला किन्छौं । परिवारका सदस्य, आफन्तलाई दिन दसैंमा किनमेल हुन्छ । हामी भाटभटेनी, दरबारमार्गलगायतका ठाउँमा किन्छौं ।

म ब्रान्ड खोज्दिन, कम्फरटेबल लुगाहरू खोज्छु । म अग्लो भएकाले नेपालमा सित्तिमित्ती लुगाहरू मिल्दैनन् । धेरै लुगा विदेशमा जाँदा किनिन्छ । नेपालमा पनि टेलरमा अर्डर गरेर लुगा सिलाउँछु । पत्नी फेसन डिजाइनर हुन् । उनी आफैं डिजाइन गरेर टेलरमा सिलाउन दिन्छिन् ।

चंगा उडाउन मन पर्छःअनील शाह
म रक्सी पनि खाँदिनँ, तास पनि खेल्दिनँ । तर मासुका परिकारको ठूलो सौखिन हुँ । दसैंमा घरमै मासुका विभिन्न भेराइटी बनाएर खान्छौं । वर्षभरि काममा बिजी भइन्छ । दसैंको फुर्सद इष्टमित्र र साथीभाइ भेट्ने समय हो । मेरा लागि दसैं रिल्याक्स गर्ने समय हो । दसैंमा परिवारसँगै बसेर रमाउँछौं । साथीहरूको सानो ग्रुपसँग रमाइलो गरिन्छ । म सानैदेखि चंगा उडाउन मन पराउँथें । अहिले पनि चंगा उडाउँछु । बरु चंगा र धागो खरिद गर्न कालिमाटी जान्छु । त्यहाँ चंगा चेट गर्ने धागो पाइन्छ ।

दसैंमा अरू सपिङ खासै हुँदैन । सपिङका लागि दसैं कुरिँदैन । आवश्यक परेको समयमा गरिन्छ । मेरो सपिङ परिवारले गरिदिन्छ । पहिला इन्द्रचोक-असनतिर सपिङ गइन्थ्यो । अहिले न्युरोड, भाटभटेनी, सुरज आर्केड जान्छौं । अहिले दसैं काठमाडौंमा मनाउन थालेको छु । पहिला दसैंबिदामा इन्डिया, मलेसिया, थाइल्यान्डलगायतका धेरै मुलुक गइयो । अब घरमै रमाउन मन पर्छ ।

नौरथाको व्रत बस्छुः भवानी राणा

म दसैंमा सधैं व्रत बस्छु । नौ दिनसम्म फलफूलमात्र खान्छु । नौरथाको व्रत बस्न थालेको १० वर्षभन्दा बढी भयो । नौ रथाको व्रत मेरा लागि महत्वपूर्ण हुन्छ । पूजा गर्छु, चण्डीपाठ गर्छु, हवन गर्छु ।

हामी दसैं नेपालगन्जमा मनाउँछौं । सप्तमीमा म त्यहाँ पुगिसकेकी हुन्छु । टीका लगाउन सपरिवार जम्मा हुन्छौं । दसैंमा मधेस र पहाडमा बढी रमाइलो हुन्छ । काठमाडौं करिब करिब सुनसान हुन्छ । मधेसमा रावणलाई जलाएको हेर्न निकै मन पर्छ ।

मैले दसैंमा आफ्ना लागि त्यति किनमेल गर्दिनँ । इन्डिया तथा अरू देशमा जाँदा आवश्यक चिजहरू किन्छु । दसैंमा आफन्तका लागि भने किनमेल गरिन्छ । आफन्तलाई धोती, सारी, लेहेंगालगायतका लुगाहरू गिफ्ट दिन्छौं ।

पोखरामा जमघट गर्छौः अञ्जन श्रेष्ठ

मेरो लागि दसैं रिल्याक्स हुने समय हो । हामी सपरिवार पोखरामा जम्मा हुन्छौं । वर्षभरि व्यस्त भइन्छ । दसैंमा हुने फुर्सदमा परिवारमै रमाउँछौं । म धर्मकर्ममा बढी विश्वास गर्छु । त्यसैले देवीदेवताको आराधना गर्छु । म लगाउन त्यति सौखिन छैन, खानामा भने सौखिन छु । बरु मिठोमिठो परिकार बनाएर खान्छौं ।
मेरो सानैदेखिको बानी नयाँ लुगा पाउनेबित्तिकै लगाइहाल्ने हो । दसैंमा किनेको लुगा पनि पहिला नै लगाएर पुराने बनाइसक्थें । अहिले पनि म दसैंमा भनेर किनमेल गर्दिनँ । आवश्यक परेको बेलामा किनमेल गर्छु । मलाई दसैंमा परिवारमै रमाउन मन पर्छ ।

सम्बन्ध रिन्यु गर्ने समय होः प्रबलजंग पाण्डे
वर्षभरि काममा व्यस्त हुँदा आफन्त र साथीभाइसँग भेटघाट हुँदैन । दसैंमा वर्ष दिनदेखि नभेटिएका सबैसँग भेट हुन्छ । मलाई लाग्छ, दसैं सम्बन्ध रिन्यु गर्ने समय हो । दसैंको सबैभन्दा राम्रो पक्ष पनि यही हो । हामी दसैं सपरिवार जम्मा भएर मनाउँछौं । घरमै रमाइलो गर्छौं । काठमाडौंबाहिर घुम्न गएर वर्ष दिनको ह्याङ हटाइन्छ ।

फुर्सदमा किताब पढ्न मन पर्छ । यसले पनि ह्याङ हटाउन मद्दत गर्छ । दसैंमा म आफ्ना लागि खासै किनमेल गर्दिनँ । बाहिर गएका बेलामा किनिन्छ । दसैंमा खासगरी बच्चाहरूका लागि किनमेल गर्ने हो । म ब्रान्डेड लुगा लगाउँछु । तर, चुजी ब्रान्ड भने छैन । पारिवारिक किनमेलका लागि सपिङ मलहरू, दरबारमार्गमा गइन्छ । आफ्ना लागि त जहाँ सुहाउँदो लुगा छन्, त्यहीं किन्ने हो ।


सपिङको सोखिन हुः कमला श्रेष्ठ
सौन्दर्य कला व्यवसायी
मैले नेपालमा दसैं नमनाएको १५ वर्ष भइसक्यो । छोराबुहारी अमेरिकामा बस्छन् । हामी पतिपत्नी उतै जान्छौं । बाबुआमा, सासूससुरा सबै बितिसक्नुभयो । केटाकेटी र बूढाबूढी नभएमा चाडपर्व रमाइलो हुँदैन । त्यसमाथि काठमाडौं दसैंमा झन् सुनसान हुन्छ । यसपटक हामी नेपालमै दसैं मनाउँछौं । दसैं मुक्तिनाथमा मनाउने हाम्रो योजना छ । प्लेनको टिकट बुकिङ भइसक्यो । भर्खरै विदेशबाट आएको हुँदा फेरि विदेश जान मन लागेन ।

वर्षभरि आफ्नै बिजनेस र अन्य काममा व्यस्त भइन्छ । दसैंमा बिजनेस र कलेज बन्द हुन्छ । करिब १० दिन हुने फुर्सदमा रिल्याक्स गर्न विदेश जाने गर्छौं । हामी कहिले सिंगापुर, कहिले अमेरिका, दुबई, बेलायत, थाइल्यान्डलगायतका मुलुकमा जान्छौं । त्यही बेलामा मैले आफूलाई आवश्यक छोटो ट्रेनिङ समेत लिन भ्याउँछु । ब्युटिपार्लर क्षेत्रमा नयाँनयाँ टेक्नोलोजी आएका हुन्छन्, तिनलाई भित्राउँछु ।

म सपिङमा निकै क्रेजी र पागल हुँ । मैले सपिङ गरेको देख्दा परिवार डराउँछ । म नेपालमा सपिङ गर्दिनँ । विदेशमा जाँदा गर्छु । मलाई खासगरी लुगा, जुत्ता, गरगहना, ब्याग किन्न मन पर्छ । त्यस्तै, सैलुन र ट्रेनिङका समान पनि किन्छु । सपिङमा इन्ज्वाय गर्छु । मसँग सपिङ जाँदा सबै थाक्छन् । पति, छोराबुहारी मलाई एउटा मलमा छाडिदिन्छन्, अनि पछि लिन आउँछन् ।

मासुको पनि म निकै सोखिन हुँ । मासुबिना खाना रुच्दैन । हरेक छाक मेरो घरमा मासु पाक्छ । मासु यही भन्ने हुँदैन, तर बढी माछा रुचाउँछु । अरू खाना जे पनि खान्छु । जहाँ जसले दिए पनि खान्छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.